फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर १५५ रुपैयाँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ।
गएराति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर पाँच रुपैयाँ बढाउने निर्णय गरेको थियो।
यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रति लिटर १५ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर २०० ले वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।
मूल्यवृद्धि भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १५५ रुपैयाँ, डिजेल-मट्टीतेलको मूल्य प्रति लिटर १३८ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रति लिटर १५१ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रति लिटर अमेरिकी डलर १.४९५ पुगेको छ।
मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करीब चार अर्ब ६६ करोड रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ। सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ।
आईओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए।