४० देशको जीवनशैली चिनाउने ३०० कलाकृति
काठमाडौं ट्रिएनालेले संसारका ४० देशका १३० कलाकारले कोरेका तीन सय वटा कलाकृतिलाई काठमाडौंका पाँच स्थानमा अवलोकन गर्ने अवसर जुटाएको छ।
चार महीनाअघिको बिउ छराई। साझ-बिहानको मलजल। केही सातादेखिको नियमित गोडमेल। यति वेला भने हरिया गहुँको बोटबाट पोटिला बाला बाहिर निस्कँदै छन्।
तराईका फाँटमा लहलहाएको बाली जस्तै लाग्ने यो दृश्य काठमाडौंको तारागाउँ सङ्ग्रहालयको प्राङ्गणको हो। जहाँ सिद्धार्थ आर्ट फाउन्डेशनले आयोजना गरेको ‘काठमाडौं ट्रिएनाले’ मा कलाकार सुनिता महर्जनले तयार पारेको क्यानभास छ।
यहाँ परम्परागत क्यानभासमा जस्ताे रङ पोतिएको छैन, गहुँ उमारिएको छ। “रङ, क्यानभास, मूर्ति र सजावटका सामग्रीलाई मात्र कला भन्ने गरिन्छ, तर यस्तो होइन,” कलाकार महर्जन भन्छिन्, “समयचक्रको ज्ञान कुनै मौलिक र जीवन्त तरीकाबाट पस्कनु पनि कला हो।”
उनले सङ्ग्रहालय प्राङ्गणमा सात फिट अग्ला १४ वटा फलामे खम्बामा गमला बनाएकी छन्। जहाँ चार महीनाअघि गहुँको बिउ छरेकी थिइन्। त्यसमै अहिले गहुँका बाला झुल्दै छन्।
महर्जनको यो ‘इन्स्टलेशन आर्ट’ अर्थात् मौलिक कलाको प्रस्तुतिले छुट्टै रौनक दिएको छ। ‘पृथ्वीमाथि, आकाशमुनि’ शीर्षकको प्रर्दशनीले कला भनेको कोठाभित्र सजाउने वस्तु मात्र हाेइन भन्ने सन्देश दिएकाे छ।
२०औं शताब्दीपछि जसरी काठमाडौं उपत्यकामा शहरीकरणको प्रभावले खेतीयोग्य भूमि मासिंदै गयो। उर्बर जमीनमा ठूलठूला भवन ठडिए। खेतीपाती छोड्दै जाँदा खाद्यान्नमा परनिर्भरता बढायो।
त्यसैको सङ्केत गर्दै कलाकार महर्जनले अग्ला खम्बामा गहुँ फलाएकी हुन्। कृषिका लागि उचित हावापानी भए पनि शहरी जीवनशैलीमा भुल्दै गएको वास्तविकता उजागर गरेकी छन्।
त्यस्तै, अर्को प्रयोग गरेका छन्, रामेछापका कलाकार विद्यामान तामाङले। उनको क्यानभासमा रङ र तेल छैन। आफ्नै गाउँबाट ल्याएको माटोमा उनको कलाको सुगन्ध फैलिएको छ।
रामेछापमा जन्मेहुर्केका तामाङका पुर्खा गाउँ छाडेर शहर पसे। विदेशिने युवा पनि फर्केर आएनन्। यही प्रसङ्ग कोट्याउँदै थातथलो छाड्नेहरूलाई झकझकाउन उनले ‘मेमोरिज अफ माई सोइल’ सिर्जना गरेका छन्। जहाँ कीरा-फट्याङ्ग्रा, घाँसे मैदान, काठ, अन्नपात तथा बालीलाई रामेछापबाट ल्याइएको रातो माटोले पोतेको भित्तोमा सजाइएको छ।
कङ्क्रिट भवन र खेतीयोग्य भूमि जसरी प्लटिङमा रूपान्तरण हुँदै जाँदा माटोसँग मानव अस्तित्वको इतिहास भुलाउँदै गएको तामाङको भनाइ छ। “भूमिसँगको हाम्रो पुरानो सम्बन्ध छियाछिया मात्र भएको छैन, कीरा-फट्याङ्ग्रा पनि लोप भइसके,” उनी निराश हुँदै भन्छन्, “जसले गर्दा नयाँ पुस्ताले आफ्नो विगत भुल्छ र माटोसँगको मानव सम्बन्ध बुझ्दैन।”
