लिग-२ मा अन्तिम ओभरमा नेपालको जित
नेपालले आईसीसी विश्वकप लिग-२ मा पपुवा न्यूगिनीसँगको खेलमा अन्तिम ओभरमा जित हासिल गरेको छ।
बुधबार यूएईमा भएको खेलमा नेपालले अन्तिम ओभरमा दुई विकेटको जित हासिल गरेको हो। पपुवा न्यूनिगीले दिएको २०५ रनको लक्ष्य ४९.२ ओभरमा आठ विकेटको क्षतिमा हासिल गरेको छ।
नेपालका लागि रोहित पौडल र आरिफ शेखले अर्धशतक प्रहार गरे। पौडेलले ८५ बलमा ५८ रन र शेखले ८१ बलमा ५३ रन बनाए।
त्यस्तै, करण केसीले २९, आसिफ शेखले १६, विनोद भण्डारीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि बनाउन सकेनन्।
पपुवा न्यूगिनीका लागि नर्मन बनुवा, अइल नउ र रेली हकुरेले दुई-दुई तथा चाँड सोपर र असद भालाले एक-एक विकेट लिए।
टस जितेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले आठ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनीले ५९ रन प्रहार गरेका थिए।
नेपालका लागि सोमपाल कामीले तीन, आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक-एक विकेट लिएका थिए।