किर्नाबाट सर्ने ‘लाइम डिजिज’ को त्रास
किर्नाको टोकाइबाट ब्याक्टेरिया फैलिएर लाग्ने लाइम डिजिजको पहिचान र रोकथाम गर्न अध्ययन तथा पहलकदमी जरुरी छ।
सुनाखरी विज्ञ भक्तबहादुर रास्कोटी अनुसन्धानका लागि विभिन्न जिल्लाका वनजङ्गल पुगिरहन्छन्। यस वर्ष गृहजिल्ला अर्घाखाँचीको जङ्गलमा जाँदा उनलाई किर्नाले टोक्यो। सामान्यतया किर्नाले टोक्दैमा खासै गाह्रो पार्दैन। तर, केही दशक यता विश्वभर किर्नाको टोकाइबाट खतरनाक ब्याक्टेरिया मानिसको शरीरमा फैलिएर गम्भीर असर पार्ने गरेको छ। ब्याक्टेरिया सरेर पूरै शरीरमा डाबर निस्किने, हाडजोर्नी र टाउको अत्यधिक दुख्ने, घाँटी चलाउन नसकिने, मुटुलाई गम्भीर असर गर्ने जस्ता लक्षण देखिने गरेको छ।
रास्कोटीको शरीरमा पनि यस्तै ब्याक्टेरिया फैलिएछ। माथिकै जस्ता लक्षण देखिएर उनी निकै दिन थला परे। तर, उनी त्यति आत्तिएनन्। किनकि, त्यस्तो रोग उनको गाउँमा पहिले अरू धेरै जनालाई देखिइसकेको रहेछ, र स्थानीय अस्पतालमै उपचार गरेर सबैलाई निको भएको थियो।
रास्कोटीले इन्टरनेटमा खोजी गर्दा लक्षण अनुसार ‘लाइम डिजिज’ भएको थाहा पाए। यो रोगको उपचार सम्बन्धी लेखिएका लेखबाट ‘डक्सीसाइक्लिन’ नामक एन्टीबायोटिक सेवनले निको हुने पत्ता लगाए। करीब तीन साता त्यो औषधि सेवन गरेपछि उनले सन्चो महसूस गरे। तर, अझै पनि केही पीडा भइरहेको रहेछ।
शुरूआत र विस्तार
सन् १९७५ मा यो रोग एक अमेरिकी महिलालाई लागेको पहिलो पटक पहिचान भएको थियो। उनी न्यू इङ्ल्यान्ड स्टेटको लाइम भन्ने ठाउँकी थिइन्। येल विश्वविद्यालयका अनुसन्धाताहरूले सन् १९७७ मा यो रोगलाई ‘लाइम अर्थराइटिस’ नाम दिए। हाडजोर्नी दुख्ने समस्यालाई अर्थराइटिस भनिन्छ। तर, यो रोगमा अरू पनि थुप्रै लक्षण देखिएका थिए। त्यसैले १९७९ मा यसलाई ‘लाइम डिजिज’ नाम दिइयो।
अमेरिकामा लाइम डिजिजबाट बर्सेनि करीब तीन लाख मानिस प्रभावित हुँदा रहेछन्। यूरोपमा पनि बिरामीको सङ्ख्या निकै छ। नेपालमा भने लाइम डिजिजको प्रभाव क्षेत्र कति छ, यसबाट प्रभावित कति छन् भन्नेबारे अध्ययन नै भएको छैन। अहिलेसम्म स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे तथ्याङ्क सङ्कलन गरेकै छैन।
लाइम डिजिज मूलतः बोरिलिया जातिको ब्याक्टेरियाबाट सर्छ। बोरिलिया जाति अन्तर्गत करीब ४२ प्रजातिका ब्याक्टेरिया छन्। यो रोग सन् २०१६ सम्म अमेरिका र यूरोपमा सीमित थियो। अहिले ८० भन्दा बढी देशमा फैलिएको छ। भिन्दाभिन्दै देशमा फरक फरक बोरिलिया प्रजातिका ब्याक्टेरियाबाट यो रोग सर्ने गरेको पाइन्छ। अमेरिकामा बढी मात्रामा बोरिलिया बर्गडफरी वैज्ञानिक नाम दिइएको ब्याक्टेरियाबाट लाइम डिजिज हुने गरेको छ भने यूरोपमा बोरिलिया एफजेल्ली र बोरिलिया गरिनीबाट।
बोरिलिया बर्गडफरीको सन्दर्भमा इक्सोडिस् प्रजातिको किर्नाको टोकाइबाट यो ब्याक्टेरियाको सङ्क्रमण भएर लाइम डिजिज सर्छ। सन् १९८२ मा अमेरिकी वैज्ञानिक विल्हेल्म बर्गडफरले प्रयोगशालामा यो ब्याक्टेरियाको पहिचान गरेका थिए। पछि उनकै नाममा ब्याक्टेरियाको नामकरण गरियो ।
नेपालमा यो रोग पहिलो पटक सन् २०१८ मा पुष्टि भएको थियो। यसबारे सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन र अरूहरू लिखित ‘फर्स्ट रिपोर्ट अफ लाइम डिजिज इन नेपाल’ शीर्षकको लेख माइक्रोबाइलोजी सोसाइटी जर्नलको भोलम ५ अङ्क ३ (मार्च २०१८) मा प्रकाशित छ। लेख अनुसार, पोखराकी ३२ वर्षीया महिला हाडजोर्नी र टाउको दुख्ने, शरीर थकित हुने, घाँटी चलाउन नहुने, हातखुट्टा झमझमाउने जस्ता समस्या भएर देशका विभिन्न ठाउँमा उपचार गराइन्। अन्ततः भारतमा उनको रोग पहिचान भयो। नेपालमा अझैसम्म यो रोगको परीक्षण हुने व्यवस्था छैन।
