कालापत्थरमा ‘तमासा’
पर्यावरण सम्बन्धी मुद्दामा दाताको सहयोग जता देखिन्छ त्यतै ढल्किने मौसमी अभियन्ताको जगजगी बढ्दा वास्तविक अभियन्ताहरूको योगदान छोपिएको छ।
८ मार्चका दिनमा कालापत्थरबाट रङ्गीन फोटोहरू सञ्जालमा देखा परे। सुहाना मौसम, मनमोहक ‘होलिडे’। दाताको सहयोग, साथीहरूको साथ। यस्तो पाएपछि कसको मुहारमा उज्यालो छाउँदैन? राता-पहेंला फोटो पोस्ट गरिएकाहरूले नारा दिए पर्यावरणको संरक्षण। साथसाथै नाम गरेको संस्थाले आफ्ना वरिपरिका महिलाहरू बटुलेर कालापत्थर पुर्यायो। उसलाई र गएकाहरूलाई लाग्यो होला, संसारमा निकै ठूलो काम भयो। अभियान भनेको के हो, कस्ता हुन्छन्, असली अभियन्ता, एउटी सानी केटी ग्रेटा थनबर्गलाई ट्वीटरमा फलो गरे मात्र पनि उहाँहरूलाई धेरै कुरा थाहा होला। यसो भयो भने ‘क्लाइमेट चेन्ज’ को नारा दिएर, एक दिनमा भुर्र उडेर कालापत्थर जान दिदीहरूलाई लाज लाग्नेछ। यो पृथ्वीको हित होइन, अहित भएको थाहा हुनेछ।
विगत एक वर्षदेखि पर्यावरणको मुद्दामा सलहसरि अभियन्ता देखा पर्दै छन्। जता जता दाताको सहयोग उतै उतै अभियन्ता। यस पटक महिला दिवसको नारालाई पनि पर्यावरणसँग जोडिएको छ। यो राम्रो कुरा हो । तर, पर्यावरण जस्तो गम्भीर विषयमा एक वर्ष नबित्दै एकसेएक स्वघोषित अभियन्ताहरू देखा पर्नु भने अचम्मको कुरा हो। संसारभर दशकौं मूलधारको मुद्दा बन्न कष्ट भइरहेको वातावरण विनाशको मुद्दामा सलह जस्ता अभियन्ता एक्कासि कसरी देखा पर्दै छन्? छक्क लाग्ने कुरा छ। यो त पर्यावरणकै मुद्दामाथि मजाक भएन र? सहयोग लिएर कुनै अभियान चलाउनु पनि गलत भएन। तर, त्यसले अभियान भन्न लायक एउटा ल्याकत त राख्नुपर्छ। एउटा तहको ‘ग्र्याभिटी’ चाहिन्छ।
आजको भोलि एक हुल मानिसहरूलाई अभियन्ता बनाउने कर्मकाण्डी कार्यक्रम बनाउन कुन ‘इथिक्स’ले दिन्छ? विषयवस्तुमा गम्भीर संस्था हो भने गुमनाम पर्यावरण योद्धाहरूलाई प्रकाशमा ल्याउँछ। मनग्य स्रोत र साधनको आडमा आफू र आफू निकट मानिसहरूको समूह टिपेर ‘होलिडे’ मनाउन हिंड्दैन। सहभागी अधिकांश महिला पदयात्रा गरेर गएको देखिन्छ। तर, केही अग्रणी महिलाहरू हेलिकोप्टरमा आजको भोलि महिला दिवस मनाउन पुगेको देखिन्छ। प्रकृति संरक्षणको नारा दिएर, उल्टै पृथ्वीलाई हानि हुने काम गर्न कसले छूट दिन्छ? दाताको सहयोगमा गरिने ‘होलिडे ट्रिप’ लाई पर्यावरणको अभियान कसरी मान्ने? यदि यसो हो भने त आफ्नै लगानीमा देश घुम्ने सबै आन्तरिक पर्यटकलाई नै पर्यावरण अभियन्ता मान्नुपर्यो। यो तरीकाले त आफ्नै साहस र बलमा देशैभरि खटिएका अभियन्ताहरूको अपमान भएन र?
