अमेरिकामा अमेजनकाे जागीर छोडेर नेपालमा दराज सम्हालिरहेकी आँचलको अदम्य आँट
अमेजन कम्पनीको जागिर छोडेर अमेरिकाबाट फर्किएकी आँचल कुँवर अनलाइन किनमेल बजार दराजलाई त हाँकिरहेकी छन् नै केही फरक र नयाँ काम गर्ने योजना बुनिरहेकी छन्।
काठमाडौंस्थित दराज नेपालको कार्यालयमा कर्मचारीहरू व्यस्त छन्। बैठक कक्षमा मिटिङको तयारी चलिरहेको छ। कार्यकक्षबाट नियालिरहेकी आँचल कुँवर व्यस्त नहुने कुरै भएन।
नेपालको कर्पोरेट क्षेत्र हाँक्ने थोरै महिलामध्ये एक कुँवर तीन महीनादेखि यसरी नै व्यस्त रहँदै आएकी छन्। उनी अनलाइन सपिङ दराजको कार्यकारी प्रमुखको रुपमा कार्यरत छिन्, जुन कम्पनीलाई अहिले चीनको अलिबाबाले किनेको छ।
अमेरिकाको सियाटलमा रहेको अमेजनको कार्यालयमा कार्यरत रहेका वेला उनलाई दराजको कार्यकारी प्रमुखको जागिरको प्रस्ताव आएको थियो। “मैले अमेरिकामा जे गर्न सक्छु, त्यो भन्दा धेरै नेपालमा गर्न सक्छु भन्ने लाग्यो र नेपाल फर्कनु नै प्रभावकारी होला भन्ने ठानेँ,” कुँवर भन्छिन्।
काठमाडौंमा जन्मे-हुर्केकी कुँवर बुवाको जागिरसँगै नेपालको विभिन्न ठाउँमा पुगिन्। विद्यालय शिक्षा सकिएपछि उनी अध्ययनको लागि अमेरिका गइन्। त्यहाँ गणित र अर्थशास्त्रमा स्नातक गरेपछि एमबिए पढ्दापढ्दै कार्लसन ब्यागोनलिट ट्राभलमा काम गर्न थालिन्।
त्यसपछि उनले अमेजनमा काम थालिन्। साँढे पाँच वर्ष अमेजनमा काम गर्दा उनको जिम्मेवारी सौन्दर्य व्यापारलाई व्यवस्थापन गर्नु थियो। र, उनको काम विश्वस्तरमा फैलिएको थियो। त्यसका साथै, स्विडेन, पोल्यान्ड, साउदी अरेबिया र इजिप्टजस्ता नयाँ क्षेत्रमा बजार विस्तार गर्नु पनि उनको जिम्मेवारी थियो।
“काम गरिरहेको चार वर्षजति हुँदा अब यसपछि के गर्ने होला भन्ने लाग्न थालेको थियो,” कुँवर भन्छिन्।
कामअनुसार, पदोन्नति भइरहे पनि उनलाई केही नपुगे जस्तो लागिरहेको थियो। “कर्पोरेट संसारमा काम गर्दै जाँदा पदको बढुवा त भइ नै हाल्थ्यो, तर मलाई आफूभित्र भने के नपुगे जस्तो भइरहेको थियो,” उनी भन्छिन्, “किनभने मलाई थप केही गर्नुपर्छ भन्ने लागिरहेको थियो। त्यो कुरा केही नौलो, केही फरक र अझ पूर्ण हुनुपर्छ भन्ने थियो।”
कोरोनाभाइरसको महामारीका वेला उनलाई गैर-नाफामूलक क्षेत्रमा काम गर्नुपर्छ भन्ने लाग्यो। “महामारीले प्रभावित पारेको वेला मैले आफ्नो सोचलाई केही समय थाँती राखेँ, किनभने तत्कालका लागि गर्नुपर्ने काम धेरै थिए,” उनी सुनाउँछिन्।
जब दराजको प्रस्ताव आयो, उनलाई लाग्यो- कुरो राम्रै हो।
दराज उनको लागि ठ्याक्कै सुहाउँदो ठाउँ थियो, किनभने उनी पनि नेपाली थिइन् र, यसको लक्षित ग्राहक नेपाली नै भएकाले उनले सामाजिक र सांस्कृतिक रुपले समान धारणा पाउन सक्थिन्।
