‘लाइम डिजिज’ सङ्क्रमणको शङ्का, छैन परीक्षणको व्यवस्था
धेरैलाई गम्भीर समस्या पारेको लाइम डिजिजको सङ्क्रमण नेपालमा विभिन्न क्षेत्रमा देखिएको शङ्का गरिए पनि सरकारले यो रोगलाई प्राथमिकता नदिंदा परीक्षण र पहिचान हुनै सकेको छैन।
नेपालमा ‘लाइम डिजिज’ को सङ्क्रमणको शङ्का गरिएको छ। वनस्पतिविज्ञ डा. भक्तबहादुर रास्कोटीले अध्ययनका क्रममा देशका विभिन्न ठाउँमा जाँदा यस्ता रोगको लक्षण भएका मानिस धेरै देखेको बताए। अर्घाखाँची, कपिलवस्तु, बर्दिया, चितवन लगायत धेरै ठाउँमा यस्तो रोगका लक्षण भएका मानिस भेटिएको उनको भनाइ छ। “म आफैं पनि अध्ययनका क्रममा अर्घाखाँचीको जङ्गल चहार्दा यो रोगको जस्तै लक्षण देखिएपछि दुई दिन थला परें, चिकित्सकहरूको सल्लाहमा एन्टिबायोटिक खाएर निको भयो,” उनी भन्छन्, “म अध्ययनका क्रममा गएको ठाउँमा यस्तो समस्या धेरैलाई रहेछ।”
अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ स्थित सामुदायिक स्वास्थ्य एकाइका इन्चार्ज रामप्रसाद घिमिरे किर्नाको टोकाइको सङ्क्रमण लिएर महीनामा पाँचदेखि सात जना आउने बताउँछन्। आएकामध्ये अधिकांशलाई गम्भीर समस्या देखिन्छ भने कोही सामान्य अवस्थामा फर्केको उनको भनाइ छ। उनका अनुसार, खेतीपाती गर्ने, बस्तुभाउ चराउने र घाँसदाउरा गर्ने अधिकांशलाई यस्तो सङ्क्रमण देखिएको छ। “जङ्गली बँदेल हिंड्ने ठाउँमा त्यसको शरीरबाट किर्ना झर्दो रहेछ, उक्त किर्ना मानिसको शरीरमा टाँसिएर टोक्दा यस्तो सङ्क्रमण हुने रहेछ,” घिमिरे भन्छन्।
अर्घाखाँची जिल्लाको महाभारत र चुरे पर्वतको बीचको जङ्गल छेउका पूर्वदेखि पश्चिमका गाउँमा किर्नाको टोकाइले समस्या देखिएको पाणिनी-४ स्थित स्वास्थ्य चौकीका इन्चार्ज गणेश गुरुङ बताउँछन्। “जङ्गल छेउ घर भएका मानिसलाई टोक्ने समस्या धेरै देखिएको छ भने जङ्गलभन्दा टाढाका बस्तीका मानिसलाई धेरै समस्या देखिएको छैन,” उनी भन्छन्।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको टोलीले सन् २०१८ मा लाइम डिजिज नेपालमा रहेको पहिलो पटक प्रमाणित गरेको थियो। पोखराकी ३२ वर्षीया महिला लाइम डिजिजको लक्षण लिएर टेकु अस्पताल पुगेकी थिइन्। त्यही क्रममा भारतमा परीक्षण गर्न पठाउँदा लाइम डिजिज सङ्क्रमण भएको थियो। त्यस्तै, सन् २०२० मा भैरहवाको युनिभर्सल मेडिकल कलेजले रिपोर्ट प्रकाशन गर्दै गुल्मीकी ५० वर्षीया महिलालाई पनि सन् २०१८ मा यो रोग लागेको जनाएको छ।
