एमसीसीको ग्लोबल टेन्डरमा प्रतिस्पर्धा गर्न नेपाली निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामार्फत बन्ने विद्युत प्रसारण लाइन निर्माणको ठेक्कामा प्रतिस्पर्धा गर्न नेपाली निर्माण व्यवसायीलाई आह्वान गरेका छन्।
शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ग्लोबल टेन्डरमा भाग लिन आग्रह गरेका हुन्।
“एमसीसीमा ग्लोबल टेन्डर हुन्छ। नेपालका तपाईहरू (निर्माण व्यावसायी) ले पनि हिम्मत गरे हुन्छ,” प्रधानमन्त्री देउवाले भने, “एमसीसीको बिडिङमा सफल हुनुहोस्। सबभन्दा बढी म खुशी हुनेछु।”
प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताका विषयमा भ्रममा नपर्न आग्रह गरे। उनले यसमा छिमेकी देशका निर्माण व्यावसायीले पनि प्रतिस्पर्धा गर्न सक्ने बताए।
प्रधानमन्त्री देउवाले भने, “यसमा संसारका जुनसुकै मुलुक पनि आउनसक्छन्। चीनका होस्, भारतको होस वा नेपालकै किन नहुन, अरु हुनसक्छन्।”