दराजमा उनको प्रवेश र कोरोना महामारीपछि नेपाली ग्राहकले अनलाइन किनमेलमा देखाएको रुचिले बढेको बजारको संयोग एकै समय पर्न गयो। “पक्कै पनि महामारीले ई-कमर्सलाई सहज बनाउन सहयोग गरेको छ,” कुँवर भन्छिन्।
महामारीपछि वयश्कले पनि अनलाइन किनमेल गर्न थालेको उनी बताउँछिन्। “महामारीअघि युवा पुस्ता मात्र अनलाइन किनमेलमा सक्रिय देखिन्थे, महामारीका वेला वयश्कले पनि अनलाइनको सहजता देख्न पाए र अनलाइनमै किनमेल गर्न थाले,” उनी भन्छिन्।
कुँवरले नेपाली बजारले नयाँ प्रविधिलाई शीघ्र नै ग्रहण गर्छ भन्ने कुरामा विश्वस्त छिन्, किनभने उनको भनाइमा नेपाली बजारले ई-भुक्तानीमा देखाएको उत्साह उल्लेख्य छ। गत वर्षसम्म दराजको व्यापारको हिस्सामा १० प्रतिशत मात्र ई-भुक्तानी हुने गरेको थियो भने अहिले त्यो आँकडाले व्यापारको आधा हिस्सा ओगटेको छ।
अमेजनमा हासिल गरेको अनुभवले उनलाई विश्वबजार कसरी सञ्चालन हुन्छ भन्ने अन्तरदृष्टि दिएको छ। अझ विश्वबजारमा हुने कानूनी व्यवधान, सामान र उपकरणको झञ्झटबारे पनि उनी राम्रै जानकार छिन्।
नेपालको ई-कमर्समा केही चुनौती छन्, ती मध्ये एउटा समस्या हाे विक्रेताले आफूले बेच्ने सामानबारे लिने तालिम र अनुभव। जसमा ग्राहकले सोध्ने प्रश्नहरूको उत्तर दिने क्षमतादेखि कसरी प्रभावकारी रुपमा प्रस्तुत हुन सकिन्न भन्नेसम्मका सीप पर्छन्।
नेपाली ई-कमर्सले भोग्ने गरेको अर्को समस्या भनेको यहाँ उपलब्ध नहुने जीपीएस म्यापिङ प्रणाली हो। जसका कारण सामान कहाँ पुर्याउनुपर्ने हो भन्ने थाहा पाउनका लागि ग्राहकलाई फोन गरेरै ठाउँको जानकारी लिनुपर्ने हुन्छ।
“त्यसमाथि नेपालमा राजनीतिक बहानामा अकस्मात् घोषणा गरिने बन्दले अर्को समस्या थप्छ,” कुँवर भन्छिन्।
यससँगै महामारी तथा अन्य कारणले हुने यातायातको अवरोधले पनि कठिनाइ हुने उनको अनुभव छ। “महामारीका कारणले सवारी साधनमा लागू गरिने जोरविजोर प्रणालीले गर्दा पनि व्यवस्थापनमा समस्या थपिन्छ,” कुँवर भन्छिन्, “यी विषय हाम्रो नेपालको ‘विशेषा’ समस्या हुन्, अमेरिकामा त यस्तो कुराको कल्पनै हुन्न।”
तथापि, उनले आशा मारेकी छैनन्। “अमेरिकामा जहाँ मैले काम गरेँ, त्यहाँ परिपक्व रुपमा व्यवसाय सञ्चालन भएको हुन्छ, जहाँ हरेक प्रक्रियाको परिभाषा गरिएको हुन्छ,” उनी भन्छिन्, “नेपालमा त भर्खर ‘स्टार्ट-अप’ सञ्चालन भएको छ। तैपनि अबका केही वर्षमा अहिले अमेजन जुन स्थानमा छ, हामी पनि त्यो स्थानमा पुग्न सक्छौं।”
दराज देशका ४७ शहरमा सञ्चालित छ। अर्को वर्षसम्म यसले आफ्नो सञ्जाललाई ८० शहरमा पुर्याउने लक्ष्य लिएको छ। तर, एक पटकमा एक कदम मात्र बढाउने कुँवरको रणनीति छ, किनभने बजार विस्तार गर्न सरसामानको आपूर्तिको श्रृंखला पनि त सुनिश्चित हुनुपर्यो।
ई-कमर्स फराकिलो पार्न सडक सञ्जालको विकास, अनलाइन भुक्तानीको सहजता, म्यापिङ प्रणालीको विकास आवश्यक छ।
“दुई वर्ष यता हामीले हिँड्न जान्नुअघि नै दौडनु परेको थियो, तर बजार विस्तार गर्न सबै प्रक्रिया ठीकठाक भएको पनि पक्कापक्की गर्नुपर्छ,” उनी भन्छिन्, “अब हाम्रा अकाउन्ट म्यानेजरहरूले रणनीतिमा बढी ध्यान दिनु जरुरी छ र अनि तिनलाई तल्लो तहमा कार्यान्वयनमा लैजानुपर्छ।”
दराज नेपालको कार्यकारी निर्देशकको रुपमा कुँवर बढ्दै गएको नेपालको कर्पोरेट क्षेत्र हाँक्ने महिलाको लहरमा उभिएकी छिन्। उनी यथास्थितिमाथि जहिल्यै प्रश्न गर्नुपर्ने बताउँछिन्। “मैले परिवारभित्र आफ्नो भाइलाई गरिएजस्तै व्यवहार पाएँ,” कुँवर भन्छिन्, “यी कुरा यस्तै हुन् भन्ने ढंगले मैले कहिल्यै सोचिनँ पनि, त्यसरी व्यवहार पनि गरिनँ। मैले यथास्थितिमा जहिल्यै प्रश्न उठाएँ।”
दराजसँग जोडिँदा भने उनले परिवारको जस्तो वातावरण पाइनन्। आफ्नो काममा राम्ररी लाग्न नपाउँदै केही पुरुषले कमजोर बनाउन खोजेको अनुभव संगालेकी छिन्। “मलाई यो कुरा भिन्न हो भन्ने लाग्छ, तर खासमा त्यस्तो होइन,” उनी भन्छिन्, “यस्ता विभेदका अनुभवलाई म आफ्नो व्यवसाय र आफूले गर्न चाहेको कुरामा प्रभाव पर्न दिन्न। यस्ता कुराले मेरो व्यवसाय र मैले देशका लागि गर्न खोजेको कुरामा प्रभाव नपरोस् भन्नेमा सचेत छु।”
कुँवरको ऊर्जा भनेको कडा परिश्रम हो। कुनै पनि व्यक्तिले कामबाट नै आफ्नो परिवेश तथा समाजमा उपस्थिति जनाउने हो भन्ने उनको मान्यता छ। आफ्नो पेशागत काम बाहेक उनी अवसर नपाएका युवालाई कसरी शिक्षा दिन सकिन्छ भन्नेमा पनि गम्भीर छिन् र केही युवा विद्यार्थीलाई सघाइरहेकी पनि छन्।
उनी विद्यार्थीलाई उत्प्रेरणा दिन केन्द्रित हुनुपर्ने ठान्छिन्। किनकि, युवा तथा विद्यार्थीले लेखपढ्को लागि आर्थिक स्रोत पाए पनि आफ्नो सामाजिक परिवेशका कारण ठूलो सपना देख्न सकिराखेका हुँदैनन्। त्यो काम शिक्षित र सक्षम पुस्ताको हो भन्ने उनको बुझाइ छ।
त्यसका लागि दराजमै बसिराख्नुपर्न भन्ने उनलाई लागेको छैन। “नेपालमा केही गर्नुपर्छ भन्ने उत्साहले पनि म फर्किएकी हुँ, र त्यसका लागि दराजमा मात्र सीमित हुनुपर्छ भन्ने छैन,” कुँवर भन्छिन्, “अबको पाँच वर्षमा नेपालमा केही गर्न सक्छु भन्ने विश्वास छ। त्यसका लागि पनि मैले दराज र आफ्नो टिमलाई नयाँ उचाइमा पुर्याउनुपर्नेछ।”
यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्