खाली खुट्टा खेलेर राष्ट्रिय टीमको नेतृत्वमा पुगेकी रेनुका
राष्ट्रिय फूटबल टोलीको नेतृत्व गरिरहेकी रेनुका नगरकोटे भन्छिन्, “छोरीले फूटबल खेल्नु हुन्न भन्थे, त्यस्तो होइन रहेछ, बरु छोरीले खेल्न नहुने कुनै खेल छैन।”
खेलाडी उत्पादन गर्ने जिल्लाका नाममा प्रसिद्ध छ रौतहट। त्यहींको चन्द्रपुर नगरपालिकाकी रेनुका नगरकोटे राष्ट्रिय फूटबल टोलीको नेतृत्व गरिरहेकी छन्। ७ नम्बर जर्सीमा देखिने उनले कप्तानसम्म पुग्न धेरै सास्ती खेपेकी छन्। घरपरिवारदेखि समाजसँग जुधेर यो ठाउँमा पुगेकी हुन्।
उनी सानैदेखि फूटबल खेल्न रुचाउँथिन्। तर, परिवारले नै खेल्न रोक लगाएको थियो। त्यसको कारण थियो, समाज। छोरीले फूटबल खेल्नु हुँदैन भन्ने मनोविज्ञान थियो।
अर्को, परिवारको आर्थिक अवस्था पनि कमजोर थियो। बुबाआमाको खेतीकिसानीले घरखर्च चलाउन धौधौ हुन्थ्यो। जेठी दिदीको जागीरले केही राहत दिएको थियो। तर, उनका लागि खेलकूद सामग्री किन्न भन्ने सकिंदैनथ्यो। “जुत्ता किन्न नसक्दा खाली खुट्टाले खेल्थें,” नगरकोटे विगत सम्झिन्छिन्, “जिल्ला बाहिर खेल्न जाँदा पैसा हुँदैनथ्यो।”
चन्द्रपुरकै थुप्रै खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। त्यसले पनि उनलाई फूटबल खेल्ने रुचि जगाउँथ्यो। “घरछेउमै फूटबल मैदान थियो। तर, खेल्न पाइँदैनथ्यो,” उनी भन्छिन्, “छोरीलाई हेर्ने दृष्टिकोण र पारिवारिक समस्याले गर्दा व्यावसायिक रूपमा खेल्न सकेकी थिइनँ।”
आफू फूटबल खेलाडी बन्नुको श्रेय उनी प्रशिक्षक शेरबहादुर दर्लामीलाई दिन्छिन्। रेनुका भन्छिन्, “म यहाँसम्म आइपुग्नुमा मेरो स्वर्गीय गुरु शेरबहादुर दर्लामीको हात छ।
एक पटक फूटबल प्रशिक्षक दर्लामी उनको गाउँमा पुगेका थिए। उनले महिला फूटबल टोली बनाउने अभियान चलाए। दुई-चार जना महिला मात्र देेखिने फूटबल मैदानमा बिस्तारै खेलाडी महिला बढ्न थाले।
त्यही क्रममा उनी रेनुकाको घरमा पनि पुगे। “गाउँका घरघरमा गएर छोरीहरूको नाम टिप्दै जानुभयो,” उनले सम्झिइन्, “हाम्रा आमाबुबालाई सम्झाएर मेरी दिदी मेनुकाको नाम टिप्नुभयो।”
दिदी फूटबल खेल्ने भएपछि परिवारका सबै खुशी थिए, तर मलाई भने दुःख लागेको थियो। किनकि, दिदी खेल्ने भएपछि उनले घरको काम गर्नुपथ्यो। “म त घरबाट भागेर खेल्न जान्थें। जहिले फूटबल खेल्न रुनुपर्थ्यो,” उनी भन्छिन्।
रेनुका सानै भएकीले आमाबुबाले जान दिंदैनथे। “गुरुले घरमै आएर आमाबुबालाई सम्झाउनुभयो। अनि मात्रै खेल्न पाएँ,” उनी भन्छिन्।
त्यति वेला उनी ११ वर्षकी थिइन्। खेल्न त पाइन्, तर खेल्न चाहिने सामग्री थिएनन्। “जुत्ता नहुँदा चप्पल लगाएरै खेल्थें,” उनी भन्छिन्, “कति पटक गुरुले नै जुत्ता किनिदिनुभयो।”
प्रशिक्षक दर्लामीकै सहयोगले फूटबलमा टिकिरहन सकेको उनी बताउँछिन्। “कति वेला जुत्ता किन्ने पैसा हुँदैनथ्यो, खाली खुट्टा खेल्थे,” राष्ट्रिय टोलीकी कप्तान रेनुका भन्छिन्, “आज आफैंले जुत्ता किनेर लगाउन सक्ने भएकी छु। फूटबल खेलेरै गुजारा गर्न सक्ने भएकी छु।”
उनीहरूका ६ दिदीबहिनी थिए। आमाबुबाले खासै गाह्रो नमाने पनि छरछिमेकीका कारण उनीहरूले पीडा झेल्नुपर्थ्यो। “छोरीले खेल्नु हुन्न भन्थे,” रेनुका भन्छिन्, “त्यस्तो होइन रहेछ। बरु छोरीले खेल्न नहुने कुनै खेल छैन।”
अहिले छरछिमेक मात्रै होइन, गाउँठाउँका मान्छेको सोचाइ पनि बदलिएको छ। “छोरीले फूटबल खेलेर केही हुँदैन भन्नेहरू नै प्रसंशा गर्छन्। मेरो नामले घरपरिवारलाई चिन्न थालेका छन्।”
एपीएफकाे प्रेरणा
रेनुकाको गाउँमा राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान अनु लामा पनि खेल्न आउँथिन्। चन्द्रपुरमा सशस्त्र प्रहरीको एपीएफ फूटबल क्लबको मात्रै महिला टोली थियो। उनीहरू खेलेको देखेरै फूटबलप्रति मोह जागेको उनी बताउँछिन्।
“महिला टोली त्यसमाथि खेल्नमा उत्तिकै तेज र अनुशासित देखेर पहिलेदेखि नै एपीएफको टोलीमा जान मन लाग्थ्यो,” अहिले एपीएफबाटै खेलिरहेकी रेनुका भन्छिन्, “गुरुले सोध्दा पनि यही क्लबमा जान्छु भनेकी थिएँ।”
कम बोल्ने स्वभावकी उनलाई बोल्न पनि डर हुन्थ्यो। सानो खेलाडीलाई ठूलाले हेप्ने चलन जस्तै थियो। अझ राष्ट्रिय टोलीमा छनोट हुन नै मुश्किल हुन्थ्यो। अझ त्यति वेला सुनिन्थ्यो, राष्ट्रिय टोलीमा छनोट हुन भनसुन चाहिन्छ, आफ्नो मान्छे चाहिन्छ। तर, उनले चिनेका मान्छे कोही थिएनन्।
“त्यसैले जतिसक्दो मिहिनेत गरें,” उनी भन्छिन्। त्यही मिहिनेतले उनलाई १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य बनायो। “राष्ट्रिय टोलीबाट खेल्न थालेको पनि ११ वर्ष भइसकेछ,” यति बोल्दा उनी मुस्कुराइन्।
खेलेरै जीवनयापन
खेल्न शुरू गर्दा धेरैजसोले खेलेर के हुन्छ भन्थे। उनी राष्ट्रिय टोलीमा पर्दासम्म पनि खेलेर जीवनयापन गर्न सकिएला भन्ने कसैलाई लाग्दैनथ्यो । “खेलेरै जीवनयापन गर्न सकिंदो रहेछ,” उनी अनुहार उज्यालो बनाउँदै भन्छिन्।
६ वर्षदेखि उनी एपीएफ क्लबमा आबद्ध छिन्। मासिक तलब पाउँछिन्। अखिले नेपाल फूटबल संघ (एन्फा) ले पनि भत्ता दिन्छ। “अरूले बन्दूक बोकेर आफ्नो ड्यूटी पूरा गर्छन्, हामी खेलाडी खेलेर,” रेनुका भन्छिन्।
खेल नभएको समयमा उनी लगायतका अन्य खेलाडी पनि सुरक्षामा खटिन्छन्। अब चुनावको वेला पनि खटिनुपर्ने उनी सुनाउँछिन्।
कप्तानी कसरत
पाँच वर्षअघि उनले राष्ट्रिय टोलीको नेतृत्व पाएकी थिइन्। कप्तानको जिम्मेवारी भने सोचे जस्तो सहज नहुने उनको अनुभव छ। पहिलो पटक नेतृत्व गर्दाको क्षण सम्झिंदै उनी भन्छिन्, “शुरूआतमै सिलिगुडीमा भएको सार्क खेलमा टीमलाई लिड गर्न धेरै गाह्रो भयो। सक्दिनँ जस्तो लागेको थियो,” उनी भन्छिन्।
कप्तानको जिम्मेवारी सबैलाई एकजुट बनाएर राख्नु हो। त्यो कामै निकै गाह्रो हुने उनी बताउँछिन्। “सबैलाई चित्त बुझाउनुपर्यो। कसैले गल्ती गरे पनि कप्तानले नै जवाफ दिनुपर्छ,” उनी सुनाउँछिन्।
मैदानभित्र मात्रै नभएर बाहिर पनि कप्तानले सजग रही अगुवाइ गर्नुपर्ने उनी बताउँछिन्। मैदानभित्र भने आफ्नो टोलीको मात्रै नभएर विपक्षी टोलीका खेलाडीलाई ध्यान दिनुपर्छ। “खेल हार्ने अवस्थामा दुवै टोलीका खेलाडी आवेगमा हुन्छन्, रिसमा हुन्छन्,” रेनुका भन्छिन्, “त्यस्तो वेला सम्हाल्नै कठिन हुन्छ।”
खेलका क्रममा उनले थुप्रै देशको यात्रा गरिसकेकी छन्। बाङ्लादेश, भारत, चीन, म्यानमार, मलेशिया र हङकङको यात्रा स्मरणीय बनेका छन्। चीनमा भएको मैत्रीपूर्ण खेल भने तनावपूर्ण भएको उनी सम्झिन्छिन्। “मैत्रीपूर्ण खेलमा झण्डै झगडा भएको थियो। दुवै टोलीका खेलाडी जुध्न खोजेका थिए,” मुश्किलले सम्हालेको बताउँदै उनी भन्छिन्, “चिनियाँले त बुझ्दैनथे, आफ्नै साथीहरूलाई हकारें।”
खेलमा पनि विभेद
खेलमा पनि लैङ्गिक विभेद झेल्नु परिरहेको उनको अनुभव छ। पुरुष राष्ट्रिय टोली जसरी महिला राष्ट्रिय टोलीले अवसर नपाउने गरेको उनको भनाइ छ। पुरुषको तुलनामा महिलाको कमै मात्र खेल हुने गरेको उनको गुनासो छ। “पुरुष टोलीका खेल भइरहेका छन्,” रेनुका भन्छिन्, “गत वर्ष राष्ट्रिय महिला फूटबल लिग खेलेका थियौं, त्यसपछि खेल्न पाइएको छैन।”
पुरुष टोलीको जति महिला टोलीलाई अवसर प्राप्त हुने हो भने धेरै गर्न सकिने उनको भनाइ छ। “पुरुष टोलीको दाँजोमा थोरै मात्रै अवसर पाएका छौं। २५ प्रतिशत मात्रै पनि अवसर पायौं भने अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै राम्रो गर्न सक्छौं,” रेनुका भन्छिन्।
खेल मात्रै नभएर सेवासुविधा पनि बराबर छैन। पहिलेको तुलनामा अहिले केही सुधार भए पनि पर्याप्त नभएको उनी बताउँछिन्। केही वर्षअघि एन्फाबाट पुरुष खेलाडीले मासिक १६ हजार पाउँथे भने महिलाले सात हजार मात्रै। अहिले यसमा सुधार भएर दुवै टोलीका खेलाडीले १८ हजार पाउने गरेकामा उनी खुशी छिन्।
पारिश्रमिकले मात्र बराबर नहुने उनको अनुभव छ। “वर्षमा एक-दुई खेल खेलेर हाम्रो क्षमता बढ्दैन,” उनी भन्छिन्, “वर्षभरि तालीम गरिराख्ने तर खेल खेल्न नपाउने हो भने कसरी सुधार हुन्छ!”