कोरोना लक्षण नभएका र पूर्ण खोप लगाएका व्यक्तिले पीसीआर टेस्ट गर्न नपर्ने
कोभिड-१९ को लक्षण नभएका र पूर्ण खोप लगाएका व्यक्तिले पीसीआर परीक्षण गर्न नपर्ने भएको छ।
कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य संस्थाहरूले उपचार गर्नुअघि पीसीआर परीक्षण गराउँदै आएका थिए। अब कोरोनाका लक्षण नभएका र पूर्ण खोप लगाएका व्यक्तिलाई पीसीआर परीक्षण अनिवार्य नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना जारी गरी पीसीआर परीक्षण अनिवार्य नगर्न देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दिएका छन्।
सूचनामा भनिएको छ, ‘कोभिड-१९ को संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउनुहुन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८/११/२३ गतेको निर्णयानुसार अनुरोध गरिन्छ।’
कोभिड-१९ विरुद्धको खोप लगाउनको संख्या बढ्दै गएको छ। अहिलेसम्म एक करोड ८६ लाख ३ हजार ४५४ जनाले पहिलो डोज र एक करोड ८३ लाख ५२ हजार १२१ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।
त्यस्तै, १५ लाख ९२ हजार १७७ जनाले बुस्टर डोज लगाएका छन्। खोप लगाउने क्रम जारी रहेको छ।