एनबी ब्यांकलाई गाभ्न नबिल ब्यांकलाई सैद्धान्तिक सहमति
नेपाल राष्ट्र ब्यांकले नेपाल बाङ्लादेश ब्यांक (एनबी) लाई गाभ्न नबिल ब्यांकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।
एनबी ब्यांकलाई गाभ्न नबिल ब्यांकले गत २९ पुसमा प्रारम्भिक सम्झौता भएको थियो। त्यसका लागि राष्ट्र ब्यांकसँग सैद्धान्तिक सहमति मागेको थियो।
एनबी ब्यांकको एक्विजिशनपछि नबिल ब्यांक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी ब्यांकका रूपमा स्थापित हुने भएको छ।
हाल नबिल ब्यांकको चुक्ता पूँजी करीब १८ अर्ब ५० करोड र एनबी ब्यांकको करीब १० अर्ब ९ करोड छ। यस एक्विजिशनपछि हाल सहमत गरिएको स्वाप रेसियो अनुरूप ब्यांकको चुक्ता पूँजी करीब २३ अर्बको हुनेछ।
पुससम्म नबिल ब्यांकसँग २९ अर्बभन्दा बढी र एनबी ब्यांकसँग १४ अर्बभन्दा बढी प्राथमिक पूँजी रहेकोमा एक्विजिशनपछि प्राथमिक पूँजी ४४ अर्बभन्दा बढी हुनेछ।
यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनामा नबिल ब्यांंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने ब्यांकले जनाएको छ।