मुस्कुराउने मन छ
म यो सृष्टिको आधा हिस्सा,
यो आकाशको आधा अंश
भन त,
कसरी कमजोर बन्न सक्छु?
म तिम्री जीवनदाता आमा,
म तिम्री ममतामयी दिदी,
यति लाचार कसरी बन्न सक्छु?
चुलोचौकोबाट थाहा पाउँदिनँ होला र!
देशद्रोहीका तानाबाना
गोठ र करेसाबारीबाट बुझ्न सक्दिनँ होला र!
विकास र समृद्धिका झूटा वाचा।
अब रोजा क्लारा जस्तै
मुक्तिको सन्देश बोकी जुर्मुराउने मन छ,
विगतका तीता पल,
निसासिंदा रात बिर्सिएर
उन्मुक्तिको श्वास फेर्दै मुस्कुराउने मन छ।
मलाई थाहा छ
पासाङल्हामुले सगरमाथा चढेको कथा,
कमला कुँवरले नालापानीको किल्ला तोडेको इतिहास,
मैले सुनेकै हो,
बेनेजीर भुट्टोको देश-प्रेम
अझ मनमा गढेको छ
मलालाको बालिका शिक्षाको अभियान।
भन त म कसरी कमजोर?
इन्दिरा गान्धीले शासन हाँकेकै हुन्
मार्गरेट थ्याचरले विकासको लहर ल्याएकै हुन्
इतिहास साक्षी छ,
त्यो चाँगुनारायण राज्यवतीको नायबीको,
योगदान भुल्दैन यो माटोले,
वीराङ्गना राजेन्द्रलक्ष्मीको।
संस्कारका नाममा लगाइएको बन्देज,
पापको नाममा ठड्याइएको पर्खाल
अब चेतनाको बलले भत्काउने मन छ,
सुनाउँदै योगमायाको जीवनगाथा
विजयको उल्लास मनाउँदै मुस्कुराउने मन छ।
छायाँमा राखेर गरिएका दमन,
चूपचाप सहेका पीडा,
एक छाक रोटीका लागि पति परमेश्वरका लाठी, मुङ्ग्री र लाती,
इज्जत, चरित्र नामका खुशीको आहूति,
भो अब दिन्नँ,
सीता, सत्य, सावित्री, राधा र रुक्मिणी बन्दिनँ।
हटाउँदै दुष्कृत्य मानवको सृष्टिमा
नवीन र रङ्गीन फूल फुलाउने मन छ।
बदल्दै सारा आमाहरूको जीवन
पैल्याउँदै नयाँ बाटाहरू
सन्तोषका साथ मुस्कुराउने मन छ।
नसम्झ म सती हुँ
न तिमीसँग जल्नेछु
नसोच निमोठ्न सक्छौ मेरा इच्छाका मुना
म उभिन सक्छु
आज दुर्गा चण्डी बनी।
म माधवी होइन,
गोमा ब्राह्मणी पनि होइन,
कसैले दान माग्दैमा दिने विचार छोडिदेऊ
सक्छौ सघाऊ यो स्वतन्त्रताको बिगुल फुक्न
सक्दैनौ भने पाइला अन्तै मोडिदेऊ।
आऊ गरौं बराबरीको हिसाब
थपिदेऊ तेल
समानताको दियो सँगसँगै जलाउने मन छ
अन्त्य गर्दै लैङ्गिक विभेद, दमन र शोषण
एक नौलो बिहानी हेर्दै मुस्कुराउने मन छ ।