बीपीको पर्चा लेखनबाट जन्मिएका लेखक कृष्णविक्रम
भारत प्रवासनमा रहेको वेला बीपी कोइरालाले पर्चा लेख्न सिकाएसँगै लेखनतिर लागेका कृष्णविक्रम नेम्वाङ यतिवेला भने एशियाकै प्राचीन इतिहासमा डुबेका छन्।
भारत प्रवासनमा रहँदा २०२६ सालतिर बीपी कोइरालाले एक दिन कृष्णविक्रम नेम्बाङलाई सोधे, ‘तिमी त फिल्डमा काम गर्ने मान्छे, पर्चा लेख्नुपर्छ। तिमीलाई पर्चा लेख्न आउँछ?’
कृष्णविक्रमले जवाफ दिए, ‘अहिलेसम्म लेखेको छैन। तर, लेख्ने हो भने आउला।’
त्यतिवेलै बीपीले एउटा पर्चा लेख्न लगाए। कृष्णविक्रमले पनि त्यहि एउटा सन्दर्भमा पर्चा लेखे।
बीपीले हेर्ने बितिक्कै भने, ‘यो त भएन।’
पाँच दशकअघि एउटा पर्चा पनि लेख्न नसकेका कृष्णविक्रमले अहिले पाँच वटा पुस्तक लेखिसकेका छन्। एशियाको प्राचीन इतिहासका जानकार कृष्णविक्रम ८० वर्षको उमेरमा पनि दैनिक लेख-पढ गर्छन्। एउटा लेख लेख्न पनि दर्जनौं पुस्तक पढ्छन्।
यो उमेरमा पनि नियमित अध्ययनमा तल्लीन उनको दैनिकी झन् रोचक छ। बिहान मर्निवाकमा निस्कने उनी तातोपानी, चिया तथा फलफूल सेवनपछि लेख-पढमा जुट्छन्। अध्ययनमा एकाग्रता र लेखपढमै समय व्यतीत गर्ने जीवनशैलीले नै उनलाई बृहत् ज्ञानको भण्डार बनाएको छ।
आठ छोराछोरी र सात नातिनानिती भए पनि उनी भने ललितपुरस्थित धोलाहिटीको घरमा एक्लै बस्छन्। कान्छी छोरी अर्पणाले हरेक बिहान ११ बजेतिर तिखेदेओलबाट भोजन ल्याउनछिन्। केहीबेरको खानपिनपछि फेरि लेखपढमै जम्छन्।
रेडियो सुन्ने, टीभी हेर्ने बानी छैन। सामाजिक सञ्जालमा चहार्ने त कुरै भएन्। धेरै भेटघाटमा पनि जाँदैनन्। सम्बन्ध जीवित राख्न मोबाइलबाटै साथीभाइ तथा इष्टमित्रसँग कुराकानी गर्छन्।
फेरि साँझ ६ बजेतिर छोरी अर्पणाले खानेकुरा ल्याउँछिन्। सुख्खा रोटी र तरकारी खाएपछि साँझ ७ बजे एफएमबाट समाचार सुन्दै निदाउँछन्। राति समयमै सुत्ने उनी बिहान भने सबेरै उठेर फेरि उही लेखपढमा जुट्छन्।
प्रायः इतिहासबारे नै लेख्छन्। एउटा लेख तयार गर्न चार-पाँच महीना लाग्ने गरेको उनी बताउँछन्। त्यसका लागि २० देखि ५० हजार रुपैयाँसम्मका सन्दर्भ सामग्री किन्छन्। केही महीनाअघि एउटा लेखका लागि लन्डनबाट पुस्तक झिकाएका थिए। जर्ज एल. भान ड्रिअमको ‘इथ्नोलिङ्गुइस्टिक प्रिहिस्ट्री’ पुस्तकको ११९ पाउन्ड स्ट्रलिङ (रु. १९ हजार) परेको थियो। सन् २०२१ मा प्रकाशित यो पुस्तकमा दक्षिण र दक्षिण पूर्वि एशियामा बोलिने भाषाका आधारमा जातजातिको फैलावटबारे चर्चा गरिएको छ।
चुपचाप अध्ययनमा तल्लिन उनीसँग भेटघाट गराउने अवसर मदन पुरस्कार प्राप्त भगिराज इङ्नामको कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’ले जुटाएको हो। किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयमा यस पुस्तकमाथि टिप्पणी गर्दा नै उनले तानेका थिए। त्यसपछि मानवशास्त्री तथा मुन्धुमविद् डीबी आङबुङले उनका बारेमा झन् विस्तृत जानकारी दिए।
त्यसपछिका नियमित भेटघाटले अझ निकट बनायो। दुई महीनाअघि उनको प्रकाशोन्मुख पुस्तकको पाण्डुलिपि अध्ययन गर्दा झन् प्रभावित भए। प्राचिन सिन्धघाटी सभ्यताको उदय र अन्त्यदेखि २००७ सालमा मुक्तिको अर्कोे प्रयास र लिम्बुवान लगायतका सन्दर्भ पुस्तकमा समेटिएका छन्।
यहि दौरान उनका अघिल्ला चार वटा पुस्तक पनि पढें। जुन राजनीति गर्ने र नेपालको इतिहासप्रति उत्सुकता राख्नेका निम्ति महत्त्वपूर्ण कोसेली हुन्। यी सबै जानकारीले लाग्यो- कृष्णविक्रम इतिहास पढ्न-लेख्नै जन्मेका व्यक्ति हुन्।
उनको विगत भने बेग्लै छ। देशमा परिवर्तन ल्याउन बन्दुक बोकेर हिडेका योद्धा हुन्। युवावस्था देश र जनताका लागि संघर्षमै बिताएका उनी पछिल्लो केही दशयकता भने इतिहास केलाउँदै आएका छन्।
हतियार खोस्ने त्यो एक्शन
पाँचथर थुमको पौवा गाउँमा जन्मिएका कृष्णविक्रमले प्राथमिक शिक्षा इलाममा पढेका हुन्। म्याट्रिकको अध्ययनका लागि भने भारतको दार्जिलिङ गए। त्यहाँ सेन्ट रोबर्ट्स स्कुलमा भर्ना भए। शुरूआतमा चिनजानको मान्छेको घरमा बसेका उनले पछि होटलमै बसेर अध्ययन गरे। तीन-चार वर्षको दार्जिलिङ बसाइले उनलाई समाज बुझ्न सघायो।
दार्जिलिङ बसाइले नेपाली समाज पिछडिएकै अवस्थामा रहेका महसुस भयो। राजनीतिक व्यवस्था राम्रो भएकाले नै दार्जिलिङको समाज अगाडि रहेको उनले अनुभूत गरे। २०१७ सालमा राजाले बीपी कोइरालाको सरकार अपदस्त गरेर पञ्चायती व्यवस्था लागू गरे। उनलाई लाग्यो- देशको शासन व्यवस्था अझ खराब हुनेभयो।
त्यतिवेला, विद्यार्थी संगठित हुने संगठन नेपाल स्टुडेन्ट फेडेरेसन थियो। त्यसमा आबद्ध विशेष गरेर कर्मचारी, सेना तथा प्रहारीको उच्च ओहोदा बस्ने व्यक्तिका छोराछोरीबाट राजाको कदमलाई मौन सहमति जनाइरहेका थिए। उनलाई मन परेन। दार्जिलिङमा आयोजित विरोधसभामा सहभागी भएर राजाको कदमको विरोधमा भाषण गरे। त्यही भाषणबाट उनी राजनीतिसँग जोडिए।
पञ्चायती व्यवस्था शुरू भएपछि नेताहरू भारततिर लागे। त्यतिवेला इलामका सांसद कृष्णबहादुर भट्टराई दार्जिलिङ पुगेका थिए। उनैबाट कृष्णविक्रमले नेपाली कांग्रेसको प्रारम्भिक सदस्यता लिए।
बीपी सरकारका उप-प्रधानमन्त्री सुवर्ण शम्शेर भने १ पुसअघि नै कलकत्ता पुगेका थिए। त्यसपछि कांग्रेसले भारतबाट विद्यार्थीलाई आ-आफ्नो क्षेत्र पठाउने निधो गर्यो। विद्यार्थी पर्चा, पम्प्लेट बोकेर गाउँगाउँ पुगे। उनी पनि गाउँ फर्किए।
