बलर चम्किंदा नेपालले पायो १६९ रनको सामान्य लक्ष्य
आईसीसी क्रिकेट विश्वकप लिग-२ को शुक्रबारको खेलमा बलर चम्किएपछि नेपालले १६९ रनको सामान्य लक्ष्य पाएको छ।
टस जितेर ब्याटिङ रोजेको यूएईका ब्याटर नेपाली बलर अगाडि टिक्न सकेनन्। पहिलो ‘पावर प्ले’ मा नै नेपालले तीन विकेट लियो।
शुरूआतबाटै दबाबमा रहेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्रै बनाएको छ। यूएईका लागि चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्ताफाले ४०-४०, मोहम्मद वासीमले २१, कसिफ दाउदले १८, वसिल हमिदले १४ र अहम्मद राजाले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन जोड्न सकेनन्।
नेपालका लागि सोमपाल कामीले कसिलो बलिङ गरे। उनले नौ ओभरमा ३९ रन खर्चेर चार विकेट लिए।
त्यस्तै, करण केसीले ७.३ ओभरमा १६ रन खर्चेर तीन विकेट लिए। यसै गरी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक-एक विकेट लिए।