जलवायु परिवर्तनको मुद्दा बिदा मनाउनु, फोटो खिच्नु र सामाजिक सञ्जाल रङ्ग्याउनुभन्दा उच्च कोटिको हो। नि:स्वार्थ मानिसहरूले ज्यान नै दिएर लडिरहेको संवेदनशील मुद्दालाई पैसाको बलमा गिजोल्दै हिंड्नु भ्रष्ट आचार हो। पद, प्रभाव र पैसाको हदैसम्मको दुरुपयोग। भाग लिएकामध्ये कति महिलाले पर्यावरणको क्षेत्रमा काम गरेका हुन्, त्यसको पाई पाई मूल्याङ्कन हुनेछ। पर्यावरणको सवालमा संसारमा अहिले ठूलो बहस भइरहेछ। असली अभियन्ताहरू संसारका ‘जायन्ट’ शासक, दाताहरू र ‘मल्टिन्याशनल कम्पनी’ सँग नै भिडिरहेका छन्। जो पर्यावरण जोगाउने लडाइँलाई जीवन मानेर हिंडिरहेछन्, उनीहरूका लागि कालापत्थरमा देखिएको दृश्य एक मजाक हो। अघिल्लो दिन कालापत्थरमा दिवस मनाइरहेको मानिस भोलिपल्ट उडेर काठमाडौं आइपुग्छ। अर्को कुनै भव्य कार्यक्रममा महिला दिवसको अतिथिका रूपमा उभिन्छ। यो एक तमासा नभए के हो?
कहाँ छ हाम्रो अभियान?
विकसित देशका शासकहरू आफूसँग भएको स्रोत र साधन प्रकृति र मानव जातिको कल्याणका लागि चिन्तित छैनन्। आफूलाई ‘सुपरपावर’ बनाउन सक्ने कुरामा लगानी गरिरहेका छन् भन्ने तर्क पर्यावरणविद्हरूको छ। वातावरण अभियन्ता ग्रेटा थनबर्ग यो दृष्टिकोणको नेतृत्व गर्छिन्। ‘फ्राइडे फर फ्युचर’ भनेर स्कूले केटाकेटीहरूको अभियान चलिरहेको छ संसारभर। अफ्रिकी केटाकेटीहरू अग्रपङ्क्तिमा उभिएका छन्। भौतिक सरसामान र आधुनिक प्रविधिको ज्यादतीमा मिचिन लागेको पृथ्वीको अधिकारप्रति उनीहरू सामूहिक आवाज उठाइरहेछन्। ग्रेटाको अभियानको कारण उनको पूरै परिवार पर्यावरणमैत्री ‘इथिक्स’ मा बस्छ। उनको परिवार समेत जहाजमा उड्न पाउँदैन। ग्रेटाको लगन र ‘इथिक्स’ सँग उनका बाबु हैरान हुन्छन् कहिलेकाहीं। पृथ्वीको हितका लागि छोरीको सुन्दर जिद्दीपन पनि हाँसीहाँसी पालना गर्छन्।
बीउबिजनमाथि ‘पेटेन्ट राइट क्लेम’ गर्दै हिंड्ने, जर्मनको मोन्स्यान्टो कम्पनीप्रति पर्यावरणविद् वन्दना शिभाको आक्रोश आगो ओकल्ने छ। नीमको बिरुवामाथि लगाइएको ‘पेटेन्ट राइट’ फुकुवा गर्न उनको समूहले १२ वर्ष सङ्घर्ष गरेको थियो। बासमती चामलमाथि भएको हमलालाई पनि शिभाको अभियानले रोक्यो। नेपालका कति यस्ता बीउबिजन होलान्, जसमा बीउ कम्पनीहरूले आँखा लगाइसके। ‘पेटेन्ट राइट’ विरुद्ध नेपालमा के हुँदै छ? सञ्चारमाध्यमहरूमा देख्नै मुश्किल छ। हावा, पानी, जीवजन्तु, बोटबिरुवा मान्छेले बनाएको होइन। बीउ प्रकृतिले दिन्छ। उत्पादन किसानले गर्छन्। यिनमा कुनै कम्पनीको एकाधिकार चल्नु हुँदैन। ‘प्याटेन्ट राइट’ को भुमरीबाट किसानलाई मुक्त गर्न, बीउको स्वामित्व जरुरी छ। बीउमाथिको आक्रमणको क्रूरता तोड्न ‘सीड’ सत्याग्रह चाहिन्छ भन्छिन्, वन्दना शिभा। बीउमाथिको अधिकार सुनिश्चित भए मात्र हाम्रो स्वतन्त्रता सुनिश्चित हुने हो।