सुवर्ण शम्शेरले पटनामा सम्मेलन गरे। त्यो सम्मेलनले देशभर सशस्त्र संघर्ष गर्ने निधो गर्यो। त्यसवेला कृष्णविक्रम पाँचथरमा थिए। भूविक्रम र कृष्णविक्रम नेम्बाङ प्रमुख तथा उपप्रमुख भएको एक एक्सन कमिटी बन्यो। त्यसमा पूर्व सैनिक, शिकारी र गोठालालाई सामेल गरे। त्यो दस्ता कांग्रेसले सर्कुलर गरेको ‘एक कमिटी, एक एक्शन’ अवधारणाकै रुप थियो।
कृष्णविक्रमले त्यतिवेलाका गतिविधिबारे ‘सत्र सालको क्रान्तिको सम्झना’ पुस्तकमा विस्तृतरुपमा लेखेका छन्। २०७१ सालमा प्रकाशित यो पुस्तकमा प्रहरी टोली हतियार सहित सुकियाको जंगलहुँदै अर्कोतिर जाँदै गरेको सूचना पाएको उल्लेख गरेका छन्। र, कृष्णविक्रमको नेतृत्वमा हतियार खोस्ने योजना बन्यो।
दिउँसो १२ बजेतिर जंगलमा हिडिरहेको अवस्थामा एक्कासी चारैतिरबाट प्रहरी टोलीलाई घेरा हालियो। प्रहरीले सम्हालिन नै भ्याएनन्। हतियार फालेर हात उठाए। चार थान राईफल कब्जा गरी प्रहरीलाई आन्दोलनबारे जानकारी दिएर छाडियो। त्यतिवेला राईफलसहित ३०-४० थान बन्दुक जम्मा गरिएको उनी बताउँछन्।
कृष्णविक्रमलाई बन्दुक चलाउन आउथ्यो। दार्जिलिङमा छँदा भारतको नेशनल क्याडेट कर्प्स (एनसीसी) मा आवद्ध भएका थिए। त्यतिवेला भारतमा अर्धसैनिक बल उत्पादन गर्न युवालाई एनसीसीमा संगठित गरिन्थ्यो। उनले त्यही एनसीसीमा राईफल चलाउन सिकेका थिए। त्यसैले उनी अरूलाई पनि बन्दुक चलाउन सिकाउँथे।
चतुरेहाटबाट प्रक्राउ परेपछि...
कांग्रेसले शुरू गरेको आन्दोलन दबाउन राजाले सेना परिचालन गर्यो। केही ठाउँमा प्रहरीलाई कब्जामा लिएका कांग्रेसका लडाकु दस्ताले सेनासँग लड्न सकेन। पक्राउ पर्नबाट जोगिन भारत जान थाले। कृष्णविक्रम पनि दार्जिलिङ पुगे।
पूर्वी नेपालका कार्यकर्ता त्यहीं भेला भएका थिए। भेलाले आन्दोलनको समीक्षा गर्दै पर्चापम्प्लेट छापेर वितरण गर्ने तय गर्यो। त्यसपछि कृष्णविक्रमले दार्जिलिङबाट एउटा हाते मेशिन किने। त्यसलाई सारतापस्थित कर्णबहादुर नेम्बाङको घरमा सुरक्षित राखियो।
उनी पाँचथरको सिलौटी आइपुग्दा कांग्रेस कार्यकर्ता पक्राउ गर्ने हल्ला फिजिएको थियो। त्यस्तो अवस्थामा पनि कांग्रेस विरोध कार्यक्रम गरिरहेको थियो। बुर्जा मगर गाउँको मास्तिर इम्बुङको चौरी पाखामा चतुरदशी तिथिमा चतुरेहाट लाग्थ्यो। त्यहाँ कार्यक्रम गर्ने तय भयो। त्यहि कार्यक्रममा भाषण गर्न जाँदै गरेका कृष्णविक्रम र भरखरै पूर्णकालीन कार्यकर्ता भएका धोबीनाथ नेम्वाङलाई ११ जेठ, २०१८ मा सादा पोशाकमा आएका शाही सेनाले पक्राउ गरे। दिनभर हिडाएर दुवै जनालाई जोरसालको सैनिक क्याम्पमा पुर्याइयो।
उनलाई मार्ने हुन कि भन्ने डर थियो। तर, सेनाले केही गरेनन्। भोलिपल्ट प्रहरी टोलीले लग्यो। तीन दिन हिडाएर छातेढुङ्गा, आठराई हुँदै धनकुटा पुर्याइयो।
डेढ वर्षको जेल बसाइका क्रममा उनको स्वास्थ्य बिग्रिँदै गयो। जेलमा कोचाकोच थियो। उनलाई धनकुटाको सीमित क्षेत्रमा मात्र हिंडडुल गर्न पाउने र दैनिक बडाहाकिमको कार्यालयमा हाजिर हुनेगरी रिहा गरियो। अलि पछि दुई महीनामा एक पटक हाजिर हुने तय भयो।
