महिलामाथि सय वर्षअघिको जस्तै विभेद
महिला भएकै कारण सय वर्षअघि मेरी हजुरआमाले जस्तो विभेद र समस्या खेपेकी थिइन्, मैले नेपालमै बस्ने गरी विदेशबाट फर्केर आएपछि अहिले पनि त्यस्तै विभेद र समस्या खेप्नुपर्यो।
परिवारमा भएको ऐतिहासिक तस्वीरको आधारमा मैले पितृसत्ताको चार पुस्ता अघिदेखि अहिलेसम्मको समाजिक-राजनीतिक परिवेश केलाउने मौका पाएँ।
शायद मैले हुर्केको परिवारभित्र र मेरो देशप्रतिको आत्मीयताको प्रेरणाले यसो गराएको हो। जुन देशको म एक छोरी हुँ र अहिले आफैं आमा भएको नाताले यो विश्लेषण सम्भव बनाएको छ।
यी विषयमा लेख्न मैले धेरै अलमल गरिरहें, र यी विषयमा लेखिएका कुरा प्रकाशन गर्ने अधिकार मलाई छ कि छैन भन्ने प्रश्न पनि गरिरहें। काठमाडौंको सुविधासम्पन्न ब्राह्मण परिवारमा मेरो जन्म र पालनपोषण भयो।
मलाई के भनिएको थियो भने, “अन्याय गर्नु जस्तै त्यसको विरोध नगर्नु पनि अपराध हो।”
अधिकांश नेपाली महिलाको सामाजिक, सांस्कृतिक र कानूनी हैसियत कति दयनीय छ भने उनीहरूका पक्षमा नबोल्नु भनेको अपराध सरह नै हुन्छ।
विदेश बसेर हेर्दा नेपालको सुन्दर दृश्यले मोहित भएर सन् २०१३ को कुनै एक दिन मेरा फ्रेन्च श्रीमान्ले हामी नेपालै गएर बस्ने हो कि भन्ने प्रस्ताव गरे। त्यतिन्जेल यूरोपका विभिन्न स्थानमा बस्न थालेको एक दशक भइसकेको थियो। नेपाली बोल्ने, नेपाली परिकार खाने लगायत नेपाली मौलिक सांस्कृतिक स्वादबाट छुटेको हुँदा म नेपाल बस्न जाने कुरामा तत्काल सहमत भएँ।
मेरा धेरैजसो आफन्त विदेशमा बस्थे। तिनीहरूको सञ्जाल तथा सहयोग विना नेपालमा बस्नु कत्तिको गाह्रो हुने रहेछ भन्ने मैले यहाँ आएर पाएको यन्त्रणापछि मात्र बुझें। खास गरी कानूनी तथा सरकारी कामकाजको वेलामा आफन्त र सहयोगीको राम्रै खाँचो पर्ने रहेछ। धन्न मेरो मामाघरकी सानीआमा नेपालमा नै हुनुहुन्छ र उहाँले नै हामीलाई धेरै सहयोग गर्नुभयो। नत्र त हामीलाई सरकारी कागजात बनाउन असम्भव सरह हुन्थ्यो।
मलाई सांस्कृतिक झट्का लाग्ला कि भन्नेमा म सचेत थिएँ, तर राज्यले लादेको पितृसत्तात्मक व्यवहार यतिसम्म चरम होला भन्ने अनुमान थिएन। विदेशीलाई ‘कन्यादान’ गरिएकी छोरी फर्केर आउन खोज्दा उसलाई राज्य-प्रशासनले शरणमा पर्न आएको जस्तो गर्छ भन्ने मैले सोच्न सक्ने कुरा थिएन।
मेरो मामाघरतर्फको हाँगो केलाउँदै जाँदा मैले के पाएँ भने, पितृसत्तात्मक सोच र व्यवहारबाट प्रताडित हामी चौथो पुस्ताका महिला रहेछौं। हामी त्यस्तो पुस्ता रहेछौं, जसलाई परिवारका पुरुष सदस्यबाट कुनै सहयोग भएनछ।
