ओलीलाई आयोगको जवाफ- मतगणना गर्न सजिलोका लागि हरियो रङ
मतगणना गर्न सजिलो हुने भएकाले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णयको विरोध गरेका थिए। नेपाली कांग्रेसको चुनाव चिह्न रुखसँग मिल्ने गरी हरियो रङ प्रयोग गर्ने निर्णय गरिएको ओलीको आरोप थियो।
त्यसको जवाफ दिँदै आयोगले यसलाई नितान्त प्राविधिक विषय भएको जनाएको छ। बिहीबार आयोगले पत्रकार सम्मेलन गरी मतपत्रमा प्रयोग हुने रङको विषयमा प्रष्टिकरण दिएको हो।
आयोगका सहयाक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, “मत गणना गर्न सजिलो हुने भएकाले हरियो रङ प्रयोग गर्ने निर्णय गरेका हौं।”
यसअघिका निर्वाचनमा देशभरबाट आएका सुझावका आधारमा यो निर्णय गरिएको उनको भनाइ थियो। “यो नितान्त प्राविधिक विषय हो,” अर्यालले भने, “मतदान गर्ने स्वस्तिकमा निलो मसी हुन्छ, त्यसैले मतपत्रमा हरियो रङ प्रयोग गरिहेको हो।”
निर्वाचन आयोगले स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको थियो।