प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अघि बढ्ने, सिफारिश समिति गठन गरिंदै
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा प्रक्रिया अघि बढ्ने भएको छ।
आज बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले महाअभियोग प्रस्ताव सिफारिश समिति सम्बन्धी प्रस्ताव पनि कार्यसूचीमा राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षमा बसेको परामर्श समितिको बैठकले गरेको निर्णय अनुसार आजको कार्यसूचीमा सिफारिश समिति सम्बन्धी प्रस्ताव रहेको संघीय संसद्का महासचिव भरत गौतमले जनाएका छन्।
सभामुख सापकोटाले आजको बैठकमा समिति गठन गर्ने प्रस्ताव राख्नेछन्। त्यसमा सबै दलबाट सांसद छनोट गरिनेछ।
संसद्मा विरोध गर्दै आएको नेकपा (एमाले) ले पनि महाअभियोग सिफारिश समितिमा सांसद पठाउने भएको छ। संसदीय समितिमा भाग लिइरहेकाले सिफारिश समितिका लागि पनि सांसदको नाम पठाउने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।