हाम्रो परिवारको ऐतिहासिकी केलाउँदा के देखियो भने, प्रभावशाली भूमिकामा रहेका ‘पिताहरू’ को असामयिक र दुःखान्त निधन हुँदा र उहाँहरू दीर्घकालीन रूपमा अनुपस्थित हुँदा र अक्षम भएका कारण परिवारका महिलाहरूलाई धेरै नै दुःख र कष्ट भोग्नुपरेको रहेछ। अनि परिवार सम्हाल्ने दायित्व आइलागेका ‘आमाहरू’ लाई व्यवहार चलाउनुपर्ने बाध्यात्मक परिस्थिति आइलागेको रहेछ। त्यति मात्रै होइन, लामो समयसम्म बालबच्चाको हेरचाह गर्नुपर्ने दायित्व पनि महिलाकै थाप्लोमा आइलाग्यो।
मेरो मामाघरमा जहाँ महिलाहरूको नै आधिपत्य थियो, त्यहाँ आमासँग हुर्कंदै गर्दा मैले के अनुभव गरें भने महिला बलिया हुन्छन्, आफ्नो कामप्रति गम्भीर हुन्छन्, सबै व्यवहार धानेर बस्न पनि सक्छन्। उनीहरू स्वतन्त्र हुन्छन् र आफू के बन्न चाहेको हो सो बन्न पनि सक्छन्- आफ्नो व्यक्तिगत जीवनमा र पेशागत जीवनमा पनि।
मस्को, पेरिस र काठमाडौंको भएको हुर्काइका कारण मेरी आमाले के निश्चय गर्नुभयो भने, मेरो बुझाइ विश्व बुझ्न सक्ने होस्। साथै, मेरो हुर्काइ नेपाली मूल्य-मान्यता सहितको होस् भन्नेमा पनि उहाँ उत्तिकै सचेत हुनुहुन्थ्यो। फलतः मलाई जुनसुकै ठाउँमा उड्न सक्छु भन्ने आत्मविश्वास भयो।
अरू सबै बालबालिका जस्तै मैले पनि के अनुभव गरें भने, यी आधुनिक, शक्तिशाली इच्छाशक्ति भएका, स्वप्निल सपना साँचेका र आफ्ना धारणामा दृढ हुने परिवारका सदस्यको परम्परा थियो। त्यस अनुसार पूरै नेपाली समाज नै यस्तै होला भन्ने मेरो बुझाइ भएर गयो। त्यसका लागि म आफ्नो परिवारप्रति अति नै आभारी छु।
तर, मेरो यो भ्रम सन् २०१३ मा म नेपाल फर्किंदा मात्र हट्यो।
न्यौपाने परिवारको हाँगो
न्यौपाने परिवारको यो फोटो (माथिको) मामाघरकी हजुरआमाको हो, जो नेपालको कलैयामा बस्नुहुन्थ्यो। देव्रेतर्फबाट उभिनुभएकी तेस्रो महिला मेरी आमाकी आमा कुसुमकुमारी शर्मा, आफ्नी चार जना दिदीबहिनीसँग देखिनुभएको छ। उहाँहरू चार दिदीबहिनीले विधवा आमा वसुन्धरा न्यौपानेलाई घेर्नुभएको छ। फोटो खिच्न बस्दाको ढाँचा अङ्ग्रेज उपन्यासकार जेन अस्टिनको पालाको जस्तो देखिन्छ।
पाँच दिदीबहिनीमध्ये कान्छी छोरीको बिहे भएको थिएन र बिहे भएका चारै जना दिदीबहिनीले शिरमा अर्धचन्द्र आकारको गहना कपालमा सिउरिनुभएको छ। जुन गहना महिला विवाहिता जनाउने सङ्केत सरह देखिन्छ।
कलैयामा बसोबास गरेका भए पनि न्यौपाने परिवार विसं १९८६ सालतिर पहाडी क्षेत्रबाट बसोबासको राम्रो अवसर छोप्न अरू जस्तै तराई झरेको हो। वसुन्धराका श्रीमान् परसौनीका डिट्ठा हुनुहुन्थ्यो। परसौनी नेपालको राम्रो उब्जाउ हुने ठाउँमध्येको एक हो।
