अनुहार विनाका सत्ताधारीहरू
मान्छेका अनुहार नभएका आकृति कस्ता होलान? पाटनको यलमाया केन्द्रमा चलिरहेको प्रदर्शनमा यस्तै फरक कलाकृति हेर्न सकिन्छ।
पाटनको यलमाया केन्द्रमा चलिरहेको कला प्रदर्शनी ‘खोलो २.५’ एउटा आकृतिले सबैको ध्यान तानिरहेको छ। जसको अनुहार त छैन, तैपनि कसको हो भनेर ठम्याउन गाह्रो छैन।
१७ फागुनदेखि शुरू प्रदर्शनीले डेढ दशकअघिको अवस्थामा फर्काउँछ। २०६२–६३ को जनआन्दोलन चर्चित रहेका वेला तत्कालीन राजा ज्ञानेन्द्रले ८ वैशाख, २०६३ मा राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका थिए, ‘जनताको नासो जनतालाई नै फर्काएका छौं।’
त्यसको तीन दिनपछि ११ वैशाखमा प्रतिनिधि सभा पुनःस्थापना गरेका थिए। र, पुनःस्थापित प्रतिनिधि सभाले राजाका अधिकार कटौती गर्यो भने त्यसपछि निर्वाचित संविधान सभाले १५ जेठ २०६५ मा गणतन्त्रको घोषणा गर्यो।
राजा ज्ञानेन्द्रका तिनै घोषणाको वेलाको तस्वीर झल्किने गरी बनाएको कलाकृतिमा भने अनुहार छैन। किन अनुहार छैन? “कुनै पनि शासकले न आफ्नो कामबाट पहिचान बनाए न त जनतालाई सुख दिए,” यो कलाकृतिका सर्जक कलाकार कैलाश के श्रेष्ठ भन्छन्, “त्यसैले हरेक शासकको अनुहार नभएको आकृति बनाएको छु। राजा ज्ञानेन्द्रको मात्रै होइन, त्यसयता सबै शासकको अनुहार नभएको आकृति बनाएको छु।”
पछिल्लो तीन दशकमा थुप्रै पटक सरकार फेरबदल भए, थुप्रै शासक आए–गए, तर जनताको जीवनमा कुनै परिवर्तन नआएको उनी बताउँछन्। जसले गर्दा शासकप्रति उत्पन्न जनताको वितृष्णालाई क्यानभासमा उतार्दै आएको उनको भनाइ छ। ३३ वर्षीय श्रेष्ठको क्यानभासमा तयार भए ‘अनुहार विनाका सत्ताधारीहरू।’ यसलाई उनले ‘फ्यान्टासमल’ नाम दिएका छन्।
तिनैमध्ये एक कलाकृति ‘खोलो २.५’ प्रदर्शनमा सजिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र अघिको घटना’ शीर्षकमा। झट्ट हेर्दा यो पूर्व राजा ज्ञानेन्द्रको आकृति जस्तो लाग्छ। यसलाई त्यतिमै सिमित राख्न नहुने बताउँदै कलाकार श्रेष्ठ भन्छन्, “यो चित्रले ति व्यक्तिहरूलाई इंकित गरेको छ, जो देश हाँक्न भनेर पद र गद्दीमा बसे, तर काम गरेनन्। आराम गरे, उपलब्धिविना वर्षौं बिताए।”
एक दशकदेखि उनी यस्तै चित्र बनाइरहेका छन्। अनुहार त छैन नै रङ पनि उडेको जस्तो देखिन्छ। जनता जीवनमा रुपान्तरण ल्याउन काम गर्न नसकेकाले शासकप्रतिको व्यंग्य पनि भएको उनी बताउँछन्।
उनले बनाएका विभिन्न समयका राष्ट्र प्रमुखका चित्रमा शरीर त देखाएका छन्, तर अनुहार छैन। उनलाई लाग्यो शरीर उस्ताउस्तै भए पनि अनुहार फरक हुन्छ। मान्छेको पहिचानका लागि अनुहार महत्त्वपूर्ण हुन्छ। कर्मले आफ्नो पहिचान बनाउन नसकेका शासकलाई अनुहारमा रङ भर्न नसकेको उनी सुनाउँछन्।