५ मंसीर, २०१९ मा राजा महेन्द्रले देशलाई १४ अञ्चलर ७५ जिल्लामा विभाजन गरे। त्यसअघि ३२ जिल्ला थिए। इलाम छुट्टै जिल्ला भयो। र, कृष्णविक्रमको मुद्दा धनकुटाबाट इलाम स्थानान्तर गरियो।
त्यतिवेला मेची अञ्चलको अञ्चलाधीश पूर्णसिंह खवास (ठाकुर) थिए। उनी २००७ सालको मुक्ति सेना हुँदै नेपाल प्रहरीको प्रमुख बनेका थिए। २०१३ देखि २०१४ सम्म प्रहरी महानिरीक्षक बनेका उनी पछि अञ्चलाधीश भएका थिए। उनी आन्दोलनकारीप्रति नरम थिए।
कृष्णविक्रमको मुद्दा राजद्रोहको थियो। यस्ता मुद्दामा त्यतिवेला अदालतबाट नभई अञ्चलाधीश, न्यायाधीश र मालको हाकिमले संयुक्त रुपमा हेर्थे। त्यस्तो इजलाशलाई ‘ट्राइब्युनल’ भनिन्थ्यो। पूर्णबहादुरका कारण कृष्णविक्रमको मुद्दा कुनै दण्डजरिबानाविना नै ढिसमिस भयो।
जेलमुक्त भएपछि उनले २०२० सालमा ताप्लेजुङको सिनामकी भिमकुमारी थेबेसँग बिबाह गरे।
बीपीको संगत
राजनीतिबाटै उनले बीपी कोइरालासँग संगत गर्न पाए। २०७३ मा प्रकाशित उनको ‘स्मृतिमा बीपी र आन्दोलन’ पुस्तकमा यसबारे विस्तृत चर्चा गरिएको छ।
१४ कात्तिक, २०२५ मा बीपी जेलमुक्त भए। त्यसपछि विराटनगर पुगेका उनले त्यहाँको आमसभालाई सम्बोधन गरे। भाबी क्रान्तिको खाका तयार गरेर उनी २ फागुन, २०२५ मा भारत निर्वासनमा गए। सशस्त्र आन्दोलन आवश्यक रहेको निश्कर्ष निकाल्दै बीपीले त्यसमा जोडिन आह्वान पनि गरे।
त्यही वेला लिम्बुवानबाट भूविक्रम नेम्बाङ, नरेन्द्रविक्रम नेम्बाङ, रामबहादुर प्रसाई, गणेशबहादुर प्रसाई, मछिन्द्र केरुङ, देवानदोर्जे थिङ आदिसँगै कृष्णविक्रम पनि भारत पुगे। बीपीसँग कृष्णविक्रमको पहिलो भेट २०२६ सालमा सिलिगुढीको सलुजा होटलमा भयो। पूर्वबाट भारत पुगेकाहरू विशेषत सिलगुरीको नक्सालबारीमा बस्थे। बीपी पनि नक्सालबारी आवातजावत गरिरहन्थे।
त्यसै क्रममा कांग्रेसले कृष्णविक्रमलाई नक्सालबारीबाट बनारसस्थित सारनाथमा पार्टी हाईकमान्डसँग सम्पर्क गर्ने जिम्मा दियो। उनी महीनामा एक-दुई पटक सारनाथ पुग्थे। जसले गर्दा बीपीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर पाए। उनले धेरैपल्ट एकान्तमा बीपीसँग कुराकानी गरे। यसबारे उनले ‘स्मृतिमा बीपी आन्दोलन’ पुस्तकमा उल्लेख गरेका छन्।
कृष्णविक्रमले बीपीलाई जति पटक भेट्दा पनि एक असल शिक्षक र अभिभावकका रुपमा पाए। उनले नबुझेको कुरा बीपीले बुझाउथे। अध्ययन गर्न सुझाउथे। कृष्णविक्रममा आज जेजस्तो पढ्ने बानी बसेको छ, त्यो बीपीकै प्रेरणाबाट प्राप्त भएको बताउँछन्।
एक पटक बीपी कोइरालाले कृष्णविक्रमलाई सोधे, ‘तिमी त फिल्डमा काम गर्ने मान्छे, पर्चा लेख्नुपर्छ। तिमीलाई पर्चा लेख्न आउँछ?’