उहाँको सरकारी पदका कारण परिवारको राम्रै आर्थिक हैसियत बनेको थियो भने जीवन सहज भएको थियो। तर, १९९३ सालमा बडो दुःखान्त आइलाग्यो, र त्यो दुःखान्त चट्याङका रूपमा आयो। वसुन्धराका श्रीमान् चूडामणि उपाध्याय न्यौपाने अन्य १३ जना टोली सदस्य सहित पानी परेको वेला रूखमुनि ओत लाग्नुभएको थियो।
रूखमा चट्याङ पर्यो। सबै जना अचेत भए। तर, चूडामणि भने कहिल्यै ब्युँझनुभएन। आफ्नो १४ वर्षे छोरो लिएर वसुन्धरा घटनास्थल पुग्नुभयो। अन्तिम संस्कार सम्पन्न भयो। उता, चूडामणिका भतिजाले घरमा भएका मूल्यवान् वस्तु र महत्त्वपूर्ण कागजात हात पारे।
जस्तो नेपाली समाजमा हुने गरेको थियो, त्यस्तै भयो। समाजको अन्धविश्वासी औंलाले सारा कुराको दोष तेस्रो व्यक्तिलाई लगायो। महिला बाहेक अरू कसलाई नै त्यस्तो दोष लाग्थ्यो र?
मेरी जिजुआमालाई लोग्नेटोकुवाको आरोप त लाग्यो नै, अवस्था झन् दयनीय त्यतिखेर बन्यो जब परिवारको एक मात्र पुरुष सदस्य, उहाँका छोराको पनि केही समयपछि मृत्यु भयो।
धन्न उहाँका जेठो ज्वाइँ ढुण्डिराज शर्मा जो तिन ताक एक युवा अधिवक्ता हुनुहुन्थ्यो, इलामदेखि आइपुग्नुभयो। र, बिग्रँदो वातावरणलाई सम्हालेर कलैयामा बसोबासको व्यवस्था मिलाउनुभयो। यदि उहाँ नभएको भए मेरी हजुरआमाले आफ्नो सारा सम्पत्ति गुमाउनुपर्थ्यो र समाजमा उहाँको सम्मान र इज्जत पनि गुम्ने थियो।
यस्तो कठिन अवस्थाका बावजूद विधवा वसुन्धरा आफ्नो पतिको अंश लिन र परिवारलाई अघि बढाउन दृढ सङ्कल्पित हुनुहुन्थ्यो। आजको दिनमा पनि अधिकांश नेपाली महिलाले यस्तो आँट गर्न सक्दैनन् होला भन्ने मेरो बुझाइ छ।
केही वर्षपछि वसुन्धराकी १६ वर्षीया छोरी, मेरी हजुरआमा कुसुमकुमारी शर्माको विवाह भयो। तर, उहाँले अनौपचारिक शिक्षा हासिल गरेको कुरा उहाँको श्रीमान्को घरका सदस्यलाई पाच्य भएन। उहाँलाई सात वर्षसम्म माइतमै बस्नुपर्ने अवस्था आइलाग्यो।
त्यस्तो अवस्था आजको दिनमा पनि कैयौं परिवारमा लज्जाको विषय हुने गरेको छ। तर, उहाँ आफ्नी जेठी दिदी तारादेवी शर्माबाट प्रेरित हुनुहुन्थ्यो, जो नेपालको शुरूआती नारीवादी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो। तारादेवी शर्मा त नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना भएपछि गठन भएको मन्त्रिपरिषद्को प्रारूपको ‘सल्लाहकार सभा’ को सदस्य समेत बन्नुभएको थियो। २०१० सालमा उहाँले ‘विवाह व्यवस्था र विवाह सम्बन्धी महिला अधिकारको प्रावधान’ को विधेयक नै प्रस्तुत गर्नुभएको थियो।
यता माइतमा रहेकी मेरी हजुरआमाको उहाँको श्रीमान्सँग ढिलो गरी पुनर्मिलन भयो। हजुरबुबा बालचन्द्र शर्मा नेपाली कांग्रेसका स्थापनाकालीन सदस्य हुनुहुन्थ्यो र हजुरआमाले पनि २०११ सालमा पार्टीको सदस्यता लिनुभएको थियो।
आफूले हासिल गरेको शिक्षाका कारण उहाँलाई सामाजिक सेवामा लाग्न सहज भयो। र, त्यति वेलाको प्रभावशाली पत्रिका युगवाणीमा उहाँले धेरै लेख पनि लेख्नुभएको थियो। नेपालको महिला अधिकारको आन्दोलनमा सक्रिय सहभागी भएपछि उहाँले पछिल्ला दिनमा धेरै कानूनी विभेदको शिकार हुनुपर्यो।
विधवा र बुबाविहीन भए पनि उहाँ सार्वजनिक पदासीन व्यक्तित्वकी श्रीमती हुनुहुन्थ्यो। उहाँ नेपालको राहदानी धारक हुँदाहुँदै पनि आफैंले भने नेपालको नागरिकता पाउनबाट वञ्चित हुनुभयो। उहाँको छोरा, मेरा मामाले नागरिकता पाएपछि मात्र त्यसैको आधारमा उहाँले नागरिकता पाउन सक्नुभयो। यदि उहाँका छोरी मात्र भएको भए त उहाँले त्यो अवसर पनि पाउन सक्ने अवस्था हुन्नथ्यो।
एकल महिलाका रूपमा कमाइ गर्दै बच्चा हुर्काउँदा मेरी आमा कल्पना घिमिरेले पनि त्यस्तै चुनौती बेहोर्नुपर्यो। २०३८ सालमा जब उहाँको वैवाहिक सम्बन्ध टुट्यो, बुबाविहीन र श्रीमान्विहीन, उहाँलाई पनि सम्पत्तिको अधिकारबाट बेदखल गरियो।
त्यो वेला एउटी छोरीको आमाका रूपमा मेरी आमाले श्रीमान्को सम्पत्तिबाट पाएको भनेको विवाह खर्च बापतको ३० हजार रुपैयाँ मात्र थियो। र, अर्को विवाह भएपछि त उहाँले सम्पत्तिको अधिकारमा कुनै दाबी विरोध गर्नै नपाउने प्रावधान थियो।
धन्न उहाँ शिक्षित र दृढ आत्मविश्वासी हुनुहुन्थ्यो। उहाँलाई आमाको भरथेग पनि थियो। उहाँले काम पनि गर्नुभयो। मलाई हुर्काउनुभयो। समाजमा इज्जत पनि हासिल गर्नुभयो। उहाँका लागि अर्को ठूलो चुनौती भनेको २०५४ सालमा मेरो लागि नागरिकता उपलब्ध गराउनु थियो।
जब कुनै पनि उपायले काम गरेन, तब उहाँले काठमाडौंकी प्रमुख जिल्ला अधिकारी उषा नेपाललाई सम्पर्क गरेर आफ्नो समस्या प्रस्तुत गर्नुभयो। अनि प्रजिअ नेपालको व्यक्तिगत प्रयास र दृढताले मात्र सारा समस्याहरू पाखा लागे र मैले नागरिकता पाउन सकें। मेरी आमाका आमा र उहाँकी पनि आमाले जस्तै मेरी आमाले पनि सामाजिक विभेद र संस्थागत असमानताको सामना गर्नुपर्यो। त्यो विभेद अरू कारणले होइन, महिला भएको कारणले मात्रै गरिएको थियो।
मैले यो काम गरिरहँदा धेरैले किन अनागरिकबारे चिन्ता लिइरहेको भनेर सोध्थे। त्यसको उत्तर के हो भने- म आफैंले राष्ट्रबाट बारम्बार बहिष्कार भोगेकी छु। मेरी आमाले मलाई नागरिकता दिलाउन गरेको सङ्घर्ष र सरकारी प्रक्रिया र संयन्त्रले सबैतिरबाट अस्वीकार र तिस्कार गर्दाको पीडा शायदै भुल्न सकिन्छ। के यो मैले बिर्सिनुपर्ने विषय हो? कि म जस्तै अरूले विभेद र पीडा नपाऊन् भनेर निकासका लागि प्रयास गर्नुनपर्ने विषय हो?