वन्दना हजुरआमाको सारी लगाएर बेजोड अभियान गर्छिन्। चाहिनेभन्दा धेरै सरसामान जम्मा गर्नु पृथ्वीमाथिको अत्याचार हो भन्छिन् उनी। हजुरआमाको पालाको सारीको सप्को काँधमा हालेर संसारको नव बादशाहहरूको सातो खान्छिन्। संसारमा सबैले एकै किसिमको काम गर्नपर्छ भन्ने छैन। नेपालमा विभिन्न नारामा देखापर्ने ‘होलिडे’ अभियन्ताहरूलाई यसो भन्न खोजेको पनि होइन। तर, कुनै पनि ‘सिरियस’ मुद्दामा हदैसम्मको ‘फ्यान्सी’ कार्यक्रम गर्दै हिंड्न भने लाज नै मान्नुपर्छ।
कोरोना कालभरि बीउबिजन र रासायनिक मलको अभावको समाचारले नेपाली अखबार भरिए। भकारीमा हुने बीउ बजारमा कसरी पुग्यो? बीउ किन्ने र किन्न पनि नपाउने हालतमा किसानहरू कसरी पुगे? यस्तो कुरा खोजी गरी समाचार बन्न सकेनन्। “हामीसँग मकैको बीउ पनि रैनछ भन्ने कुरा कोरोनाले थाहा दियो,” फेसबूकमा कृषि अभियन्ता जीवन राईले लेखे। उनैले केही समयपछि साना लोकल गोलभेडाको बीउ जोगाउन सरकारले चासो नदेखाएकोमा झोक पनि पोखे। विकास के हो, विनाश के हो नबुझी दौडिरहेको सरकारसँग रिसाए। सचेतना नदेखाउने सरकारका लागि किसानको झोक ‘टनिक’ हो। किन हराउँदै छन् रैथाने बीउहरू, खेतबारी र कान्लाहरूबाट? कसले चोर्दै छ हाम्रा बीउहरू? फरक चरित्रमा संसारमा फैलिएको आधुनिक साम्राज्यवादको जालोबारे हामी सचेत हुन ढिलो भइसक्यो।
सञ्चार माध्यममा धेरै पटक रासायनिक औषधिको अभाव भयो भनेर समाचार लेखियो। रासायनिक औषधिको असर माटोमा कसरी परिरहेछ, यो किन लेखिएको छैन। रासायनिक औषधिको ‘ओरिजन’ के हो? यो कहाँ बन्छ? बिरुवामा छरिने रासायनिक औषधि र हिटलरको ‘कन्सन्ट्रेसन क्याम्प’मा मान्छे मार्न प्रयोग गरिने रासायनिक औषधिको ‘फर्मूला’ एकै हो भन्छन् पर्यावरणविद्हरू। हिजो मान्छे मार्न प्रयोग गरिएको विषादी आज कीरा मार्न प्रयोग गरिएको छ। यसले कीरा मात्र मारेको छैन, पर्यावरण चक्रमा हानेको छ। भारतको पन्जाबमा सन् १९७० को हरित क्रान्तिपछि किसानहरू ऋणमा डुबे। कीटनाशक औषधि र बीउ किन्दा किन्दा हैरान भए। लाखौं किसानले आत्महत्या गरे। भोपालमा भएको रासायनिक कारखानाको विस्फोट हुँदा तुरुन्तै सात हजार मान्छे मरे। ७५ प्रतिशत चरा हराए। चराको जीवनका लागि कीरा चाहिन्छ। रासायनिक औषधिले कीराको विनाश गर्यो। आजको पृथ्वीमा हरेक दिन दुई सय प्रजाति लोप भइरहेछन्। बिरुवाहरूको गर्भाधान गराउने ‘पोलिनेटरहरू’ नष्ट भइरहेका छन्। मानिस पर्यावरणको यो विनाशप्रति सचेत भएन भए सय वर्षमा मानव जाति नै विलुप्त हुन सक्छ। नेपाली सन्दर्भमा यस्ता विषयमा मुखर भएर लेख्ने-बोल्ने मानिस विरलै भेटिए। रसायन प्रयोगमा पन्जाबकै हालत हुनबाट त हामी जोगियौं। त्यो त्रासदीबाट हामीले रासायनिक औषधिबारे सजगता सिक्ने हो। कारखाना खोल्ने उत्ताउलो काम सिक्ने होइन।
