वैदेशिक रोजगारीको पीडाले डिप्रेशनदेखि आत्महत्यासम्म
वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारमा देखिएको तनावले मनोसामाजिक समस्या बढ्दा ज्यानै जाने घटना बढिरहेका छन्।
परिवारमा आम्दानीको स्रोत नभएपछि झापाको भद्रपुर-१ का अञ्जन दास (२४) साढे दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गए। कतारको मजदुरीले परिवारको आर्थिक अवस्था त सुध्रिएन बरु उनकै ज्यान लियो। “केही कमाउला भनेर कतार पठाएको थियौं। कमाइ त भएन, छोरा नै गुमायौं,” उनका बुवा नरेन्द्र भन्छन्।
नरेन्द्र खेतीपाती गर्छन्। वर्षभरी खेती मजदुरी गर्दा पनि पाँच जनाको परिवार पाल्न सकस हुन्थ्यो। आमाबुवाको दुःख तथा दुई वर्षीया छोरीको भविष्यका लागि भन्दै उनी विदेशिएका थिए।
साढे दुई वर्षअघि पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा उनले कतारमा सफारी कम्पनीमा काम पाएका थिए। गाडीमा सामान लोड गर्ने र घर तथा कार्यालयमा पुर्याउने दैनिकी थियो। नेपालमा म्यानपावर कम्पनीलाई एक लाख ३० हजार बुझाएर मासिक एक हजार कतारी रियाल तलब पाउने आशामा उनी कतार पुगेका थिए।
म्यानपावर कम्पनीले भने अनुसार, तलब नपाएको उनका बुवा नरेन्द्र गुनासो गर्छन्। ऋण तिर्नुपर्ने भएपछि काम गर्नै पर्यो। जसोतसो डेढ वर्ष कतार बसेर गत ४ मंसीरमा घर आएका थिए। कतारको कामसँग खासै सन्तुष्ट थिएनन्।
१ माघमा फेरि कतार फर्किए। “घरबाट गएको एक महीना मात्रै भएको थियो, मृत्यु भएको खबर आयो,” उनका बुवा नरेन्द्र भन्छन्। एक महीनासम्म त परिवारजनले पत्याउन सकेका थिएनन्। १३ फागुनमा शव आएपछि भने परिवार शोकबाट उम्किन सकेको छैन।
अञ्जनलाई कतार पठाउन नरेन्द्रले म्यानपावर कम्पनीलाई बुझाउन ऋण निकाले थिए। त्यो रकम तिर्न सकेका छैनन्। ३६ प्रतिशत ब्याजमा निकालेको ऋणको साँवा बुझाइसकेको भए पनि ब्याज बाफतको एक लाख रुपैयाँ तिर्न बाँकी रहेको उनी बताउँछन्। “अहिलेसम्म कतैबाट केही सहयोग पाएको छैन, छोराले काम गर्ने कतारको कम्पनीले क्षतिपूर्ति दिएको छैन,” उनी भन्छन्।
एकातिर ऋण कसरी तिर्ने भन्ने चिन्ता, अर्कोतिर अञ्जन गुमाउनुको पीडाबाट दास परिवार उम्किन सकेको छैन। अझ मृत्युको प्रमाणपत्र देखेर अञ्जनको परिवार स्तब्ध छ। उनको मृत्युको प्रमाणपत्रमा झुण्डिएर आत्महत्या गरेको उल्लेख छ। “छोराले किन आत्महत्या गर्यो होला र!,” उनका बाबु आश्चर्य मान्दै भन्छन्।
अञ्जन जस्तै वैदेशिक रोजगारीका क्रममा आत्महत्या गर्ने मजदुरको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १४० जना कामदारको आत्महत्याका कारण ज्यान गएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार सन् २००८/९ देखि २०१८/१९ सम्म आत्महत्याका कारण कतारमा ८७ जनाले ज्यान गुमाएका छन्। धेरै नेपाली रोजगारीमा जाने मलेशियामा २४० र साउदी अरेबियामा १०२ जनाले आत्महत्या गरेको तथ्यांक छ। यो १० वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका ८९३ जना श्रमिकले आत्महत्या गरेका छन्।
बढ्दो आत्महत्या, सरकारी वेवास्ता
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयले २०७५ मा प्रकाशित गरेको स्मारिका अनुसार वैदेशिक रोजागरीमा गएका श्रमिकमा आत्महत्याको समस्या बढ्दै गइरहेको छ। यससँगै डिप्रेसनको समस्या पनि बढ्दै गएको देखिएको छ।
त्यस्तै, नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० ले नेपाली आप्रवासी श्रमिकमा बढ्दो आत्महत्याको कारण खोजी गर्न आवश्यक भएको औल्याएको छ। यससँगै आत्महत्यामा आर्थिक तथा मानसिक तनावको भूमिका रहेको जनाइएको छ। “रोजगार कोटा आफ्नो पक्षमा पार्नका लागि अधिकांश इजाजतप्राप्त संस्थाबीच हुने गरेको अस्वस्थ प्रतिस्पर्धाले श्रमिकको छनोट शुल्क र पारिश्रमिकमा असर परेको छ,” प्रतिवेदनमा भनिएको छ, “यस्ता अस्वस्थ प्रतिस्पर्धाले वैदेशिक रोजगारमा जाने श्रमिकको छनोट शुल्क र पारिश्रमिकमा अप्रत्यक्ष रुपमा आर्थिक तथा मानसिक तनाव पर्न गएको देखिन्छ।”
श्रमिकको मानसिक तथा शारीरिक समस्याबारे प्रायः सम्बन्धित देशका नेपाली दूतावास बेखवर छन्। सरकारी अध्ययनले पनि श्रमिकको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने देखाएको छ। १९ चैत २०७४ मा गठित एक अध्ययन समितिले श्रमिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र उनीहरुलाई परामर्श दिन प्रत्येक दूतावासमा कम्तिमा एक जना स्वास्थ्य सहचारी राख्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सुझाव दिएको थियो।
समितिले २३ जेठ, २०७५ मा श्रम मन्त्रालयमा बुझाएको प्रतिवेदनमा ५० हजारभन्दा बढी कामदार भएका मुलुकमा स्वास्थ्य सहचारी वा स्वास्थ्यकर्मी राख्न सुझाएको थियो। तर, तीन वर्ष बितिसक्दा पनि सरकारले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन।
मानसिक समस्यामा बालबालिका
वैदेशिक रोजगारीमा रहेका श्रमिकसँगै उनीहरूका परिवारजन पनि मनोसाजिक समस्या झेल्दै आएका छन्। विशेषगरी अभिभावक गुमाएका बालकालिकामा प्रत्यक्ष असर परिरहेको छ। धनुषाको घोड़घास गाउँको कृपाल मण्डलको परिवार यसको उदारहण हो।
वैदेशिक रोजगारीका क्रममा नगराइन नगरपालिका-९, घोड़घास गाउँका कृपालको मृत्युपछि परिवार बिचल्लीमा परेको छ। वृद्ध आमाबुवासँगै पाँच छोराछोरीको जिम्मेवारी कृपालकी पत्नी मञ्जुकुमारी देवी मण्डलले लिनुपरेको छ। उनको परिवारसँग खेतवारी पनि छैन। कृपालमै निर्भर परिवारलाई दैनिकी चलाउन मुस्किल भएको छ।
अझ चार वर्षे छोरालाई थालासेमिया अर्थात प्रत्येक महीना रगत दिनुपर्ने रोगले सताएको छ। कृपालको मृत्युपछि छोराछोरीको कसरी स्याहारसुसार गर्ने भन्ने चिन्ता बढेको बताउँदै उनी भन्छिन्, “अब छोराको उपचार, पढाई र छोरीको विवाह खर्च कसरी जुटाउनु?” उनका बालबालिकाको विचल्ली भएको छ।
वैदेशिक रोजगारीका क्रममा श्रमिकले ज्यान गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको मनोसामाजिक समस्यालाई सम्बोधन गर्न सरकारले ध्यान दिन सकेको छैन। ‘वैदेशिक रोजगारीले बालबालिकामा परेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन, २०७६’ ले वैदेशिक रोजगारीमा गएका अभिभावकका बालबालिकाको मनोसामाजिक अवस्था जोखिममा रहेको देखाएको छ। ‘मनोसामाजिक परामर्शमा उनीहरूको पहुँच शून्य प्रायः छ,’ प्रतिवेदनमा भनिएको छ, ‘समग्रमा भन्दा विभागीय मन्त्रालय, संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र वैदेशिक रोजगारको बृहत नीति तथा कार्यक्रममा बालबालिका, दाम्पत्य जीवन र परिवारको विषय प्राथमिकतामा छैन।’
तनाव बोकेर स्वदेश फिर्ता
वैदेशिक रोजगारीमा काम गर्दागर्दै मानोसामाजिक स्वास्थ्य समस्या देखिन थालेपछि कतिपय कामदार स्वदेश फर्किने गरेका छन्। सिन्धुली कमलामाई नगरपालिकाका खेमबहादुर (नाम परिवर्तन)ले १० वर्ष कतारमा रोजगारी गरे। साढे दुई वर्षअघि घर फर्केका उनी मानसिक समस्यासँग जुधिरहेका छन्।
कतारमा फेब्रिकेटको काम गर्थे। कतारमा निर्माण भइरहेको रंगशालाका लागि चाहिने सामान बनाउँथे। आफू कार्यरत कम्पनीभित्रै बसेर रंगशालामा प्रयोग हुने टावरका लागि चाहिने सामग्री बनाउथे। काम गर्दागर्दै डर लाग्ने समस्या देखिन थाल्यो। मुटुको धड्कन बढेको महसुश भयो।
काम गर्न गाह्रो भएपछि नेपाल फर्किए। नेपालमा छँदा सामान्य भएपछि फेरि कतार उडे। त्यहाँ पुगेको २३औं दिनमा फेरि उहिँ समस्या देखिएको उनी बताउँछन्। कतारमा उपचार त गरे, तर सुधार आएन। काम गर्नै नसक्ने भएपछि घर फर्किएका उनी भन्छन्, “अहिले काठमाडौंको ओम अस्पतालमार्फत उपचार गराइरहेको छु।”
उनले चिकित्सकको सल्लाहअनुसार, औषधि सेवन गरिरहेका छन्। “उपचारपछि केही निको त भएको छ, तर कहिलेकाँही पुरानै समस्या देखिन्छ,” उनी भन्छन्।
एकातिर उपचार चलिरहेको छ, अर्कातिर ६ जना परिवारको जिम्मेवारी छ। तर, आम्दानीको स्रोत बन्द भएको छ। पूर्ण रुपमा निको नभए पनि उनी काठमाडौंमा निर्माण सम्बन्धी काम गरिरहेको बताउँछन्। तर, सरकारी स्तरबाट मनोपरामर्श सेवा पाएका छैनन्।
यसरी वैदेशिक रोजगारीका क्रममा काम गर्दागर्दै तनावका कारण आत्महत्या गर्ने, कामदारको मृत्युपछि परिवारको बिचल्ली हुने र काम गरेर फर्किएका कामदार तथा उनीहरूको परिवारमा मनोसामाजिक समस्याले ठूलो रुप लिइरहेको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले गरेको एक अध्ययन अनुसार स्थानीय स्तरमा कामको अभाव र न्यून ज्यालाका कारण त्यस क्षेत्रबाट कामको खोजीमा विदेशीनेहरु धेरै छन्। विदेश जाँदा मानव बेचबिखन र श्रम शोषणमा पर्ने गरेका छन्। यसरी मानव बेचविखन र श्रम शोषणमा परेका श्रमिक मानसिक समस्याबाट प्रभावित हुने गरेका छन्।
स्थानीय स्तरमा अधिकांश व्यक्तिले ऋण लिनुको प्रमुख कारण वैदेशिक रोजगारी भएको अध्ययनले देखाएको छ। उनीहरूलाई 'ऋण तिर्नुपर्ने छ' भन्ने मानसिक दवाव हुने गरेको छ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाको तथ्यांकले पनि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारमा मनोसामाजिक स्वास्थ्य समस्या रहेको पाइएको छ। सामीले वैदेशिक रोजगारीका कारण सिर्जना भएका मनोसामाजिक समस्यालाई समाधान वा न्यूनिकरण गर्न मनोसामाजिक परामर्श दिने गरेको छ। सामीले ३१ भदौ २०७५ देखि २९ माघ २०७८ सम्म ३८ जिल्लामा १५१ जना परामर्शदाता मार्फत चार हजार ७३१ जनालाई मनोपरामर्श सेवा दिएको छ।
यो तथ्यांकले पनि विदेशबाट फर्किएका कामदार र वैदेशिक रोजगारीका क्रममा रहेका व्यक्तिको परिवारका सदस्यमा रहेको मनोसामाजिक स्वास्थ्य समस्याको अवस्था दर्शाउने सामीले जनाएको छ। पछिल्ला वर्षमा यसरी मनोसामाजिक समस्या देखिएपछि परामर्श लिनेको संख्या पनि बढ्दै गएको देखिन्छ।
यस्तै, सीएमसीले पश्चिम नेपालका पाँच जिल्ला नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र दाङमा संकलन गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७/७८ मा ४५९ जना वैदेशिक रोजगारीबाट फर्किएका कामदार र उनीहरूको परिवारका सदस्यमा मनोसामाजिक समस्या देखिएको थियो। यस्तै, चालु आर्थिक वर्षको माघसम्म ३४१ जनामा समस्या पाइएको छ। पाँच जिल्लाका मनोसामाजिक समस्या देखिएका अधिकांश व्यक्तिमा एन्जाइटी, डिप्रेसन र आत्महत्याको जोखिम रहेको पाइएको छ।
सन् २०२० मा प्रकाशित ‘नेपाली आप्रवासी कामदार र उनीहरूका परिवारको मानसिक स्वास्थ्य’ समस्या नामक एक अध्ययनले विदेशिएका कामदारका पत्नी र आमामा एन्जाइटी, डिप्रेसन र आत्महत्या गर्ने सोच आउने जस्ता समस्या रहेको देखाएको छ। अध्ययनले वैदेशिक रोजगारीबाट फर्केका ९५ जनामध्ये ५३ जनामा एन्जाइटी, २२ जनामा डिप्रेसन, ६ जनामा आत्महत्या गर्ने सोच रहेको पाएको थियो। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका परिवारका ६४२ सदस्यमध्ये ३७६ मा एन्जाइटी, १६६ मा डिप्रेसन, ४४ मा आत्महत्या गर्ने सोच आएको तथा आत्महत्याको प्रयास गरेको जस्ता समस्या रहेको देखिएको छ।
श्रम सम्झौतामा उल्लेख गरिएभन्दा धेरै समय काम लगाउने, न्यून तलब, अवैध स्थिति, धम्की र शारीरिक यातना जस्ता कारणले कामदारमा मनोसामाजिक समस्या बढ्ने गरेको अध्ययनले देखाएको छ। वैदेशिक रोजगारीले कामदार र उनीहरूको परिवारमा मानसिक स्वास्थ्य समस्या बढाउन भूमिका खेलको पाइएको सिएमएसीको सामी परियोजनाका लागि मनोसामाजिक परामर्श कार्यक्रम संयोजक स्मृती घिमिरे बताउँछिन्। “वैदेशिक रोजगारीले परिवारमा बिग्रह ल्याउँदा कतिपय परिवारका सदस्य छुट्टिएर बस्नु परेका कारण बालबालिकाको हेरचाह, वृद्धिविकास र उनीहरूको मानसिकतामा असर परेको छ,” घिमिरे भन्छिन्।
वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारमा चिन्ताको समस्यादेखि आत्महत्या गर्ने प्रयासका घटना बढी नै पाइएको उनी बताउँछिन्। “वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई ‘कमाउन नसकेर फर्केको’ भन्ने जस्ता लान्छना लाग्ने गरेकाले शुरूआतमा एन्जाईटी र पछि समस्या बढ्दै गएर आत्महत्या गर्ने सोच आउने गरेको पाइएको छ,” संयोजक घिमिरे भन्छिन्, “श्रीमान् विदेश गएपछि महिलाको चरित्रको विषयलाई लिएर लान्छना लगाउँदा आत्महत्या गर्न बाध्य भएका घटना पनि भेटिएका छन्।”
उनी स्वदेश फर्किएका कामदार र वैदेशिक रोजगारीका क्रममा कार्यरत कामदारको परिवारमा देखिएको मानसिक समस्या कम गर्न परामर्श सेवालाई विस्तार र प्रभावकारी बनाउनु पर्ने, सेवाग्राहीलाई उक्त परामर्श सेवा उपलब्ध भएको बारेमा जानकारी दिनुपर्ने बताउँछिन्। “अझै मानसिक स्वास्थ्यबारे धेरैमा सचेतना नै छैन,” उनी भन्छिन्। त्यसैले मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण विषय भएको भन्ने बारेमा चेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको उनको भनाइ छ।
समाजशास्त्री गणेश गुरुङ भूकम्प र कोरोनाभाइरस महामारीले रोजगारी गुमाएका कारण र बिरामी परेकाले जीवनयापनमा कठिनाई हुँदा मनोसाजिक समस्या बढाएको बताउँछन्। “मनोसामाजिक समस्यालाई न्यूनिकरण गर्न कामदारलाई वैदेशिक रोजगारीमा जानुअघि नै परामर्श दिनु अत्यावश्यक हुन्छ,” गुरुङ भन्छन्, “वैदेशिक रोजगारीमा जानुअघि कामदारलाई दिइने परामर्श सम्बन्धी पाठ्यक्रममा भविष्यमा निम्तिन सक्ने समस्याबारे जानकारी दिने विषय समावेश गर्नुपर्छ।”