९१ प्रतिशतले लगाए कोरोना खोपको पहिलो डोज
अहिलेसम्म ९१ प्रतिशत नागरिकले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लगाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन्। योसँगै पहिलो डोज लगाउनेको सङ्ख्या एक करोड ८६ लाख ९१ हजार ९१९ पुगेको छ।
सरकारले १२ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउँदै आएको छ। अहिलेसम्म लक्षित समूहको ९१ प्रतिशतले पहिलो खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड ८६ लाख ७८ हजार ४०९ पुगेको छ। यो लक्षित जनसङ्ख्याको ६६ प्रतिशत हो।
बुस्टर डोज लगाउनेको सङ्ख्या पनि १८ लाख २४ हजार १७३ पुगेको छ। अहिलेसम्म कुल तीन करोड ९१ लाख ९४ हजार ४०१ डोज खोप लगाइसकिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, बुधबार २७ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। केही दिनयता भने सङ्क्रमणबाट कसैको ज्यान गएको छैन।
अहिलेसम्म नौ लाख ७८ हजार १०७ जनामा कोरोना देखिएको छ भने नौ लाख ६१ हजार ७८१ जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ।