चितवनमा आगलागीबाट २२ सय कुखुरा मरे
चितवनको माडीमा आगलागी हुँदा चल्ला सहित दुई हजार दुई सय कुखुरा मरेका छन्।
माडी नगरपालिका-४ खैरहनीका माधव लामिछानेको धन्सारमा शुक्रबार बिहान आगलागी भएको हो। बिहान करीब ४ः३० बजे धन्सारबाट शुरू भएको आगो छेउमै रहेको कुखुराखोरमा पुगेको थियो।
आगलागीबाट दुई वटा कुखुराको खोर जलेका छन्। आगलागीले एउटा खोरमा रहेका एक हजार दुई सय कुखुरा र अर्को खोरमा रहेका एक हजार चल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
त्यस्तै, आगलागीबाट ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ नष्ट भएको छ। ७० बोरा कुखुराको दाना पनि आगलागीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक रिपोर्टमा देखिएको छ।
फ्रिज, टिभी, तीन वटा सोलार प्यानल, तीन ब्याट्री, एउटा इन्भटर, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम लगायत भाँडाकुँडा पनि जलेका छन्। आगलागीबाट ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
आगलागी शुरू भएको आधा घण्टामै नियन्त्रणमा लिए पनि धन्सार र फर्म जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। आगलागीको कारण खुलेको छैन।