रूसमा भिजा र मास्टरकार्डको सेवा बन्द
युक्रेनमाथिको आक्रमण रोक्नका लागि दबाब दिन भिजा र मास्टरकार्डले रूसमा सेवा बन्द गरेको छ।
विश्वव्यापी विद्युतीय भुक्तानी सञ्जाल भएका भिजा र मास्टरकार्ड कम्पनीले आइतबारदेखि रुसमा सेवा बन्द गरेको रोयटर्सले जनाएको छ। आजदेखि रूसमा भिसा र मास्टरकार्ड चल्नेछैनन्।
भिसा इन्क र मास्टरकार्ड इन्क विश्वव्यापी सञ्जाल भएका अमेरिकी कम्पनी हुन्। दुवै कम्पनीले आजदेखि रूसमा दर्ता भएका भिजा र मास्टरकार्ड रुसभित्र र बाहिर काम गर्नेछैनन्।
भिजा र मास्टरकार्डको निर्णयलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेका छन्। उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीमा यो निर्णयको स्वागत गरेको ह्वाइट हाउसले जनाएको छ।
रूसले युक्रेनमाथिको आक्रमण जारी राखेको छ। आक्रमणको ११औं दिन आइतबार पनि युक्रेनको राजधानी किइभ लगायत शहरमा आक्रमण भइरहेको छ।
रूसी आक्रमणका कारण देश छोड्ने युक्रेनीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। आजसम्म १४ लाख युक्रेनीले देश छोडेको संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयोगले जनाएको छ।
आयोगका अनुसार, युक्रेनी नागरिक छिमेकी देशतर्फ गइरहेका छन्। अहिलेसम्म सबैभन्दा बढी पोल्यान्डमा सात लाख ५६ हजार ३०३ जना युक्रेनी पुगेका छन्।
त्यस्तै, हंगेरीमा एक लाख ५७ हजार चार, मोल्डोभामा एक लाख तीन हजार २५४, स्लोभाकियामा एक लाख एक हजार ५२९, रोमानियामा ६३ हजार १९२ र बेलारुसमा ४०६ जना शरणार्थी बनेका छन्। यी बाहेक अन्य देश जाने युक्रेनीको सङ्ख्या एक लाख ३३ हजार ८५६ पुगेको छ।
शनिबार युद्धविराम घोषणा गरिएका युक्रेनका दुई शहरमध्ये म्यारीपोलमा रूसले आक्रमण थालेको छ। त्यहाँका बासिन्दालाई बाहिर ल्याउन नपाउँदै रूसले आक्रमण थालेको युक्रेनी अधिकारीहरूले जनाएको अल जजीराले उल्लेख गरेको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका लगायत पश्चिमी देशहरूलाई लडाकू जहाज सहयोग गर्न आग्रह गरेका छन्। यससँगै उनले ‘एयर डिफेन्स सिस्टम’ को पनि सहयोग मागेका छन्।