माथिल्लो त्रिशूली ३ ‘बी’ आयोजनाको प्रगति ५८ प्रतिशत, निर्माण सकिन अझै डेढ वर्ष लाग्ने
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको निर्माण ५८ प्रतिशत सकिएको छ।
कोभिड-१९ महामारीको चपेटामा परेर निर्माणको गति सुस्त भए पनि असोज २०८० (सेप्टेम्बर २०२३) भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड-१९ का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करीब १५ महीना ठप्पप्रायः भएको थियो। २०७७ चैतबाट मात्र काम पुनःसञ्चालन भएकोमा कोभिड-१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता फेरि प्रभावित भएको थियो।
मुख्य सुरुङमा पूर्व अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेकाले निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ। ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी, लिमिटेडले इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह लगायत मुख्य संरचना निर्माण गरिरहेको छ।
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध-सञ्चालक मोहनप्रसाद गौतमले तीन हजार ८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये दुई हजार ८६५ मिटर खनिसकिएको बताए।
चीनसँगका भन्सार नाकाहरू अझै पूर्ण रूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरीद गरिसकेका तथा खरीद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्री ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन अप्ठ्यारो पर्दै आएको छ। केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरण ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि अब छुट्ने तयारीमा रहेको गौतमले बताए।
इन्जिनियरिङ, खरीद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ ‘बी’ ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउनुपर्नेछैन।
माथिल्लो त्रिशूली ३ ‘ए’ को विद्युत्गृहबाट विद्युत् उत्पादन पश्चात् निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ। उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समुन्द्रटार-त्रिशूली ३ ‘बी’ हब प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ।
शेयर बापतको बाँकी रकम छिटै सङ्कलन
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत निष्कासन गरेको शेयर बापतको बाँकी रकम छिटै सङ्कलन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरी प्रति शेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र सङ्कलन गरेको थियो।
जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ ले शेयर बापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयर बापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ।
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर लगानी छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर स्वामित्व रहनेछ।
अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज रु.७८ करोड रहेको छ। आयोजनामा ३० प्रतिशत स्वपूँजी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ।
आयोजनाबाट सुक्खायाममा (मंसीर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसीर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ।