काठमाडौं महानगरद्वारा वसन्तपुरमा निर्मित कंक्रिट तत्काल भत्काउन उपमेयर खड्गीको माग
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले महानगरपालिकाले वसन्तपुर क्षेत्रमा निर्माण गरेको कंक्रिट संरचना तत्काल भत्काउन माग गरेकी छन्।
उपमेयर खड्गीले मंगलबार स्थलगत अवलोकनपछि विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा कंक्रिट संरचना बनाउन नपाउने भन्दै भत्काउन माग गरेकी हुन्। उनी भन्छिन्, “विकासका नाममा विनाश गर्न मिल्दैन, विश्व सम्पदा सूचीमा परेको क्षेत्रमा यस्तो संरचना बनाउन पाइँदैन।”
कंक्रिट संरचना निर्माण गर्ने कुरा महानगरपालिकाको बोर्ड बैठकबाट पारित समेत नभएको खड्गीको भनाइ छ। उनले यो विषयमा आफूले मेयर विद्यासुन्दर शाक्यसँग कुराकानी गर्ने बताइन्।
काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा गरेको जथाभावी भौतिक संरचना निर्माण पुरातत्त्व विभागको निर्देशन विपरीत छ।
विभागको निर्देशनलाई अटेर गर्दै महानगरपालिकाले राति राति संरचना बनाएको त्यहाँका स्थानीयले बताएका छन्। विभागको टोलीले स्थलगत अनुगमनपछि ६ फागुनमा निर्माण कार्य रोक्न महानगरलाई निर्देशन दिएको थियो।