प्रकाश सपुतले भने- यो गीतमा कुनै राजनीतिक पूर्वाग्रह राखेको छैन
गायक प्रकाश सपुतले ‘पीर’ गीत कुनै राजनीतिक पूर्वाग्रह राखेर नल्याएको बताएका छन्।
सशस्त्र युद्धमा सहभागी पूर्व लडाकूको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) का भ्रातृ संगठनले गायक सपुतको गीतको आलोचना गरिरहेका छन्। उनीहरूले यो गीत हटाउन माग गरेका छन्।
राजनीतिक रूपमा पूर्वाग्रह राखेर गीत ल्याइएको माओवादी कार्यकर्ताले आरोप लगाइरहेका वेला गायक सपुतले आफ्नो त्यस्तो नियत नभएको प्रष्ट्याएका हुन्। पूर्व लडाकूले भोगेको पीडा मात्रै उठाउन खोजेको उनले बताएका छन्।
“म करीब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने र पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्व लडाकु थिए। उनीहरू चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ,” गायक सपुतले भने, “संयोगले अहिले निस्क्यो। यस बाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु।”
माओवादी सशस्त्र युद्धकै जगमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएको उजागर गर्न खोजेको उनले बताएका छन्। “पीरले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको, समानताका लागि सँगै लडेका कमरेडहरू बीचमा बढ्दै गएको असमान दूरी देखाउन मात्रै खोजेको हो,” सपुतले भने, “प्रतीकात्मक रूपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा सच्चा कमरेडको कथा हो, पीर।”
आफ्ना पूर्व गीतहरू जस्तै गीतका रूपमा मात्रै ल्याएको उनले बताएका छन्। “सबैमा सबै खाले क्षमता हुँदैन। मभित्र राजनीतिक चेत छ, तर त्यति धेरै राजनीतिक विश्लेषण गर्ने क्षमता राख्दिनँ,” उनले प्रष्ट्याउँदै भने, “जसरी अघिल्ला गीतहरू ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’, ‘कुरा बुझ्न पर्छ’ गीतहरूमा कथा बुन्थें, पात्र बनाउँथें, टुक्का टिप्थें, लय हाल्थें र रेकर्ड/छायाङ्कन गर्थें। यसमा पनि सेम टु सेम त्यही प्रक्रिया छ।”
यस गीतमा प्रस्तुत गरिएका पात्रका विषयमा अध्ययन गरेको भए पनि यसमा आउन सक्ने प्रतिक्रियाका विषयमा अनुमान गर्न नसकेको उनको भनाइ छ। “योबीचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। तर, यस्ता विषय उठान गर्दा आउने राजनीतिक दबाबको केही अनुमान गरे पनि गीत हटाउनेसम्मकै आकलन गरेनछु,” उनले भने, “यसलाई ग़लत व्याख्या गरिन्छ र निरुत्साहित गर्न खोजिनेछ भन्ने कुराको हेक्का राखेनछु।”
उनले पूर्व लडाकूको प्रतीकात्मक दृश्यका विषयमा भने आत्मालोचित भएको जनाएका छन्। “अलि बढी कोट्याइएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृश्य हो। प्रतीकात्मक रूपमा राखिएको दृश्यहरूले कसैको आत्मसम्मानमा प्रत्यक्ष असर पुग्न जाने कुरा मैले महसूस गरें,” गायक सपुतले भने, “म यसमा भने आत्मालोचना गर्छु।”
आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि यस गीतलाई सहज र स्वाभाविक रूपमा लिन आग्रह गरेका छन्। उनले धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, “यसका कारण यो विषय (प्रकाश सपुतको गीतमा) मेरो विचारमा अहिले हामी उत्तेजित कोही हुनुपर्ने छैन। तर्क-वितर्क हुन्छन्। पक्ष-विपक्ष हुन्छ। त्यसलाई सहज, स्वाभाविक रूपले लिनुपर्छ।”
यसैबीच उनले प्रेस वक्तव्य जारी गरी यसलाई राजनीतिकरण नगरिदिन आग्रह गरेका छन्। “मैले कसैसँग पनि यो विषयमा सहयोग/सल्लाह लिएको छैन!,” उनले भनेका छन्, “त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु।”
यो गीतमार्फत नागरिकले राज्यसँग गर्ने अपेक्ष र पाएको उपेक्षा चित्रण गर्न खोजेको उनले जनाएका छन्। “पीरबाट मैले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हुँ,” उनले भनेका छन्, “एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हुँ।