अर्घाखाँची सिमेन्टलाई ५३ ग्रेडको इजाजत
अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादित अर्घाखाँची ओपीसी सिमेन्टले सरकारबाट ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र प्रदान गरेको हो। आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रूपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई अझ प्राथमिकतामा राख्ने महाप्रबन्धक उद्धव कार्कीले जनाएका छन्।
उनले भने, “भदौमा ४३ ग्रेडको मान्यता प्राएका थियौं, अहिले ५३ ग्रेडको प्रमाणीकरण पनि मिलेको छ। यसले आम उपभोक्तालाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको छ।”
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको छ। गत आर्थिक वर्षमा पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आईपीओमा जाने तयारी थालेको छ।