काठमाडौं महानगरद्वारा वसन्तपुरमा राति राति संरचना निर्माण
पुरातत्त्व विभागको निर्देशन विपरीत काठमाडौं महानगरपालिकाले राति राति वसन्तपुर डबलीमा जथाभावी भौतिक संरचना निर्माण गरेको छ।
गत महीना काठमाडौं महानगरले हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र रहेको हनुमानढोका दरबार परिसरको वसन्तपुर डबलीमा संरचना बनाउन शुरू गरेको थियो। डबलीको खुला प्राङ्गणमा महानगरले ३५ फिट अग्ला आठ वटा झण्डा राख्ने संरचना बनाउन थालेको थियो।
यो विश्व सम्पदा स्थल भएकाले जथाभावी संरचना निर्माण गर्न नहुने पुरातत्त्व विभागले जनाएको थियो। विभागको टोलीले अनुगमनपछि ६ फागुनमा निर्माण कार्य रोक्न महानगरलाई पत्राचार गरेको थियो।
विभागका पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले महानगरलाई पठाएको पत्रमा भनिएको थियो, ‘काठमाडौं उपत्यकाका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न विश्व हेरिटेज कमिटीबाट पटक पटक प्रस्ताव भइरहेको र नेपाल सरकारले अस्वीकार गर्दै आएको वर्तमान परिप्रेक्ष्यमा विना अध्ययन स्थानीय सरकारबाटै गरिने यस्ता कार्यहरू विश्व सम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनको विपरीत हुन जाने भएको हुँदा अविलम्ब उक्त निर्माण कार्य स्थगित गरी यस विभागसँग समन्वय गर्न हुन मिति २०७८/११/६ को विभागीय निर्णय अनुसार अनुरोध गर्दछु।’
विभागको निर्देशनपछि महानगरले निर्माण कार्य रोकेर हरियो जाली लगाएको थियो। स्थानीय बासिन्दा र सम्पदा संरक्षण अभियन्ता पनि ढुक्क भएका थिए।
तर, दिउँसो काम रोकेको महानगरले राति कामदार लगाएर संरचना निर्माण गरेको संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले बताए। “हामी त काम रोकियो भनेर खुशी भएका थियौं, तर महानगरले ११ बजे राति आएर संरचना निर्माण गरेछ,” श्रेष्ठले हिमालखबरसँग भने।
महानगरले डबली क्षेत्रमा संरचना निर्माण गरेको हो। हरियो जाली लगाएको क्षेत्रभित्र एकाएक संरचना तयार भएको देखेपछि स्थानीय बासिन्दा पनि आक्रोशित बनेका छन्।