यही मानवसँगै अन्य जीवजन्तुको पनि पृथ्वीमा अस्तित्व बचाउन आवश्यक छ भन्ने चेत जगाउन यो कला बनाएको उनी बताउँछन्। उनले माटोमाथि काठको बाकसको क्यानभासमा कोदो, तोरी, सर्स्यूं, जुनेलो, फिलिङ्गो, धान फलाएका छन्। जसभित्र लोपोन्मुख विभिन्न कीराको तस्वीर राखिएको छ। “मान्छेले आफ्नो सभ्यता र वातावरण हिजो कस्तो थियो र आज कस्तो हुँदै छ भन्ने बुझ्नुपर्छ,” कलाकार तामाङ भन्छन्, “मानव, माटो र पर्यावरणको सम्बन्ध बिग्रिए कोही रहँदैन।”
यस्तै प्रकृतिसँग बाँच्ने मानवीय शैलीलाई थारू कला मार्फत आट्र्री नेपाल र कलाकार उर्मिला गम्बा थारूले क्यानभासमा उतारेका छन्। “समकालीन कला मात्र कला होइन, मानव सभ्यतासँग जोडिएर युगौंदेखि अभ्यासमा आएको जीवनशैली बुझाउनु पनि कला हो,” उनी भन्छिन्। थारू समुदायले शरीरमा खोप्ने टीका अर्थात ‘ट्याटू’ पनि कला अन्तर्गत नै रहेको उनको भनाइ छ।
आट्र्री नेपाल र कलाकार थारूकाे सहकार्यमा कला तयार भएको कलाकृति पश्चिम तराईका विभिन्न स्थानबाट ल्याइएका हुन्। टीका, गोदाना, चेदना, लीला जस्ता उपनामले चिनिने यो कला थारू महिलाका लागि विशेष महत्त्व राख्ने उनी बताउँछिन्।
ट्याटूका डिजाइन थारू मिथक कथा, कृषि अभ्यास र तराईको वातावरणमा आधारित पनि छन्। यो कलालाई मृत्युपछि आफ्नो आत्मासँग लैजाने सहयात्री भनेर पनि मानिन्छ। टीकाले मातृवंशीय बन्धन कायम राख्ने काम पनि गरेको उनको तर्क छ। थारू समुदायको सांस्कृतिक र परम्परागत कला अभ्यासलाई बचाए प्रकृतिसँगको मानव सम्बन्ध सधैं बाँच्ने कलाकार थारूको विश्लेषण छ।
पाखुरा र खुट्टामा खोपिएका ट्याटूलाई गलत व्याख्या गर्दै थारूलाई अपहेलित गरिंदै आएको पनि थियो। यो त मानव, प्रकृति र कलाको सङ्गम भएको उनी बताउँछिन्। “काठमाडौं ट्रिएनालेमा थारू कला प्रदर्शनीको अवसरले नयाँ पुस्तामा हस्तान्तरण गर्ने मौका मिलेको छ,” उनी भन्छिन्।
काठमाडौं ट्रिएनालेको अर्को प्रदर्शनीस्थल पाटन सङ्ग्रहालयमा ७० वर्षीय चिजा लामाको ‘रुङ ङा’ अर्थात धार्मिक बुटीमा भरिने मन्त्रको नक्शा आकर्षणको केन्द्र बनेको छ। यसले परम्परागत उपचार पद्धति र जनविश्वासलाई देखाउन खोजेको छ। नुवाकोटका कलाकार लामा वैद्य पनि हुन्। उनले हजुरबुबा, बुबा हुँदै २६ वर्षअघि भिक्षुबाट बुटी बनाउन सिकेका थिए।
कलाकार लामाका अनुसार, उनका बुबाको पालामा उपचार गर्ने पद्धति बुटी र मन्त्र हुने गर्थे। खराब सपना, टाउको दुख्ने, निद्रा नलाग्ने र अन्य विभिन्न रोग निर्मूल गर्न यस्ता बुटी बनाइन्थे। जुन उनले पनि गर्दै र बनाउँदै आएका छन्। त्यसमध्ये एक मन्त्र फुकेको चित्र बनाएको बताउँदै लामा भन्छन्, “अब यही काम हाम्रा छोरानातिलाई पनि सिकाउनु छ। संसारलाई चिनाउनु छ।”
पाटन दरबार, पाटन सङ्ग्रहालय, नेपाल कला परिषद्, सिद्धार्थ आर्ट ग्यालरी र तारागाउँ सङ्ग्रहालय गरी पाँच स्थानमा प्रदर्शनीमा राखिएका कलाकृतिमा विदेशी कलाकारको पनि सहभागिता छ। उनीहरूका कलाले पनि मानव इतिहासको खोजी, स्मृति, संरक्षण, समसामयिक विश्वव्यापी कला, आध्यात्मिकता, मिथक प्रस्तुति तथा सामूहिक उत्सव लगायत उल्लासको कथा बोकेका छन्।
