राजनीतिक दबाबले अघि बढेन मन्त्री यादव विरुद्धको मुद्दा
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध दर्ता गरिएको मुद्दा राजनीतिक प्रभावका कारण अगाडि बढ्न सकेको छैन।
मन्त्री यादवले ५ माघमा रौतहटमा आयोजित कार्यक्रममा गौर नरसंहार दोहोर्याउने धम्की दिएकी थिइन्। उनले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई धम्की दिएकी थिइन्।
उनको अभिव्यक्तिको चर्को आलोचना भएको थियो। उनले राजीनामा दिनुपर्ने भन्दै विरोध भएको थियो।
त्यस्तै, मन्त्री यादव विरुद्ध नेपाली कांग्रेसका नेता रञ्जित कर्णले उजुरी दिएका थिए। तर, अहिलेसम्म मुद्दाको प्रक्रिया अघि बढ्न सकेको छैन।
आफूले दिएको उजुरीमा अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि नबढेको भन्दै उनले आक्रोश पोखे। “पार्टीले नै यस्तो अभिव्यक्ति दिनेलाई बर्खास्त गर्नुपर्ने हो, अझ प्रधानमन्त्रीले नै हटाउनुपर्ने हो, तर अहिलेसम्म केही भएको छैन,” कर्णले भने, “झन् उजुरीमा समेत सुनुवाइ भएको छैन।”
जिल्ला प्रहरी कार्यालय, गौरका प्रहरी उपरीक्षक विनोद घिमिरेले हुलाक मार्फत आउने निवेदनलाई सनाखतका लागि हुलाक मार्फत नै पत्र पठाउने गरिएको बताए। “मुद्दाको अन्य प्रक्रिया कहाँ पुगेको छ, मैले पनि बुझ्नैपर्छ,” एसपी घिमिरेले भने।
त्यस्तै, मन्त्री यादवलाई बोलाएर राष्ट्रिय मानव अधिकार आयोगले पनि २० माघमा स्ष्टीकरण लिएको थियो। आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको भन्दै उनले स्पष्टीकरण दिएकी थिइन्।
७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले छुट्टाछुट्टै कार्यक्रम राखेका थिए। त्यस क्रममा भएको हिंसात्मक घटनामा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो।