‘संवेदनशील’ गोठे लाटोकोसेरो
करीब दुई शताब्दी अघिदेखि नै नेपाललाई घर बनाएको गोठे लाटोकोसेरो (बार्न आउल) संरक्षणमा जनचेतनासँगै बलियो कानून आवश्यक छ।
लाटोकोसेरोले दिउँसो आँखा देख्दैन भन्ने भनाइ छ । तर, यो पूर्णसत्य होइन । केही प्रजातिका लाटोकोसेरोले दिउँसो मानिस भन्दा राम्ररी देख्न सक्छन् । आँखाभित्र प्रकाश ग्रहण गर्ने रड तथा कोन सेलहरू हुन्छन् । प्रकाश बढी र कम हुँदा क्रमशः यिनै सेलहरूको सहायताबाट वस्तु देखिन्छ ।
धेरैजसो लाटोकोसेरा प्रजातिका आँखामा निशाचर जीवमा पाइने रड सेलहरू प्रशस्त हुने भएकाले रातमा सजिलै देख्न सक्छन् । तर, रङ भने छुट्याउन सक्दैनन् ।
अँध्यारोमा देख्ने जस्तै सुन्ने क्षमता पनि अद्भुत हुने भएकोले लाटोकोसेरो आहाराका लागि धेरैजसो रातमा सक्रिय हुन्छ । दिनमा मस्तले आराम गरेर बस्छ ।
लाटोकोसेरोमध्ये गोठे लाटोकोसेरो (बार्न आउल) अत्यन्त सुन्दर हुन्छ । विदेशमा प्रायः ठूला–ठूला गोठ हुने र प्रायः गोठमै बस्न रुचाउने भएकाले गोठकै नामबाट यसको नाम राखिएको बुझ्न्छि । गाउँघरमा भने यसलाई सेतो लाटोकोसेरो पनि भनिन्छ।
ब्रायन हड्सनले सन् १८२९ मै नेपालमा यो प्रजातिको लाटोकोसेरो पाइने तथ्य पत्ता लगाएका थिए। नेपालमा जम्मा २३ प्रजातिको लाटोकोसेरो पाइन्छ।
यसको मुखाकृति चिह्नरहित सेतो रङको र टेलिभिजनको ‘डिस्कएन्टेना’ जस्तै गोलो हुन्छ। शरीरको तल्लो भाग फिक्का सेतो, सेतो–सेतो, सुनौलो मैलो र माथिल्लो भाग फुस्रो हुन्छ।
विशेष किसिमका सेलहरूका कारण ‘डिस्कएन्टेना’ जस्तो आकृतिमा ठोकिएको आवाज कानतर्फ तरंगित भएर केन्द्रित हुन्छ । अनुहार थेप्चो हुने भएकाले यसमा ‘बाइनाकुलर भिजन’ हुन्छ।
शरीर हल्का र पखेटा विशेष किसिमका प्वाखहरूले बनेका हुनाले यो पक्षी उड्दा आवाज निस्कँदैन । उडेकै बेला पनि आवाज पहिचान गर्न सक्छ । र, रातमा राम्ररी देख्न सक्छ ।
आहाराको अध्ययन
सविता गुरुङ केही वर्षयता गोठे लाटोकोसेरो अनुसन्धानमा जुटेकी छिन् । स्नातकोत्तर अध्ययनमा चार वर्षअघि ‘काठमाडौं उपत्यकामा गोठे लाटोकोसेरोको उपस्थितिमा भू–उपयोगको असर’ शीर्षकमा शोध कार्य गरेकी उनी अहिले ‘स्मल म्यामल्स कन्जरभेसन एण्ड रिसर्च फाउन्डेसन’ र जापानस्थित ‘नागाओ न्याचुरल इन्भायरोमेन्ट फाउन्डेसन’ को वित्तीय सहयोगमा बार्न आउलबारे थप अनुसन्धान गर्दैछिन् ।
यसको विषय छ– काठमाडौं उपत्यकाको शहरीदेखि ग्रामीण क्षेत्रमा गोठे लाटोकोसेरोको आहारा, शिकार प्रजातिको प्रचुरता तथा संरक्षणका चुनौतीको अध्ययन ।
उनको अनुसन्धान यो पक्षीको भोजन पहिचानमा केन्द्रित छ । उनले काठमाडौं उपत्यकाको शहरी, अर्ध–शहरी र ग्रामीण भेगमा भोजन उपलब्धता के कस्तो छ र यसको संरक्षणमा के कस्ता चुनौती हुनसक्छन् भन्ने सन्दर्भमा समेत अध्ययन गरिरहेकी छिन् । यसखाले अध्ययन नेपालमा पहिलो पटक भइरहेको छ ।
पुल्चोक (ललितपुर), च्यामासिं (भक्तपुर), सृजनानगर (भक्तपुर), कीर्तिपुर (काठमाडौं), बज्र–बाराही (ललितपुर) र बालाजु (काठमाडौं) मा गरिएको यो अध्ययन मूलतः यो पक्षीको बसाइ र दोस्रो मुख्य आहारा (मुसा, छुचुन्द्रो) मा केन्द्रित छ ।
गोठे लाटोकोसेरोको मुख्य आहार छुचुन्द्रा, मुसा, स–साना पक्षी तथा कीराहरू हुन् । यसको आमाशयले प्वाँख लगायत टाउको, हाड, दाँत, भुत्ला र कीराको खपटा पचाउन सक्दैन ।
यी अपच पदार्थहरू खाँदिएर झण्डैं बूढीऔंला वा त्योभन्दा ठूलो आकृतिको वस्तुमा परिणत हुन्छ । ती वस्तु आन्द्रातर्फ पस्नुअघि नै भोजननलीबाटै ओकल्छ । ओकलेको वस्तुलाई ‘पेल्लेट्’ भनिन्छ ।
ओकलेको वस्तुको अध्ययनबाट लाटोकोसेरोले खाने बस्तु पत्ता लगाइन्छ । यसका लागि प्रत्येक पेल्लेट्लाई पानीमा भिजाइन्छ र अपच पदार्थहरू छुट्याइन्छ । खप्पर र हाडहरू सोडियम हाइड्रो अक्साइडबाट पखालिन्छ ।
स्तनधारी, चराका हाडहरू र कीराका खपटाहरू विभाजन गरिन्छ । ती वस्तुहरू संग्रहालयमा संग्रहित विभिन्न जन्तुका हाड, खप्पर आदिसँग तुलना गरेर कुन, कुन प्रजातिका हुन् भन्ने पहिचान गरिन्छ ।
छुचुन्द्रोको संहारक
सविता गुरुङले यो लाटोकोसेरोको जम्मा १०८ वटा पेल्लेट् अध्ययन गरिन् । जसमध्ये पहिचान भएका आहारमा मुसा, छुचुन्द्रो, चरा र कीरा क्रमशः १३, ८१, ३ र १ वटा छन् । १० वटा जन्तु भने पहिचान हुन सकेनन् ।
यसले देखाउँछ, यो लाटोकोसेरोले सबैभन्दा बढी साना स्तनधारी प्राणीलाई भोजन बनाउँदो रहेछ । त्यसमा पनि छुचुन्द्रो सबैभन्दा बढी आहारा हुँदोरहेछ । चरा र कीरा विरलै खाँदो रहेछ ।
छुचुन्द्रोमा पनि घर छुचुन्द्रो (सन्कस् म्युरिनस्) मुख्य आहारा रहेछ । घर छुचुन्द्रो मानव बसोबास क्षेत्र, घाँसे चउर, झडीदार वनमा पाइन्छ । यसले मूलतः स–साना कीरा, गड्यौला खान्छ ।
घर छुचुन्द्रोको शरीरबाट निस्कने दुर्गन्धका कारण लाटोकोसेरो र एकाध सर्प प्रजातिले मात्र यसलाई आहारा बनाउँछ । यो छुचुन्द्रोले वर्षमा ४ देखि ८ पटक बच्चा जन्माउँछ । एक पटकमा औसत तीन वटा बच्चा जन्माउने यो जन्तुले अन्न खाइदिंदा घर तथा गोदाम दुर्गन्धित हुन्छ ।
जनसंख्या वृद्धिदर अत्यधिक भएकाले यसलाई विनाशकारी अर्थात् मिचाहा प्रवृत्तिको जन्तु पनि मानिन्छ ।
अनुसन्धान प्रतिवेदनमा बार्न आउलको आहारा छुचुन्द्रो, मुसाको अवस्था थाहा पाउन हिउँद र बर्खा दुवै मौसममा पासो प्रयोग गरिएको थियो। पासोमा परेका जन्तुको नाप, तौल र विवरण लिएर त्यसै ठाउँमा छाडिएका थिए ।
पासोमा ग्रामीण क्षेत्रमा मुसा र शहरी क्षेत्रमा छुचुन्द्रा बढी भेटिए। हिउँदमा भन्दा बर्खामा छुचुन्द्रा बढी पाइए । बर्खामा छुचुन्द्राको प्रजनन् अधिक हुने भएकाले पनि आहारमा वृद्धि भएको हुनसक्छ । गोठे लाटोकोसेरोको प्वाख पानीमा भिज्ने भएकाले पानी परेको बेला यो उड्न सक्दैन ।
छुचुन्द्रो पाइने भएकाले गोठे लाटोकोसेरो मानव बसोबास क्षेत्र नजिक गुँड बनाउन सकिने बूढो, धोद्रे रूख तथा मठमन्दिर छेउ देखिने गर्छ । तर, मानव चापसँगै बसोबास क्षेत्रमा कमी आएकाले गोठे लाटोकोसेरोको संख्या घटिरहेको छ ।
यता पक्षघात जस्ता केही रोगको उपचारमा मासु तथा हाड उपयोगी हुन्छ भन्ने अन्धविश्वासका कारण पनि लाटोकोसेरो र हुचिलको अवैध व्यापार बढ्दो छ । गोठे लाटोकोसेरोको करीब ८० प्रतिशत आहारा घर छुचुन्द्रो हो । त्यसैले छुचुन्द्रो र मुसाको समस्याबाट बच्न पनि यो लाटोकोसेरोको संरक्षण गरिनु जरूरी छ ।
‘न्याशनल रेड लिष्ट अफ नेपाल्स् बर्डस्’ ले गोठे लाटोकोसेरोलाई ‘संवेदनशील’ सूचीमा राखेको छ । सूचीसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले यसको शिकार, बेचबिखन, क्षति पुर्याउनेलाई १५ हजारदेखि ३० हजार रुपैयाँ जरिवाना वा तीनदेखि नौ महीना कैद वा दुवै सजाय तोकेको छ ।
बेलायतमा पनि यो पक्षी मार्नेलाई पाँच हजार पाउण्ड वा ६ महीना कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ । संवेदनशील गोठे लाटोकोसेरो जोगाउन सशक्त जनचेतना र बलियो कानूनी संरचना आवश्यक छ ।