प्रदेश २ मा कमिशनको गुनासो बढी
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले दुई नम्बर प्रदेश सरकारले कमिशन नलिई कुनै पनि काम नगर्ने गुनासो आएको बताएका छन्।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दत्तले दुई नम्बर प्रदेशका सबै जिल्लामा गरिएको अन्तरक्रियामा यस्तो गुनासो आएको बताए।
विराटनगरका विभिन्न ठाउँ र मोरङको रंगेलीमा अन्तरक्रिया गर्दा प्रदेश १ मा भने कमिशनको गुनासो नआएको उनले बताए ।
उनका अनुसार, २ नम्बर प्रदेशमा साइकल वितरणमा भ्रष्टाचार हुने गरेको, सवारी साधन खरिदमा समेत अत्यधिक खर्च हुने गरेको छ ।
“बाल विवाह, छुवाछुत र साक्षरतामा २ भन्दा १ नम्बर प्रदेश अगाडि छ”, अध्यक्ष दत्तले भने।
प्रदेश १ मा मानिसको जीवनस्तर अत्यधिक माथि र अत्यधिक तल भए पनि २ नम्बरमा भने धेरै अन्तर नरहेको उनको भनाइ छ ।
“प्रदेश १ मा रोजगारीको अवसर राम्रो छ, २ नम्बरमा रोजगारीको अवस्था भयावह छ”, अध्यक्ष दत्तले भने, “प्रदेश २ मा वडा अध्यक्ष जित्न रु १ करोडसम्म खर्च गरेको र प्रदेश १ मा १२ लाखसम्म खर्च गरेको सुनियो ।”
मधेशीको समस्या बुझ्न आयोग गठन भएको ७४ औं दिनसम्ममा आयोगले ६७ वटा कार्यक्रम सञ्चालन गरेको बताउँदै उनले मोरङमा मात्रै ८ वटा अन्तरक्रिया गरिसकेको बताए ।
मधेशका जिल्लामा जातीय विभेद अत्यधिक रहेको अध्यक्ष दत्तले बताए ।