दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् ।
बाँकेको वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन् ।
“शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ” उनले भनिन्, “राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।”
राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
उनले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् ।