‘समानताका सपनाहरू’ सार्वजनिक
नेपाली महिलाका संघर्ष र आशाका कथा रहेको पुस्तक ‘समानताका सपनाहरू’ लोकार्पण गरिएको छ।
फ्रेडरिक एवर्ट स्टिफटुङ नेपालले प्रकाशन गरेको पुस्तकमा विभिन्न लिंग, जातजाती, समुदाय, वर्ग र समूहलाई प्रतिनिधित्व गर्ने १० महिलाको सपनाको कथा समेटिएको छ। पुस्तक लोकार्पण समारोहमा बोल्दै पवित्रा राउतले यसले महिलाको
सपनाको कुरा गरेको बताइन्। “यो पुस्तकले महिलाको सपनाको कुरा गर्छ। लैंगिक अल्पसंख्यकको पहिचानको कुरा गर्छ। महिला भएर मात्र नपुगेका दलित महिला, मुस्लिम महिला, तराई–मधेशका महिला, पहाडकी महिला र हिमाली महिलाका परिचयको भारी बोकेकाहरू एउटा मानव भएर सम्मानपूर्वक बाँच्न स्वतन्त्र क्षितिज भेट्ने उत्साहमा उडान भरेका नालीबेलीको कुरा गर्छ,” उनले भनिन्, “जसले पुरातनवादी सोचलाई प्रश्न गर्छ। अन्यायलाई चुनौती दिन्छ।”
कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता कैलाश राईले नेपालका महिलाले पुस्तौंदेखि आफ्नो सपना हस्तान्तरण गर्दै आएको बताइन्। महिलाका सपना आमाको गर्भमै आकार दिइएको र ती सपनाहरू जन्मने बित्तिकै मारिएका वा हुर्काउँदा उपयुक्त संरचना नदिइएको उनको भनाइ थियो।
त्यस्तै, नेत्री मन्जुकुमारी यादवले देशमा पहिलो राष्ट्रिपति वा न्यायाधीश भए पनि सबै समूहका महिलाका समस्यालाई प्रतिनिधित्व नगरेको बताइन्। उनले राजनीतिक आन्दोलनले गणतन्त्र ल्याए पनि समग्र महिलालाई एकै रुपमा हेरिँदा विभिन्न समुदायका महिला पछाडि नै रहेको बताइन् ।
त्यस्तै, लोकार्पण कार्यक्रममा पुस्तकमा रहेका सपनाहरूको नाटकीय मञ्चन पनि गरिएको थियो।