कृषि प्रणालीको साँचो किसानको हातमा छ या कीटनाशक औषधि व्यापारीको? हामी के खाइरहेका छौं, खानेकुरा या विष? जीवनको मूलभूत विषयमै हाम्रो सचेतना देखिंदैन। हामीले हरेक दिन केको छलफल गरेर बिताइरहेका छौं? हाम्रा बहस र छलफल समस्या समाधान उन्मुख छन् या बुद्धिविलासकै तहमा अड्किएका छन्, सोच्नैपर्छ। हाम्रा सामाजिक-राजनीतिक अधिकारका अभियानमा बीउबिजनको स्वामित्वको कुरा प्राथमिकतामा परेको देखिंदैन। कर्णालीका किसानले रासायनिक औषधिको प्रयोगले आफ्नो माटाको जीवन खोसेको कथा सुनाउँछन्। काठमाडौंमा रासायनिक मलको कारखाना बन्ने कुराको ब्यानर समाचार बन्छ। अझै नपुगेर ‘ड्रोन’ ले रासायनिक मल छरेको समाचार पुष्पवृष्टि भए जस्तो गरी लेखिन्छ। वायुमण्डल नै विषाक्त बनाउने कामको विरोध त परको कुरा, मिडिया, उल्लास लेख्छ। हो, यस्ता समाचार आउँदा खण्डन गर्ने, सामाजिक सञ्जालमै भए पनि स्ट्यान्ड लिने अभियन्ता खोइ? यस्तो विषयमा बोल्न पनि कसैले सहयोगको बक्सिस दिनैपर्ने।
हाम्रो प्राथमिकता के हो? राजनीति, समाज र सञ्चार, हाम्रा मौलिक उत्पादन प्रणालीको वकालत गर्न किन सकिरहेका छैनन्? अफ्रिकी आदिवासीहरूमा भनाइ छ- वातावरणमा तिमी त्यस्तो कदम चाल जसले सात पुस्ताको अहित गर्दैन। यस्तो आदर्शमा चल्नुपर्ने पर्यावरणको अभियान, ‘होलिडे फ्याशन’ उन्मुख देखियो। कसैका लागि राजनीतिक प्रतिशोध साँध्ने हतियार बन्यो। काम हेर्दा विरक्तलाग्दो छ। अभियन्ताको जुलूस भने ट्राफिक जाम होला जस्तो छ।
असल योद्धाहरू
पर्यावरण जोगाउन भारतमा भएको ‘चिप्को’ अभियानले संसारको ध्यान खिचेको थियो। यो अभियानको अगुवाइ महिलाहरूले गरेका थिए। सन् १९७० को दशकमा यो अभियान भएको थियो। उत्तराखण्ड प्रदेशको एक गाउँमा एक दिन केही मान्छेहरू पुगे। उनीहरूको हात हातमा रूख काट्ने औजार थियो। खेल्दै गरेकी सानी केटीले यो सबै देखिन्। उनी दौडेर गौरादेवी सिंह नामकी महिलाकहाँ पुगिन्। गौरादेवी रूख काट्न लागेको ठाउँमा पुगिन्। रूखलाई च्याप्प अँगालो हालिन् र भनिन्, “रूख काट्नुभन्दा पहिला मलाई काट।” उनलाई साथ दिनेको सङ्ख्या सयौं-हजारौं भयो। पूरै भारतमा यो अभियान फैलियो। अति औद्योगिकीकरणका लागि रूखहरूको विनाश हुँदै गरेको कुरामा महिलाहरू सचेत थिए। उनीहरूलाई थाहा थियो- प्रकृतिको व्यवस्था कसरी चल्छ भनेर। यही ज्ञानलाई अभियान बनाए। अङ्ग्रेज सरकारले हार खायो।
