गोसाइँकुण्ड मेला शुरु, ५ हजार यात्रु आउने
गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला मंगलबारदेखि शुरु भएको छ ।
गोसाइँकुण्ड समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा रहेको धार्मिक एवं पौराणिक महत्वको तीर्थस्थल हो ।
२९ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वको विशेष मेलाका लागि भक्तजन निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
गोसाइँकुण्डमा स्नान र पूजाआराधना गर्नाले भगवान् शिवको आशीर्वादबाट सबै भक्तजनको मनोकांक्षा पूरा हुने र अन्जानमा गरेका सबै पाप मोक्ष हुने धार्मिक मान्यता रहिआएको छ ।
दशहरा पर्वमा पाँच हजार यात्रुको आगमन हुने लक्ष्य राखिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताएका छन् ।
आउने यात्रुका लागि स्थानीय व्यवसायीमार्फत बास र भोजनको यथेष्ट व्यवस्था मिलाई सकिएकाले निर्धक्कसाथ आउन क्षेत्र विकास समितिले यात्रुलाई आग्रह गरेको छ ।
चन्दनबारीका होटल व्यवसायी पासाङ घिर्मी तामाङले धार्मिक मार्गअन्तर्गत देउरालीदेखि चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्मका सबै होटलमा खाद्यान्न भण्डारण भइसकेकाले यहाँका व्यवसायी यात्रुमाझ सेवा दिन आतुर रहेको बताए ।
गोसाइँकुण्ड आउने भक्तजनका लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाइसकिएको जिल्ला प्रहरी प्रमुख भागेन्द्रपुरूष ढकालले बताए ।
यात्रुलाई कुनै समस्या भएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयको टेलिफोन नं ०१०–५४०१९९ वा १०० मा फोन गर्न आग्रह गरिएको जानकारी दिए ।
लौरीका लागि निगालो मात्र प्रयोग गर्न र गोसाइँकुण्ड तथा धार्मिक मार्गका भूभागमा जथाभावी फोहोर नफ्याँक्न सबै यात्रुलाई आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको छ ।