कृष्णविक्रमले जवाफ दिए, ‘अहिलेसम्म लेखेको छैन। तर, लेख्ने हो भने आउला।’
त्यतिवेलै बीपीले एउटा पर्चा लेख्न लगाए। कृष्णविक्रमले पनि त्यहि एउटा सन्दर्भमा पर्चा लेखे।
बीपीले हेर्ने बितिक्कै भने, ‘यो त भएन।’
कृष्णविक्रम ट्वाल्ल परे। त्यसपछि बीपीले थपे, ‘पर्चा सधै जनताले बुझ्ने अति सरल भाषामा लेखिनुपर्छ। जे भन्न खोजिएको हो, त्यो कुरा स्पष्ट डाइरेक्ट लेख्नुपर्छ। घुमाईफिराई लेख्नु हुदैन।’
त्यसपछि कृष्णविक्रमले धेरै पर्चा लेखे। अहिले पनि जब लेख्न बस्छन, उनै बीपीलाई सम्झिन्छन्। बीपीको त्यहि बोली कानमा गुञ्जिन्छ, ‘लेखिने कुरा साधारण भाकामा तर डाइरेक्ट लेख्नुपर्छ।’
राजनीति छोडेर लेखन
कृष्णविक्रमलाई २०४६ पछि पार्टीमा सक्रिय भएर बसिरहन मन परेन। किनकि, सोचेन अनुसार कांग्रेसले काम गरेन। झापाको कलबल गढी पुगेका वेला गिरिजाप्रसाद कोइरालालाई पार्टीमा काम गर्न रुची नभएको बताए। तर, कोराइलाले मानेनन्। उनले ‘पार्टीमा धेरै कुरा मिलाउनु छ, अनुभवी र इमान्दार कार्यकर्ताले निस्कृय बस्न मिल्दैन’ भनेर सम्झाए।
त्यसपछि उनले अध्ययनतिर समय दिन थाले। २०५९ सालमा कांग्रेस विभाजन भएपछि त उनी पाँचथरबाट काठमाडौं आए। कसैलाई केही नभनी राजनीतिमा निस्कृय हुँदै गए भने अध्ययनमा समय बढाए।
बीपीपछि उनको बढी हिमखिम भएका नेता कांग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला थिए। उनलाई भेट्न घरमै आउथे। साधारण जीवनयापन गरिरहेका उनलाई भेट्न कोइराला आएको देख्दा छिमेकीले भन्थे, ‘यो मान्छेलाई भेट्न त प्रधानमन्त्री आउँछन्।’ तर, उनी भने कहिल्यै प्रधानमन्त्री भेट्न बालुवाटार गएनन्।
उनी इतिहाससँगै मानव विकास, समाज विकास, भूगोलको पनि राम्रो ज्ञान भएका व्यक्ति हुन्। सिन्धु सभ्यता, गाङ्गेय सभ्यतालगायत ऋग्वेद, यजुर्वेद, अथर्ववेद, सामवेदबारे सूक्ष्म जानकारी राख्छन्।
कृष्णविक्रमको पाँचौं पुस्तक ‘इतिहास पहिचान’ हो। यसमा उनले इतिहाससम्बन्धी नयाँ कुरा लेखेका छन्। नेपालको इतिहास भनेको विशेषत: काठमाडौं खाल्डोको इतिहास हो। राजाहरूको इतिहास हो। राणाहरूको इतिहास हो। हिन्दू धर्मलाई केन्द्रमा राखेर लेखिएको इतिहास हो। यस अर्थमा कृष्णविक्रम लिखित ‘इतिहास पहिचान’ भिन्न छ।