‘चेपाङको जीवनस्तर सुगमकै नागरिकको जस्तो बनाउँदै छौं’
स्थानीय सरकारको नेतृत्व गर्ने थोरै महिलामा पर्छिन्, चितवनको राप्ती नगरपालिकाकी मेयर प्रभा बराल। उक्त नगरलाई हालै नगरपालिका संघले सामाजिक विकासमा उत्कृष्ट ठहर्याएको छ। यसबीच सीमान्तीकृत चेपाङ समुदायलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउन नगरपालिकाले विशेष ध्यान दिएको छ। यसै सेरोफेरोमा मेयर बरालसँग अनिता भेटवालले गरेको संवाद:
राप्ती नगरपालिका सामाजिक विकासको विधामा हालै नेपाल नगरपालिका संघबाट देशकै उत्कृष्ट नगर घोषित हुनुमा के कस्ता कारण छन्?
शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिकका सरोकार र कोभिड–१९ सँग जोडिएका काम अरूले भन्दा राम्रो गरेकाले उत्कृष्ट भएका हौं। सुशासन, अर्थ, पूर्वाधार र वन तथा वातावरण जस्ता क्षेत्रमा गरेका कामको पनि यसमा मूल्याङ्कन भएको छ। काम त अरू नगरपालिकाले पनि गरेकै होलान्, तर हामीले परिणाम दियौं।
हाम्रो भूभाग पहाड र तराईमा छ। माथि सीमान्तीकृत चेपाङ समुदायको बसोबास छ। उक्त समुदायमा १० हजार बालबालिका छन्। हामीले निर्वाचित हुनासाथ ती सबै बालबालिकालाई विद्यालय भर्ना गर्यौं।
कुनै ठाउँका विद्यार्थीलाई तीनदेखि चार घण्टासम्म हिंडेर विद्यालय पुग्नुपर्ने अवस्था थियो। त्यो अवस्था अन्त्य गर्न संघ र प्रदेश सरकार तथा अन्य संस्थाको सहयोगमा तीन वटा होस्टल खोल्यौं। उनीहरू त्यहीं बसेर पढ्न थालेका छन्। सबै माविमा विज्ञान, गणित र अङ्ग्रेजी विषयको निःशुल्क कोचिङ कक्षा चलाइरहेका छौं। यस्तो कोचिङ चलाएको वर्ष नै हामी एसईईमा उत्कृष्ट नतीजा ल्याउने दोस्रो नगरपालिका भयौं।
अर्को कुरा, हामी शुरूमा आउँदा राप्ती नगरपालिकामा एउटा पनि अस्पताल थिएन। माथिल्लो भेगमा पर्ने ११, १२, १३ वडाका चेपाङ दिदीबहिनीलाई भरतपुर पुगेर स्वास्थ्य जाँच गराउन सहज थिएन। त्यसैले महिला रोग विशेषज्ञ सहित राखेर भण्डारामा अस्पताल खोल्यौं। यससँगै आमा पोषण, पूर्ण खोप जस्ता अभियान सञ्चालन गर्यौं। शिक्षा र स्वास्थ्य नै पहिलो प्राथमिकता भएकाले हामीले यिनैमा धेरै समय र बजेट लगानी गरेका हौं।
निर्वाचित भएर शुरूमा आउँदाको अवस्था कस्तो थियो?
पहिले त हामी नै कहाँ बस्ने भन्ने टुङ्गो थिएन। त्यसैले नगरपालिकाको भवन र १३ वटा कार्यालय बनायौं। महिला, बालबालिका, स्वास्थ्य, शिक्षा सबै शाखालाई प्रभावकारी बनाउनतिर लाग्यौं। पशु स्वास्थ्य कार्यालय, पशुको उपचार गर्ने अस्पताल सहित सय वटाभन्दा बढी यस्ता संरचना बनाएका छौं। आफ्नो अधिकार क्षेत्रमा रहेर ५६ वटा ऐन, कार्यविधि लगायत बनायौं। यातायातको असुविधामा रहेकाहरू र ८० वर्षभन्दा माथिका नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क गर्यौं। बालबालिका विद्यालय जान नछुटून् भनेर कक्षा ५ सम्म निःशुल्क दिवाखाजा दिने गरेका छौं।
यी सबै काम गर्न एक–दुई योग्य व्यक्तिले मात्र सम्भव हुँदैन। जनप्रतिनिधि, कर्मचारी, प्राविधिक, आम नागरिक सबैको भावना र तालमेल हुनुुपर्छ। जनप्रतिनिधि अझ बढी कस्सिनुपर्छ।
स्थानीय तहमा महिलालाई प्रायः उपप्रमुख पदमा खुम्च्याइँदा तपाईं मेयर चुनिनुभयो। महिला भएकै कारण क्षमतामा उठाइने प्रश्नहरूको सामना कत्तिको गर्नुपर्यो?
समाजमा पितृसत्तात्मक र सामन्ती चिन्तन उस्तै छ। तर, मैले त्यस्तो सोच र व्यवहारलाई कहिल्यै देखे जस्तो गरिनँ। महिला भएकै कारण नीचो देखाइयो भनेर गुनासो पनि गरिनँ। मेयर भएर काम गरें, महिला भएर होइन। म पुरुष, महिला सबैको मेयर हुँ।
सबै मान्छेको आआफ्नो जिम्मेवारी हुन्छ। आमा, बुहारी, श्रीमती, माइजू, भाउजू, नन्दको भूमिकासँगै बाहिरी जिम्मेवारी पनि पूरा गर्नुपर्छ। महिलाले पारिवारिक जिम्मेवारी सम्हाल्नु भनेको बाहिरी काम गर्न नसक्नु होइन।
कतिपय पालिकाहरूमा प्रमुख र उपप्रमुखबीच द्वन्द्व देखिंदै आएकामा तपाईंको नगरमा कस्तो छ?
