रसुवागढी नाकामा चिनियाँ बन्देज केही खुकुलो
उत्तरी छिमेकी चीनले रसुवागढी नाकालाई केही खुकुलो गरेसँगै चिनियाँ सामग्रीको आयात बढेको छ।
फागुनसम्म दैनिक नौ वटा चिनियाँ कन्टेनरमा नेपालतर्फ सामग्री आयात हुँदै आएकोमा बुधबारदेखि यसको सङ्ख्या बढेर १४ पुगेको छ। नेपाली पक्षको बारम्बारको प्रयत्नपछि आयातको कोटा बढाएर नाकाको बन्देज केही खुकुलो बनाउन चीन राजी भएको हो।
रसुवागढी नाकामा यार्ड निर्माण सम्पन्न भएपछि यसको सङ्ख्या अझै बढ्ने प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए। उनका अनुसार, यार्ड निर्माण कार्यले अहिले तीव्रता पाएको छ। “हामीले दुई देशबीचको व्यापार वृद्धि गर्न विभिन्न कार्य गरिरहेका छौं। यार्डको निर्माण सम्पन्न भएपछि चीनबाट हुने आयात थप सहज हुनेछ,” उनले भने।
चीनले भने विगत दुई वर्षदेखि कोभिड-१९ लाई कारण देखाएर रसुवागढी नाकाबाट आंशिक मात्रै सामान आयात हुन दिइरहेको छ। निर्यात ठप्पसरह छ। कोभिड-१९ को प्रभाव न्यून हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले नाका कोभिड पूर्वको अवस्थामा नै सञ्चालन गर्ने विषयमा चीनसँग छलफल भएको थियो।
नाका पूर्ण रूपमा सञ्चालन गर्न नसकिएको खण्डमा भने हाल दैनिक नौ वटा कन्टेनरबाट मात्र सामग्री आयात हुँदै आएकोमा यसलाई बढाएर २५ पुर्याउन नेपालले प्रस्ताव गरेको थियो। तर, चीनले दैनिक १४ कन्टेनर मात्रै सामान ल्याउन दिने गरी नाकाको बन्देजलाई सामान्य खुकुलो पारेको हो।
विश्वव्यापी फैलिएको कोभिड-१९ का कारण २५ माघ २०७६ देखि २२ जेठ २०७७ सम्म रसुवागढी नाका पूर्ण रूपमा बन्द भएको थियो। त्यसयता नाका सञ्चालनमा आएको भए पनि न्यून मात्र सामग्रीको आयात हुँदै आएको छ। नाकाबाट सामग्रीको आयात घटेसँगै दुई पक्षीय व्यापारमा असहजता भएको व्यापारीले बताउँदै आएका छन्।