आजसम्म मलाई बबरमहलमा रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालय छिर्न पर्दा मन त्रासले ढुकढुक हुन्छ। कुनै पनि सरकारी कार्यालयमा कागजपत्र बनाउन जान मलाई बडो चिन्ता र डर लाग्छ।
भिसा विनाको जन्म
सरकारी कार्यालयप्रतिको मेरो पहिलो तीतो अनुभव २०६९ सालमा भएको थियो, जब म नेपाल फर्केर आएपछि पहिलो पटक कालिकास्थानमा रहेको अध्यागमन विभागमा मेरा श्रीमान्को भिसा लिन गएकी थिएँ। त्यहाँ मलाई के सल्लाह दिइयो भने, मैले माइतमा बस्नु न्यायपूर्ण हुँदैन र मैले मेरो श्रीमान्को घर जानुपर्छ, त्यही बस्नुपर्छ र त्यो घरपरिवारको हेरविचार गर्नुपर्छ, किनभने अब त्यो नै मेरो घर हो।
मलाई के लाग्यो भने हामी २१औं शताब्दीको विश्वव्यापी युगमा पुगिसके पनि प्रशासनिक संयन्त्रमा सनातनी ‘कन्यादान’ लाई अझै गम्भीर रूपमा लिइने रहेछ। नेपाल एकीकरण भएको दुई शताब्दी भइसके पनि देशको पुरुषप्रधान सोच भने अझै पुरातन नै रहेछ।
अध्यागमन विभागमा दिइएको सल्लाह त के नै थियो र! मैले त्योभन्दा नराम्रा दिनको सामना जो गर्नुपर्यो, जब २०७३ सालमा हाम्रो परिवारमा नयाँ सदस्य थपियो। मलाई आफ्नो आधा-फ्रान्सेली शिशु नेपालमै जन्मियोस् भन्ने चाहना थियो, ताकि उसको जन्मभूमि नेपाल होस्। यद्यपि, उसले नेपाली नागरिकता त पाउन सक्ने अवस्था थिएन र अझै पनि छैन, किनभने नेपालको कानूनले आमाको नामबाट सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरेको छैन।
जब मैले आफ्नो आधा-फ्रान्सेली र आधा-नेपाली शिशुको जन्मदर्ता गर्न के के गर्नुपर्ने हो भनी बुझ्न अध्यागमन विभाग गएँ, मलाई के भनियो भने, फ्रेन्च नागरिकका रूपमा मेरो सन्तान नेपालमा भिसा विना रहेकाले मैले १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ!
नेपाली आमाको कोखबाट नेपालमै जन्मिएको भए पनि नेपालको कानून अनुसार के देखियो भने, शिशुले महँगो जरिवाना तिर्नुपर्नेछ, किनभने ऊसँग भिसा छैन। के कसैले पनि जन्मँदै भिसा लिएर आउँछ?