यस्तै, जर्नल अफ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको भोलम ८ अङ्क १ (सन् २०२०) मा प्रकाशित प्रविन खत्री र अरूहरू लिखित ‘लाइम डिजिज, एन इमजिङ इन्फ्लेक्सन इन नेपालः अ केस रिपोर्ट’ शीर्षक लेख अनुसार, गुल्मीकी ५० वर्षीया महिलालाई पनि सन् २०१८ मा यो रोग लागेको पहिचान भएको थियो।
अध्ययन र जनचेतना
अमेरिकामा लाइम डिजिजबाट बर्सेनि करीब तीन लाख मानिस प्रभावित हुँदा रहेछन्। यूरोपमा पनि बिरामीको सङ्ख्या निकै छ। नेपालमा भने लाइम डिजिजको प्रभाव क्षेत्र कति छ, यसबाट प्रभावित कति छन् भन्नेबारे अध्ययन नै भएको छैन। अहिलेसम्म स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे तथ्याङ्क सङ्कलन गरेकै छैन।
पाँच/सात वर्षयता मध्य पश्चिमको मध्य पहाडी जिल्लामा यो रोग उल्लेख्य सङ्ख्यामा देखिन थालेको स्थानीय बासिन्दा बताउँछन्। तर, अन्यत्र भने रोगबारे जनचेतना फैलाउन सरकारी तत्परता नै नदेखिंदा रोगबारे जानकारी पुगेकै छैन।
वनजङ्गल बढेको र जङ्गली जनावर पनि बढेकाले मानिसको आवतजावत गर्ने ठाउँमा वन्यजन्तु पहिलेभन्दा बढी भेटिन थालेका छन्। यी जनावरका किर्नामा बोरिलिया बर्गडफरी ब्याक्टेरिया प्रवेश भयो भने प्रकोपकै रूप लिन सक्छ। अनुसन्धानहरूमा बोरिलिया बर्गडफरी कडा छाला हुने किर्नामा रहन्छ भन्ने लेखिएको पाइन्छ। अमेरिका र यूरोपमा इक्सोडिस् जातिका किर्नामा यो ब्याक्टेरिया हुने लेखिएका छन्। यूरोपमा धेरैजसो इक्सोडिस् रिसिनस् र इक्सोडिस् पर्सुल्काटस् प्रजातिका किर्नामा उक्त ब्याक्टेरिया पाइएको छ।
पाँच/सात वर्षयता मध्य पश्चिमको मध्य पहाडी जिल्लामा यो रोग उल्लेख्य सङ्ख्यामा देखिन थालेको स्थानीय बासिन्दा बताउँछन्। तर, अन्यत्र भने रोगबारे जनचेतना फैलाउन सरकारी तत्परता नै नदेखिंदा रोगबारे जानकारी पुगेकै छैन।
यो पङ्क्तिकारले पूर्वी नेपालमा इक्सोडिस् जातिका किर्ना बाँदर, बँदेल, मृगमा रहेको देखेको छ। अनुसन्धानहरूका अनुसार, यस्तो जातिको किर्ना करीब दुई वर्षसम्म बाँच्दो रहेछ। यो त अन्य साना स्तनधारी र केही चरामा समेत हुँदो रहेछ। यस कारण, यो घरपालुवा कुकुर, बिराला आदिमा पनि हुन सक्छ।
यो रोगबाट बच्न जनचेतना फैलाउन आवश्यक छ। यसको लक्षण कस्तो हुन्छ, रोग पुष्टि भएपछि कसरी उपचार गर्ने भनेर शुरूमा त चिकित्सकलाई नै सचेतना आवश्यक हुन्छ। अन्यथा बिरामीले महीनौंसम्म थलिनुपर्ने त छँदै छ, विभिन्न परीक्षण क्रममा समय र पैसा दुवै बढी लाग्दा परिवारमाथि आर्थिक चाप पनि पर्छ। यो रोगले सिकिस्त हुँदा हातखुट्टा चलाउँदा दुख्ने र घाँटी पनि चलाउन नहुने भएकाले बिरामी त धनुष्टङ्कार रोग लागे जस्ता हुँदा रहेछन्।
नेपालमा लाइम डिजिज बोरिलियाको कुन प्रजातिबाट भएको हो भन्ने यकिन छैन। यस कारण, नेपाल सरकार तथा विश्वविद्यालय लगायत संस्थाले यसबारे अध्ययन गर्नुपर्छ। यससँगै यो रोगबारे जनचेतना फैलाउन आवश्यक छ। यो रोग कास्की, अर्घाखाँची, गुल्मी बाहेकका जिल्लामा पनि फैलिएको हुनुपर्छ। यसलाई प्रकोपका रूपमा फैलिन नदिन पहिचान, रोकथाम र उपचारबारे निर्देशिका बनाउन सरकारले कदम चालिहाल्नुपर्छ।