डा. पुन यस्ता रोगहरू समुदायमा भए पनि नेपालमा परीक्षण नै नगराउँदा पहिचान नभएको बताउँछन्। इक्सोडिस् प्रजातिको किर्नाको टोकाइले बोरिलिया बर्गडफरी नामक ब्याक्टेरियाबाट लाइम डिजिज सर्ने उनको भनाइ छ। उनका अनुसार, कम्तीमा पनि २४ घण्टा मानिसको शरीरमा किर्ना टाँसिएमा सङ्क्रमण हुने सम्भावना बढ्दै जान्छ र तेस्रो दिनसम्म पनि त्यो किर्नालाई ननिकालेमा शतप्रतिशत लाइम डिजिज हुने सम्भावना हुन्छ। “राज्यले यो रोगलाई खोज्न प्राथमिकतामा नराखेका कारण रोग फैलिएको क्षेत्र, यसबाट प्रभावित जनसङ्ख्या र यसको क्षतिको विषयमा कुनै तथ्याङ्क नै छैन,” डा. पुन भन्छन्।
लाइम डिजिज अमेरिका र यूरोपमा सबैभन्दा बढी रिपोर्ट हुने कीटजन्य रोग हो। सन् २०१८ मा नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशन (एनसीबीआई) जर्नलमा प्रकाशित अनुसन्धान रिपोर्टका अनुसार, इक्सोडिस् प्रजातिको किर्नाले टोकेको तीनदेखि ३० दिनभित्र छालामा रातो गोलो घेरा भएको आकृति देखिन्छ, जसमा गोलो घेरा बीचको खाली भागलाई ‘एरिथेमा माइग्रेन’ भनिन्छ। डा. पुन यस्तो एलर्जी लगभग ८० प्रतिशत सङ्क्रमितमा देखिने बताउँछन्। “यो चिह्न नै लाइम डिजिज पहिचान गर्ने सबैभन्दा बलियो आधार हो,” उनी भन्छन्।
यो रोगको सङ्क्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने, जिरिङ्ग हुने, आलस्य हुने, जोर्नी दुख्ने, लिम्फ ग्रन्थि सुन्निने जस्ता लक्षण देखिने एनसीबीआई जर्नलमा उल्लेख छ। जर्नलका अनुसार, सङ्क्रमण भएको महीनौंपछि मुटु, हाडजोर्नी, स्नायु प्रणालीमा गम्भीर असर पर्छ। यो रोगबाट मुटुको चाल अनियमित हुने, घुँडाका जोर्नीहरू दुख्ने, हातगोडा झमझमाउने, अत्यधिक टाउको दुख्ने र घाँटी कडा हुने, अनुहारका मांसपेशी कमजोर हुने, बिर्सिने जस्ता समस्या भएर बिरामीहरू सम्बन्धित विशेषज्ञकहाँ पुगेका छन्। “यो सरुवा रोग भए पनि नसर्ने रोगसँग सम्बन्धित छ, तर यसको असर कस्तो छ भनेर अध्ययन नै नभएकाले कसैलाई थाहा नै छैन,” डा. पुन भन्छन्।
सङ्क्रमणको पहिलो ३० दिनभित्र लाइम डिजिज पहिचान गर्न सके सामान्य औषधि सेवन गरे निको हुने, तर पछि देखिने जटिलताका लागि सम्बन्धित विशेषज्ञकहाँ जानुपर्ने डा. पुनको सुझाव छ। उनका अनुसार, नेपालमा विभिन्न अध्ययन सिलसिलामा आएका विदेशीहरू यो रोगको लक्षण लिएर उनीकहाँ पुग्ने गरेका छन्।
यो रोगको सङ्क्रमणले सुत्न नसक्ने गरी बेचैन बनाउने र एकदम थकित गराउने भएकाले विदेशीहरू डराउने डा. पुनको भनाइ छ। “यो रोगले कोरोनाभाइरसले जस्तै तत्कालै नमार्ने भएकाले नेपालले खासै ध्यान दिएको छैन, तर दीर्घकालीन रूपमा यसको ठूलो असर भएकाले विदेशीहरू डराउने गर्छन्,” उनी भन्छन्।