व्याख्यात्मक टिप्पणी, कपडा र गोबर
घरपरिवार वा जनताको मनोरञ्जनका लागि वेलावेलामा ढुङ्गामुढा र विवाद भइरहनु जरुरी छ र थप मनोरञ्जनका लागि जरुरी छ एक थान ‘व्याख्यात्मक टिप्पणी’।
छिमेकमा सत्यनारायणको पूजा लगाएको कुरा ठीक साँचो हो र त्यहाँबाट हामीलाई प्रसाद प्राप्त भएको कुरा पनि सत्य हो। तर, प्रसादका रूपमा तीन वटा केरा, एकुन्टा बेलौती र स्याउ, एक कचौरा हलुवा, चार थान पुरी, दुई-तीन चम्चा अपुङ्गो मात्र होइन, अक्षता र फूल पनि प्राप्त भयो। म अलिक नास्तिक खालको भए पनि प्रसादका रूपमा प्राप्त हुने खान्कीप्रति भने कुनै आपत्ति थिएन।
यसै पनि हलुवा र पुरी मेरो प्रिय मिष्टान्न हो। तर, मेरी जीवनसँगिनीलाई मेवा मिष्टान्नभन्दा फूल र अक्षताप्रति बढ्ता लगाव थियो। समस्याको जड नै यही भइदियो। म टीका लगाउन नचाहने, तर प्रसाद हसुर्न चाहने। मेरी उनी भने टीका र फूल नलगाई प्रसाद भोग गर्नै नदिने। यसै विषयमा हाम्रो लामै विवाद भयो।
अन्ततः हामीबीच यो विषयलाई धेरै नगिजोल्ने र यस प्रकरणमा एउटा ‘व्याख्यात्मक टिप्पणी’ तयार गर्ने र प्रसाद स्विकारेर उपभोग गर्ने सहमति भयो। जस अनुसार मैले निधारमा अक्षता नलगाएर शिरमा फूल मात्र सिउरिएर काम चलाएँ। उनले पनि आफूलाई मन नपर्ने स्याउको साटो बेलौती एकलौटी उपभोग गर्ने भइन्। ‘व्याख्यात्मक टिप्पणी’ सहितको प्रस्ताव पारित भएको केही मिनेटमै सत्यनारायणको सुस्वादु प्रसाद हामी दुवैको उदरमा समाहित भयो।
त्यसै वेला हाम्रा अर्का छिमेकीका घरमा पनि पिता र पुत्रबीच बाइक किन्ने कि कार भन्ने विषयमा विवाद भएकाले ‘व्याख्यात्मक टिप्पणी’ को खेस्रा तयार हुँदै थियो। जस अनुसार, बाइक र कारको साटो सवारी गर्न र अघिल्तिर सरसामान राख्न पनि मिल्ने स्कूटर किन्ने सहमति भयो। अनि ठीक त्यही वेला नै हाम्रो देशको सार्वभौम संसद्ले पनि ‘व्याख्यात्मक टिप्पणी’ सहित एमसीसी पारित गर्यो र प्रसाद ग्रहण गर्यो।
(यी प्रकरणबाट एउटा कुरा प्रमाणित हुन्छ। त्यो हो, घरपरिवार वा जनताको मनोरञ्जनका लागि वेलावेलामा ढुङ्गामुढा र विवाद भइरहनु जरुरी छ र थप मनोरञ्जनका लागि जरुरी छ एक थान ‘व्याख्यात्मक टिप्पणी’।)
कपडा
आफ्ना लागि केही लुगा किन्नु थियो। तर, बजार पुगेपछि पो थाहा पाएँ, सबै कपडा पसल बन्द भइसकेछन्। एक-दुई दिन हैन, सधैंका लागि। कपडा पसलहरू भएका ठाउँमा कतै फूलका पसल खुलेका थिए भने कतै पूजा सामग्रीका पसल।
मेरा लागि यो अजीब कुरा थियो। शहरका कपडा पसल किन एकाएक बन्द भए? के सरकारले पोशाक आयातमा प्रतिबन्ध लगायो? अथवा, के शहरवासीहरूले पहिले नै जीवनभरिलाई पुग्ने कपडा किनिसकेका थिए?