त्यस्तै, नेपालका पौभा चित्रकला, पूर्वी एशियाको मसीकला र प्रशान्त महासागरका टापुहरूमा रूखको बोक्राबाट बनेका कपडादेखि संसारभर विभिन्न विधिले शरीर छेदन कला प्रदर्शनमा राखिएका छन्। यी कलाले सीमान्तीकृत परम्परालाई एकै ठाउँ ल्याउन र यसबारे छलफल गर्न सघाएको ट्रिएनालेका सह-क्युरेटर शिलाशा राजभण्डारी बताउँछिन्। “मानव सभ्यताको खोजी मात्र नभई भविष्यको कल्पना पनि गरिएका कलाकारिताले कल्पना क्षमता पनि देखाएको छ,” राजभण्डारी भन्छिन्।
यसैमध्ये एक हो, ‘भविष्य मेरो चुल्ठोमा लुकेको एउटा सुरक्षित ठाउँ हो’ शीर्षकको रोमनियाका कलाकार मिहाएला ड्रगानको कला। उनले यसमा कल्पनाशीलताको उच्च अभ्यास भएको भिडिओ ‘इन्स्टलेशन’ राखेकी छन्।
उनले रोमा संस्कृति, प्रविधि र बोक्सीशास्त्रको चौबाटोमा उभिएर रोमा भविष्यवादको अवधारणा उजागर गरेकी छन्। रोमा बोक्सीका मिथक र पुरानो तन्त्र अद्यावधिक गर्दै आधुनिक जातिवाद विरोधी सङ्कथन सम्बन्धी कवितासँग जोडेर उनले कलामा प्रस्तुत गरेकी छन्।
यस्तै, संसारका ४० देशका १३० जना कलाकारले बनाएका तीन सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा राखिएका हस्तकला, मूर्तिकला, मौलिक र समसामयिक चित्रकला, भिडिओ र इन्स्टलेशन कला आदिले सौन्दर्यशास्त्र तथा ब्रह्माण्डलाई हेर्ने दृष्टिकोणमा फेरबदल ल्याउने आयोजकको विश्वास छ। संसारका विभिन्न स्थान र समुदायबीचको अध्यात्मिकता र त्यसको इतिहास बुझाउने प्रयास भएको सहक्यूरेटर राजभण्डारी बताउँछिन्।
यससँगै विश्वका विभिन्न देश औपनिवेशिक संघर्षबाट उठेर आउँदै गर्दा जन्मिएका आदिवासी कला र ज्ञानमा ट्रिएनाको चासो देखिन्छ। ट्रिएनालेमा प्रदर्शन गरिएका कलामा विश्वभरका सीमान्तीकृत समुदायको एकता देखिने सह-क्यूरेटर हितमान गुरुङ बताउँछन्। उनी भन्छन्, “प्रतिरोध र क्रान्तिको आवाज गुञ्जायमान छ।”
आफ्नै समुदायमा कला नमानिएको अवस्थामा ट्रिएनालेले स्थान दिनुले लोपोन्मुख कलाको संरक्षण भएको सह-क्यूरेटर राजभण्डारी बताउँछिन्। औपनिवेशिकता, जातीय विभेद, लैङ्गिक विभेदले आफ्नै इतिहास बोल्ने कला मासिंदै गएको बताउँदै उनी भन्छिन्, “यो एउटा हाम्रो प्रयास हो। थप यस्ता विषयलाई अस्तित्वमा ल्याउन अन्य माध्यम सिर्जना गर्न आवश्यक छ।”
पूर्वी एशियाको मसीकला र प्रशान्त महासागर टापुहरूमा रूखको बोक्राबाट बनेका कपडादेखि जनकपुरका रैथाने मिथिला चित्रकारको कलाले संसारभर मानव सभ्यताको विकासक्रम देखाएका छन्। “यिनलाई जोगाउनु नै मानव अस्तित्वको पहिचान गर्नु, दमित आवाजले ठाउँ पाउनु हो,” सह-क्यूरेटर राजभण्डारी भन्छिन्, “प्रदर्शनीले अर्को क्रान्तिकारी आवाज बोकेकामा खुशी छौं।”
हरेक तीन वर्षमा काठमाडौं ट्रिएनाले आयोजना गरिंदै आएको छ। यस पटक १७ फागुनबाट प्रारम्भ भएको काठमाडौं ट्रिएनाले १७ चैतसम्म चल्नेछ।