मुख्य कुरा, हामी दुवै जनप्रतिनिधि हौं। उपमेयर पनि विभिन्न अजेन्डामा छलफल गर्न सँगै हिंड्नुभयो। निर्णय कार्यान्वयन गर्न पनि मिलेरै खटियौं। काम गर्न आएका हौं, जसरी पनि गर्नुपर्छ भन्ने मात्र सोच्यौं। काममा एकरूपता ल्यायौं। त्यसैले अरूको जस्तो मनमुटाव हाम्रोमा रहेन।
यसबीच छिमेकी पालिकाहरूसँगको सम्बन्ध–सहकार्य चाहिं कस्तो रह्यो?
हाम्रो जिल्लामा एउटा महानगर, एउटा गाउँपालिका र पाँच नगरपालिका छन्। यीमध्ये राप्ती, खैरहनी, कालिका र रत्ननगर नगरपालिकाको भूगोल उस्तै छ। यी चार वटामा गरी जम्मा दुई वटा दमकल छन्। एउटा पालिकाले एउटा दमकलको खर्च समेत उठाउन सक्दैन। त्यसैले दुई नगरपालिका मिलेर एउटा दमकल व्यवस्था गरेका छौं।
दुवैलाई पायक पर्ने ठाउँमा राखेर जसलाई आवश्यक पर्छ, उसैले प्रयोग गर्ने गरी मिलाएका छौं। अहिले जर्मनी र कतार राजदूतावासको सहकार्यमा चारै नगरपालिकाको फोहोर व्यवस्थापन पनि सँगै गर्दै छौं। तटबन्धको काम पनि मिलेर गर्यौं। चार नगरपालिका समेटेर चक्रपथ बनाउन संयुक्त बजेट छुट्याएका छौं। हामी अघि बढ्ने अनि सँगैका नगरलाई अघि बढ्न सहयोग नगर्ने भन्ने हुँदैन।
स्थानीय सरकारसँग आम नागरिकका अपेक्षा कस्ता हुँदा रहेछन्?
मानिसका आवश्यकता र अपेक्षा अनगिन्ती छन्। शुरूशुरूमा बाटो, पुल, नहर, पाइप आदि बनाउने माग आए। चार वर्षमा यस्ता प्रायः समस्या समाधान गर्यौं। अहिले बेरोजगारीका समस्या लिएर आउनेहरू हुनुहुन्छ। आम्दानीको स्रोत नभएको, उत्पादन गरे पनि बजार मूल्य नभएको गुनासो सुनिन्छ। खासमा अब हामीले सुधार्नुपर्ने कुरा पनि यिनै हुन्। तर, यसमा मेयरले चाहेर मात्र हुन्न, सम्पूर्ण व्यवस्थाले काम गर्नुपर्छ।
नीतिगत समस्याले पनि काममा अप्ठ्यारो पार्यो कि?
हामीले आफ्नो क्षेत्राधिकारमा रहेर केही ऐन, नियमावली बनाएका छौं। साझा अधिकार क्षेत्रभित्र रहेर संघ–प्रदेशले नै पहिले ऐन–नियम बनाइदिए हामीसँग बाझिने थिएनन्। यसरी बाझिंदा हामीले बनाएका नियमावली निष्क्रिय भइदिन्छन्। त्यसैले ती छिटो बनेदेखि काम गर्न सहज हुन्थ्यो। यतातिर ध्यान जाओस्।
निर्वाचनका वेला जनतासँग गरेका वाचा कत्तिको पूरा भए जस्तो लाग्छ?
राप्ती नगरपालिकाको भूगोल दुई किसिमको छ, पहाड र तराई। तल नरिवल फल्छ, माथि लालीगुराँस । हावापानी र माटो अनुसार कृषि र पर्यटन यहाँको सम्भावना हो। तर, यसको प्रवर्द्धन हुन सकेको छैन। त्यो मैले देखेको लक्ष्य हो।
यही स्थानका जनता आर्थिक र चेतनाका हिसाबले पछाडि हुनुहुन्छ। यहाँ धेरै चेपाङ र केही तामाङ समुदायको बस्ती छ। म चाहन्छु, माथिका र तल निकुञ्ज, हाइवे क्षेत्रका बासिन्दाको जीवनमा उस्तै सहजता होस्। अवसरको समान पहुँच होस्। आज वडा नं १२ र १३ का चेपाङका बच्चा र तल १ नं वडाका बच्चाको अवस्थाले नै त्यो असमानता झल्काउँछ। चेपाङ हिजैबाट आर्थिक रूपले पछाडि परेको समुदाय हो। यसमा समानता ल्याउनकै लागि शिक्षामा जोड दिएकी हुँ। यो काममा अथक भएर लाग्नेछु।
पाँचवर्षे कार्यकाल सकिनै लाग्दा अबको तपाईंको यात्रा कस्तो हुनेछ ?
हामी राजनीतिकर्मी जनताको काम गर्नै भनेर आएका हौं। तर, सधैं गुनासो सुनेर मात्र भएन, तिनलाई कामबाटै सम्बोधन गर्नु छ। त्यसका लागि पहिले त पेशागत ग्यारेन्टी हुनुपर्यो। बेरोजगारी समस्या हल गर्नुपर्यो। उमेरका हिसाबले मलाई अझै २० वर्ष राजकीय मामिलामा काम गर्ने समय छ। क्षमता पनि राख्छु। फेरि पनि अहिलेकै जिम्मेवारीमा हुनुपर्छ भन्ने छैन। जहाँ गए पनि काम चाहिं गर्न पाइयोस्, त्यत्ति हो।