उनले माओवादी सशस्त्र द्वन्द्वलाई पनि कलाकृतिमा उतारेका छन्। उनका बुवा शिक्षक हुन्। बुवाले महीनाको आधा तलब माओवादीलाई बुझाएको सम्झिँदै उनी भन्छन्, “हिजो बुवाको भन्दा आज मेरो अवस्था झन बिग्रदो छ। जनताको अवस्था पनि त्यस्तै छ। त्यहि निराशा कलामा देखिएको हो।”
यससँगै प्रदर्शनीमा २१ कलाकारले बनाएका विभिन्न समयको झल्को दिन कलाकृति पनि सजिएका छन्। सशस्त्र द्वन्द्वको घाउ, माओवादी द्वन्द्वले थपेको पीडा, खोकनामा राज्यले गरेको दमन, परिवर्तित सभ्यता, शहरीकरणले निसासिएको कला र सम्पदाका कलाकृति पनि प्रदर्शनमा देख्न सकिन्छ।
सबै कलाकृतिलाई आकर्षक ढंगले सिगारेर क्युरेटर उजेन नोर्बु गुरुङले प्रदर्शनीमा राखेका हुन्। क्युरेटर गुरुङ भन्छन, “यहाँका कलाकृति हेर्दा देशको वास्तविक चित्र देखिन्छ।”
देशको वेथिति देखाउने गरी कोरिएका चित्रलाई ‘नर्क’ भनेर राखेका छन्। त्यस्तै, भगवानका विभिन्न चित्र पनि राखिएको अर्को कोठालाई उनले ‘स्वर्ग’ नाम दिएका छन्। “स्वर्ग र नर्क अथवा तितो सत्य र सत्य एकै ठाउँमा देखाइएको हो,” क्युरेटर गुरुङ भन्छन्।
प्रदर्शनीमा समावेश भएका कलाकृति आफैंमा उत्कृष्ट हुँदाहुँदै पनि त्यसलाई कहाँ र कसरी राख्ने भन्ने कुरामा गुरुड लामो समयदेखि योजना बनाइरहेका थिए। यकि क्रममा उनले यलमाया केन्द्रको भुइतलामा ६ जना कलाकारको कलाकृतिलाई स्थान दिएका छन्।
प्रवेश गर्ने वितिक्कै दायाँ र बायाँ भित्तामा परम्परागत महत्त्वका कलश, करुवा लगायतका अत्यन्तै कलात्मक कलाकृति छन्, जुन कलाकार टिसा श्रेष्ठले कोरेकी हुन्। उनका अन्य तीन वटा कलाकृतिले उपत्यकामा मनाइने जात्रा र शहरीकरणमा निसासिएको दैनिकलाई देखाइएको छ।
कलाकार कृष्णभक्त श्रेष्ठले बुङमतिको मासिँदै गएको सम्पदा अनि त्यसलाई जगेर्ना गर्नुपर्ने भाव चित्रमार्फत प्रस्फुटन गरेका छन्। पुराना इटामा हलो, जातो, ठेकी, हँसिया, माना, ऐना, सिलौटा र फुटेको इटामा आकार परालको कुन्यूको आकारले किसानका पीडालाई उजागर गरेको छ।
त्यस्तै, कलाकार पृथ्वी श्रेष्ठले केही कलाकृतिलाई मोबाइलको आकारमा प्रस्तुत गरेका छन्। यी स्क्रिनमा मुखौटा लगाएको आकृतिका चित्रहरू छन्। दोहोरो चरित्र भएका मान्छेलाई उनका कलाकृतिले व्यंग्य गरेका छन्। देवीदेवताको मुखुण्डो लगाएको अनुहारभित्र वास्तविकता नदेखिएका पात्रलाई प्रतिविम्वत गरिएको छ।
असिम शाक्यको भिजुअल ग्राफिक्स र टीभी स्क्रिनमाथि भएका कलाकृति नयाँ प्रयोगको रुपमा प्रस्तुत गरिएको छ। यससँगै पौभा चित्रकारहरूको चित्रकला र तिनको सजावटले झनै मनमोहक बनाएको छ, प्रदर्शनीलाई। प्रदर्शनी १ चैतसम्म हेर्न सकिनेछ।