संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा
एक वर्षअघि गरिएका संवैधानिक नियुक्ति विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ।
शुक्रबारको सुनुवाइपछि संवैधानिक इजलासले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धी रिटमा हेर्दाहेर्दैमा राखेको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वका संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा थिए।
३० मंसीर २०७७ मा बसेको संवैधानिक परिषद्को बैठकले एकै पटक ४५ पदाधिकारी नियुक्तिको सिफारिश गरेको थियो। यो निर्णयको विरोधमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले छुट्टाछुट्टै नौ वटा रिट दायर गरेका थिए।
त्यति वेला केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद्को ऐन संशोधन गरेर नियुक्तिका लागि सिफारिश गरेको थियो। त्यसको सबैतर्फबाट विरोध भएको थियो।
यस सम्बन्धी रिटमा लामो समय सुनुवाइ हुन सकेको थिएन। यसअघि तीन पटक पेशी तोकिए पनि हेर्न नभ्याइनेमा रहँदै आएको थियो।
यस रिटमा ९ चैतमा अर्को सुनुवाइ तोकिएको छ।