रुसी आक्रमणबाट बच्न २५ लाख युक्रेनीले छोडे देश
रुसी आक्रमणबाट बच्न २५ लाख नागरिकले युक्रेन छोडेर छिमेकी देशमा आश्रय लिन पुगेका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगका अनुसार शनिबार बिहानसम्म २५ लाख नागरिकले युक्रेन छोडेको जनाएको छ। उनीहरूमध्ये सबैभन्दा धेरै पोल्यान्ड पुगेका छन्। अहिलेसम्म १५ लाख युक्रेनी पोल्यान्ड पुगेका छन्।
यस्तै, हंगेरीमा दुई लाख २५ हजार, स्लोभाकियामा एक लाख ७६ हजार, माल्दोभामा एक लाख पाँच हजार र रोमानियामा ८५ हजार युक्रेनी आश्रय लिइरहेका छन्। यससँगै रुससँग जोडिएको सीमाक्षेत्रबाट एक लाख ६ हजार युक्रेनी रुस पुगेका छन्।
युक्रेन छोडेर दुई लाख ८० हजार नागरिक युरोपियन देशमा पुगेका छन्। उनीहरू कयौं दिन हिडेर छिमेकी पुगेका हुन्।
त्यस्तै, रुसी आक्रमणबाट युक्रेनमा एक हजार ५४६ जना सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ। यो संख्या अझै बढी हुने राष्ट्र संघको आकलन छ।
रुसीले युक्रेनमाथि आक्रमण थालेको दुई साता नाघेको छ। रुसी सेनाले शनिबार बिहानैदेखि फेरि राजधानी किइभ लगायतका शहरमा बमबारी सीएनएनले जनाएको छ। युक्रेनको राजधानी किइभमा बिहानैदेखि ठूलठूला विस्फोटनका आवाज सुनिएको जनाइएको छ।
शुरूआतदेखि नै रुसी सेनाले राजधानी किइभ नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। रुसी आक्रमणबाट बच्न राजधानी किइभका आधाभन्दा बढी नागरिकले शहर छोडेका छन्। उनीहरू छिमेकी शहर तथा देशतिर लागिसकेका छन्।
रुसीले शुक्रबार किइभ बाहेकका प्रमुख शहरमा आक्रमण गरेको थियो। प्रमुख शहर निप्रो, लुत्स्क र चेर्निइभमा मिसाइल आक्रमण गरेको थियो। कार्किइभ, म्यारिपोल, मिकोलेइभ र समी शहरमा भने यसअघि नै रुसी सेना पुगिसकेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुससँगको व्यापार रोकिएको जनाएका छन्। युक्रेनमाथिको आक्रमण रोक्नका लागि दबाब दिइरहेका राष्ट्रपति बाइडेनले रुसले यसको मूल्य चुकाउनुपर्ने बताएका छन्।
अमेरिकी सेना युक्रेनमा नजाने तर अमेरिकाले सहयोग भने गर्ने जनाएका छन्। “हामी युक्रेनमा तेस्रो विश्वयुद्ध लड्न चाहदैनौं,” राष्ट्रपति बाइडेनले भने।
रुसले आक्रमण नरोकेमा अमेरिकाले युक्रेनलाई हतियार सहयोग गर्ने चेतावनी दिएका छन्। यससँगै अमेरिकाले युक्रेनलाई पैसा र खाद्यान्न सहयोग उपब्ध गराउने जनाएका छन्।