धेरै परको कुरा सम्झनै पर्दैन। केही समयअघिको काठमाडौंको नारायणचौरको हालत सम्झे पुग्छ। बेजान, फोहोर एक खण्डहर। बाटोमा आउँदा जाँदा एक युवतीको नजरमा परिरहन्थ्यो। जति पटक त्यो बाटो हिंड्थिन् उति पटक उनी विरक्त हुन्थिन्। यो ठाउँको रूप फेर्ने मन थियो तर कसरी? सम्झँदा नै असम्भव लाग्थ्यो। उनले सानो सानो पाइला चालिन्। ट्राफिक प्रहरीसँगको संवादबाट शुरू गरिन्। वरिपरिका मानिसहरूसम्म पुगिन्। योजना बुनिन्। अलिकति माटो पन्छाइन्। अलिकति फोहोर पन्छाइन्। बिस्तारै हातेमालो थपियो। फोहोर खण्डहरमा एउटा सुन्दर बगैंचा मुस्कुराउँदै उभियो। उनी हुन् पर्यावरण अभियन्ता प्रविज्ञा बस्नेत। उनी नारामा, ‘क्लाइमेट होलिडे’ मा वा जुलूसमा होइन, काममा हुन्थिन्। परिणाम गजबसँग देखियो। उनी जस्तै अनगन्ती मानिसहरू कतै नदेखिएरै यस्ता परिणाममुखी काममा लागिपरेका छन्। पोखरी जोगाउन भक्तपुरका महिलाहरू हातेमालो गरेर उभिए। कमलपोखरी बचाउन दशकौं लाग्ने मानिसहरू छन्। यस्ता मानिसहरू निरन्तर आफ्नो काममा लागिरहन्छन्। जसको कामको प्रतिफल देखिन्छ, मान्छे देखिंदैनन्। यस्ता मानिसको कर्मलाई समेत राजनीतिक रङ दिएर नाराबाजी गरियो। गत वर्ष नागरिक आन्दोलनकर्मीहरू कमलपोखरी पुगे। ‘फ्रन्ट’ मा उभिए। माटोको टीका लगाएर राजनीतिक स्टन्टबाजी गरे। मिडिया यस्तै एक दिन टीका लाउनेहरूको फोटोले रङ्गियो। सेलेब्रिटी अभियन्ताको अनुहार हरेक सञ्चार माध्यममा टाँसियो। पोखरी जोगाउने अभियन्ताको खोजखबर कसले गरोस्? यसरी जुलूसमै टीका लगाउन पुगेका एकदिने अभियन्ताहरू पर्यावरणको जगेर्नाका लागि त्यसपछि कसरी लागे? के गरे? कि एकदिने चटकमा रमाइलो गरे अनि बिलाए?
चुरे दोहन रोक्न, नदीको प्राण जोगाउन धनुषाका तन्नेरी दिलीपकुमार महतो लागिपरे। उनी समाजको आँखाको ज्योति बने। माफियाको आँखामा कसिङ्गरसरि बिझाए। नदी दोहनको विरोध गर्न किनारमा पुगेका दिलीपको नदीकै सामुन्ने हत्या गरियो। पाँच वर्षअघिको घटना हो यो। नदीको सप्पै पानी आँसु आँसु भयो होला। नदीमाथि आक्रमण हुँदै छ भनेपछि उनी हुत्तिएर पुगेका थिए। मिडियालाई तम्तयार गरेर बालुवाको टीका लगाउन गएका थिएनन्। उनको रगतले किनारको बालुवा रङ्ग्यायो। सञ्चार माध्यमको ग्ल्यामर बढाएन। चुरे संरक्षणमा दिलीपको नाम त्यो ध्रुव तारा हो जो कहिल्यै अस्ताउनेछैन। दिलीपको मृत्युको समाचार त जनमानससम्म आइपुग्यो। बेखबर मर्ने कति होलान्?
