आयोगलाई ओलीको प्रश्न- रूखैरूख देखून् भनेर मतपत्रमा हरियो रङ राख्ने?
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मतपत्रमा प्रयोग हुने रङको विरोध गरेका हुन्। निर्वाचन आयोगले स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको थियो।
हरियो रङ प्रयोग गर्ने निर्णय नेपाली कांग्रेसको पक्षमा हुने ओलीको भनाइ थियो। “मतपत्रका चिह्नमा हरियो चिह्न किन राख्ने? के कारणले राख्ने?” एमाले अध्यक्ष ओलीले भने, “धार्मिक हिसाबले राखिएको हो वा कसैको हरियो चिह्न छ, त्यस हिसाबले राख्ने!”
उनले हरियो रङ प्रयोग गर्न नहुने जिकिर गरे। “केका लागि हरियो राख्ने? कमजोर आँखा हुनेले रूखैरूख देखून् भनेर हरियो राख्ने हो,” ओलीले भने, “हरियो–सरियो हुँदैन, निर्वाचन आयोगले त्रुटि सच्याउनुपर्छ।”
उनले राज्य संयन्त्र एमाले विरुद्ध लागेको आरोप लगाए। न्यायालय, संसद्पछि निर्वाचन आयोगलाई पनि एमाले विरुद्ध प्रयोग गर्न थालिएको उनको भनाइ थियो।