सामान्य अवस्था हुन्थ्यो भने मैले आफ्नो पक्षमा तर्क राख्न सक्थें। अवस्थाको अवगत गराएर जरिवाना मिनाह गराउन प्रयासरत हुन्थें हुँला। तर, आईभीएफ मार्फत गर्भ रहेको र सुत्केरी हुँदा अपरेशन गर्नुपरेकाले म शारीरिक रूपले गलित थिएँ। तर, मलाई के कुराले चिथोरिरह्यो भने नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले जन्माएको सन्तानले नेपाली नागरिकता सहित सबै राजनीतिक अधिकार पाउन सक्ने प्रावधान रहेछ। तर, यता मेरो सन्तानको हकमा भने उसकी आमा महिला भएका कारणले मात्र विभेद भएको रहेछ।
विशेषाधिकार प्राप्त ‘उच्च’ जातको पहाडी परिवारका मेरा नारी पुर्खा र म आफैंले के भोगें भन्ने कुरालाई ध्यान दिंदा यस देशका दलित समुदाय तथा जनजाति समुदायका महिला र एकल महिलाले कस्तो विभेद र बहिष्करणको अनुभव गर्नु परिरहेको होला भन्ने कुराको म कल्पना गर्न पनि सक्दिनँ।
राज्यले महिलालाई शक्तिशाली पदमा राखे जस्तो मात्र गर्छ, दयापूर्वक टोकन दिए जस्तो मात्र! पाकिस्तानी लेखिका फातिमा भुट्टोको भनाइ उद्धृत गर्ने हो भने, कुनै पनि समाज वा राष्ट्रमा महिलाको स्थिति कस्तो छ भन्ने कुराको मूल्याङ्कन शक्तिको घेरो बाहिर रहेको महिलाको आधारमा गरिनुपर्छ।
राज्यले अख्तियार गरेको लैङ्गिक विभेदका कारणले मात्र नेपालमा नागरिकताविहीनको सङ्ख्या ४० लाखको हाराहारीमा छ। यसका अन्य कारण पनि होलान्, तर तीमध्ये मुख्य कारण त लैङ्गिक विभेद नै हो।
एशियामा मलेशिया बाहेक नेपाल विश्वका ती २६ देशमा पर्छ, जसले आमाको नामबाट सन्तानलाई नागरिकता प्रदान गर्दैन। ती देशहरू बहराइन, बारबाडोस, लिबिया, ओमन, साउदी अरेयिबा, सुडान, सुरिनाम, सिरिया, टोगो, संयुक्त अरब इमिरेट्स र अन्य हुन्।
अनुसन्धानकर्मी आभा लालको तर्क छ- पृथ्वीनारायण शाहको ऐतिहासिक विरासत नेपालको दुई ढुङ्गाबीचको तरुल भन्ने परिचायक नै हामी के होइनौं भन्ने खालको छ, हामी भारतीय होइनौं, हामी तिब्बती होइनौं। यो नेपालको राजनीतिक कथनको अन्तरमा गढेको छ र यसैले हाम्रो आधुनिक परिचय र अस्तित्वले समस्या सिर्जना गरिरहेको छ।
मानव बेचबिखनको डरमा महिलालाई विदेश जान र काम गर्नबाट रोक्ने ‘यात्रा प्रतिबन्ध’ को नियम लगाइन्छ, तर तिनलाई देशभित्रै कसरी रोजगारी दिन सकिन्छ भन्ने सोचिन्न। चितवनको एउटा गाउँपालिकाले घरमा दुई वर्षभन्दा सानो शिशु भएको अवस्थामा आमालाई वैदेशिक रोजगारमा जानबाट प्रतिबन्ध लगाएको छ।
सरकारको हेलचेक्र्याइँले पनि महिलाहरू नै पीडित हुनुपरेको छ। अध्यागमन कार्यालयले महिला विरुद्ध धेरै भेदभावपूर्ण नियम लागू गरिरहेको देखिरहेका छौं।
दिन प्रतिदिन नेपाली महिलाले पितृसत्तात्मक सोचले जरा गाडेको नेपाली समाजमा सामाजिक तथा सांस्कृतिक विभेद विरुद्ध लड्नु परिरहेको छ। आज हामीले हाम्रा आमा वा हजुरआमाहरूले जस्तो विभेद झेल्नुपरेको छैन, तर नेपालको राज्य संयन्त्रले लैङ्गिक विभेदलाई संस्थागत गरेको छ भन्ने यथार्थ सबैको लागि लज्जाको विषय हो।
के हाम्रा संवैधानिक प्रावधानहरू, लोकतान्त्रिक मूल्य-मान्यता देखावटी मात्र हुन्? यस्तो प्रतिगामी मानसिकता लिएर हामीले कसरी संसारसँग कुममा कुम जोड्दै हिंड्न सकौंला यस आधुनिक विश्वमा?
यो लेख नेपाली टाइम्सबाट भावानुवाद गरिएको हो।