नेपालको सामुदायिक वन जोगाउन महिलाहरूले देखाएको पौरख र पैरवी दक्षिणएशियाकै नमूना हो। देशमा दिनहुँ हुने बुद्धिविलासका छलफलमा यी महिलाहरूको अनुहार कता लुकेको हुन्छ? उनीहरूको अनुभव कति रोमाञ्चक होला? त्यो ताजा ताजा विचार र अनुभूतिहरू हामीले पढ्न-देख्न विरलै पाउँछौं। समाजका असली चरित्रलाई खोजी खोजी पेश गर्नु सञ्चार माध्यमको दायित्व हो। तर, उसलाई ‘फ्यान्सी’ अभियन्ताले फुर्सद दिए पो। विकासको बहसलाई पर्यावरणसँग अनिवार्य जोडेर हेरिन थालेको छ। यो सुखद शुरूआत हो। तर, यस्तो वेला दाताहरूको सहयोग जुन जुन मुद्दामा ‘सिफ्ट’ हुन्छ त्यतै होमिने मौसमी अभियन्ताहरूकै जगजगी देखिन थालेको छ। मौसमी अभियन्ताहरूके तडकभडकका सामु साँच्चिकै योद्धाहरूको योगदान छायामा पर्दै जाने खतरा उस्तै छ।
वातावरणको सवालमा आधारभूत जानकारी पनि नराख्ने मानिसहरूलाई ‘क्लाइमेट वारियर’ भन्दै चिनाइन थालेको छ। कुनै ‘एम्बेसी’ ले जसलाई ‘क्लाइमेट चेन्ज’ का नाममा फन्ड दिन्छ, उनीहरूको नाम सगर्व घोषणा गर्छ। योद्धा भनेको चानचुने शब्द होइन। एक दिन माटाको टीका लाउने, कालापत्थरमा ‘होलिडे’ मनाउन जाने, दूतावासको सहयोग रकम पाउने मानिसहरू पर्यावरणका योद्धाहरू होइनन्। यस्ता मानिसहरूको अति उपस्थितिले साँच्चिकै योद्धाहरूको अपमान भएको छ। योद्धा शब्दकै सातो गएको छ।
नेपालमा यो दशकमा समानता र समावेशी मुद्दामा सदाबहार घुमिरहने अनुहारहरू एउटै छन्। मधेशी, दलित, जनजाति, महिला, पछाडि परेको भूगोल कुनै पनि नामको होस, मान्छे फेरिएको देखिंदैन। निकै थोरै मानिसहरूले यो नाराको नाममा अच्छाखासा ‘लाइफ स्टाइल‘’ बाँच्न पाए। सञ्चार माध्यममा अटुट छाए। यही प्रवृत्ति पर्यावरणको मुद्दामा देखा परिसक्यो। अनुमान गरेभन्दा निकै छिटो देखा पर्यो। नेपाल छट्टुहरूको देश मात्र त होइन होला। असल र कर्मठ मानिसहरूको सधैं अवमूल्यन त देशघाती काम हुन्छ। अभियन्ताको नामका तमासे को हुन्, अभियन्ता को हुन्, को हुन् योद्धाहरू?
आजसम्म हामी जे जे कुरा स्वाद मानेर खान्छौं, ती सबैको बीउ हाम्रा हजुरआमाहरूले भकारीमा रक्षा गरेर राखेका थिए। यो संसारमा चलिरहेका प्राणहरूमा हजुरआमाहरूको खेतीपाती र पर्यावरणीय चेतनाको अंश मिसिएको छ। महिलाको भावनात्मक ज्ञानको विषय मानिएको पर्यावरणको गहन बहस संसारको केन्द्रमा हुनु गज्जब कुरा हो। यसले तब मात्र अर्थ भेट्नेछ, जब आफ्नै काममा मग्न योद्धाहरूको कथा संसारले सुन्न पाउनेछ। साहसी पर्यावरणका योद्धाहरूको सुनौलो कथाले अब समयको आवाजलाई इमान साहस र शक्ति भरेर जानेछ।