पल शाहलाई हिरासतमा राख्न तेस्रो पटक म्याद थप
बलात्कारको अभियोगमा कलाकार पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीले तेस्रो पटक म्याद थप गरेको छ।
शुक्रबार तनहुँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थपको अनुमित लिएको हो। अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अनुसन्धान नसकिएकाले म्याद थप गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। उनी विरुद्ध बालिका बलात्कारको अभियोगमा अनुसन्धान भइरहेको छ।
उनलाई पहिलो पटक सात दिनको म्याद लिएर अनुसन्धानका लागि १५ फागुनमा हिरासतमा राखिएको थियो। त्यसपछि २१ फागुनमा १२ दिनको म्याद थप गरिएको थियो।
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी विरुद्ध उजुरी परेको थियो। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
त्यस्तै, नवलपुर जिल्ला प्रहरी कार्यालयमा पनि उनी विरुद्ध अर्को उजुरी परेको छ। त्यसमा अनुसन्धान गर्न नवलपुर लगिएको थियो।
त्यस्तै, अनुसन्धानका लागि पक्राउ परेका कलाकार शाहका म्यानेजर कृष्ण जोशी विरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको डीएसपी खड्काले जानकारी दिए।