अखिल क्रान्तिकारीद्वारा शिक्षकमाथि दुर्व्यवहार, कोठाबाट निकालेर मोसो र जुत्ताको माला
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले खोटाङका एक जना शिक्षकलाई सार्वजनिक स्थलमा मोसो दलेर जुत्ताको माला लगाएका छन्।
बुधबार खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई क्रान्तिकारी विद्यार्थीले दुव्र्यवहार गरेका हुन्। उनीहरूले शिक्षकलाई विद्यार्थीकै अगाडी कुर्सीमा बसालेर मोसो दलेर जुत्ताको माला लगाएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार क्रान्तिकारी विद्यार्थीले रोक्सीभञ्ज्याङस्थित कोठाबाट शिक्षकलाई बाहिर निकालेका थिए। त्यसपछि उनीहरुले सडकमा बसालेर मोसो दलेका थिए।
समूहमा आएका उनीहरूले जुत्ताको माला पनि लगाएका हुन्। उनलाई लगाउनका लागि जुत्ताको माला बनाएर ल्याएका थिए। शिक्षकलाई दुव्र्यवहार गर्दा विद्यार्थी, अभिभावक हेरिरहेका थिए।
विद्यालयमा नियमित उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने, पढाउन जाँदा कक्षा कोठामै सुत्ने गरेकाले कारबाही गरिएको क्रान्तिकारीको प्रदेश समिति सदस्य तावेल राईले बताए। “गाउँपालिकामा पटकपटक उजुरीदिएका थियौं, शिक्षा शाखाले उल्टै बचाउ गरेपछि हामीले कारबाही गरेका हौं,” उनले भने।
खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले शिक्षकमाथि दुव्र्यवहार भएको बखर आएको र यस विषयमा बुझिरहेको प्रतिक्रिया दिए। शिक्षक तथा अधिकारीकर्मले विरोध जनाएका छन्। उनीहरूले शिक्षकमाथि दुव्र्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।
उनी आठ वर्षदेखि पञ्चकन्या प्राविमा अध्यापन गराउँदै आएका छन्। केही महीनाअघि उनलाई प्रधानाध्यापकबाट हटाएको थियो।