पूजा पसलका साहुजीसित यिनै प्रश्न सोधें। उनले भने, “सरजी, तपाईंलाई थाहा छैन? अस्ति एउटी बालिका शहरको बीच सडकमा रुँदै बसेकी थिइन्। उनको बलात्कार भएको थियो। उनी न्याय मागिरहेकी थिइन्। तर, शहरवासीले उल्टै बालिकामाथि अनेक लाञ्छना लगाए। केहीले ‘बालिका नै उस्ती! किन नाइट शोमा फिल्म हेर्न जानुपरेको’ भने।
केहीले बलात्कारको परिभाषा दिँदै भनिरहेका थिए, ‘सहमतिमा भएको कुरा बलात्कार मानिँदैन।’
केही बुद्धिजीवी भनिरहेका थिए, ‘प्रतिकार गर्न सकिन्न भने बलात्कारको आनन्द लिनुपथ्र्याे बालिकाले। यसरी बिलौना गरिहिंड्नु सामाजिक मर्यादाको दृष्टिले उचित हैन।’
केहीले त ‘१७ वर्षकीलाई नाबालिग मान्ने कानून संशोधन गरिनुपर्छ’ भनिरहेका थिए।”
यी यावत् कुरा सुनाएपछि साहुजीले मसित सोधे, “लौ भन्नुस् त सरजी, सबैले आफ्नो सोच र चिन्तनमा लगाएका पोशाक हटाएर नग्न भइसकेपछि अब तिनलाई केको लाज? तिनीहरूलाई अब देह ढाक्ने कपडाको के आवश्यकता? त्यसैले शहरमा एकाएक कपडा बिक्री हुन छाड्यो। हामीले घाटा सहेर कतिन्जेल पसल चलाउने?”
साहुजीको कुरा सुनेर म चकित भएँ। चूपचाप शहरका नग्न मानिसहरूको भीड छिचोल्दै घर फर्किएँ। घर पुग्नै लाग्दा छिमेककी एक बालिकाले सोधिन्, “अङ्कल, हजुर किन नाङ्गै?”
गोबर
अमेरिकाबाट भर्खर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका केही थान साँढे उत्साहित मुद्रामा फ्वाँफ्वाँ गरिरहेका थिए। उनीहरूलाई काठमाडौं वरिपरिको डाँडाकाँडाले बहुतै आकर्षण गरेको थियो। सिङ उठाउँदै, खुर बजार्दै खुशियाली प्रकट गरिरहेका थिए।
ठीक त्यही वेला केही थान नेता र तिनका पाल्तु बुद्धिजीवीहरू धावनमार्गमै आएर साँढेको निरीक्षण गर्न थाले। उनीहरूलाई विश्वास थियो, साँढेका भेषमा अमेरिकाले हतियारधारी सैनिक पठाएको हो र साँढेका सिङ अनि खुर घातक ‘मेशिनगन’ हुन्।
निरीक्षणका क्रममा नेता र बुद्धिजीवी साँढेको पृष्ठभागतिर पनि पुगे र निहुरिएर थप अवलोकन गर्न थाले। साँढेहरूले त्यही वेला गोब्य्राइदिए। नेता र बुद्धिजीवीहरू गोबरमा लतपतिए। केही त गोबरमा सुलुलुलु चिप्लिएर उत्तानो पछारिए। केहीको देहमा दखल पर्यो, केहीको दिमागमा। तत्पश्चात् उनीहरूले थप विश्वस्त हुँदै निष्कर्ष निकाले- अमेरिकी साम्राज्यवादको शुरूआत गोबरबाट हुन्छ।
(हिमालको २०७८ चैत अङ्कबाट।)