नेपाल यूएईसँग ४८ रनले पराजित
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको छ।
यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १२० रनमै समेटिएको छ। यूएई यात्राको दोस्रो ओडीआईमा नेपाल ३५.१ ओभरमै अल आउट भएको हो।
नेपालका लागि रोहित पौडेल बाहेक अन्य खेलाडी टिक्न सकेनन्। पौडेलले ६० बलमा ४६ रन बनाए।
त्यस्तै, ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्। नेपालका तीन खेलाडी शून्यमै आउट भए।
यूएईका लागि बसिल हमिदले चार, जुनैद सिद्दीकीले तीन, जहूर खान र रोसन मुस्ताफाले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। यूएईका लागि चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्ताफाले ४०-४०, मोहम्मद वासीमले २१, कसिफ दाउदले १८, वसिल हमिदले १४ र अहम्मद राजाले १३ रन बनाए।
नेपालका लागि सोमपाल कामीले नौ ओभरमा ३९ रन खर्चेर चार विकेट लिएका थिए। त्यस्तै, करण केसीले ७.३ ओभरमा १६ रन खर्चेर तीन विकेट लिए। यसै गरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक-एक विकेट लिए।
नेपालले अर्को खेल सोमबार यूएईसँगै खेल्नेछ। यसअघि भएको पपुवा न्यूगिनीसँगको खेलमा नेपालले जित हासिल गरेको थियो।