युक्रेनका दुई शहरमा अस्थायी युद्धविराम घोषणा
रूसी आक्रमणको दशौं दिन युक्रेनका दुई शहरमा अस्थायी युद्धविराम घोषणा गरिएको छ।
युक्रेनको म्यारिपोल र भोल्नोभाख शहरमा रूसले अस्थायी युद्धविरामको घोषणा गरेको हो। स्थानीय समय अनुसार, शनिबार बिहान १० बजेदेखि अस्थायी युद्धविराम घोषणा गरिएको रूसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
युक्रेनी अधिकारीहरूले पनि दुई शहरमा अस्थायी युद्धविराम घोषणा गरिएको पुष्टि गरेका छन्। दुवै शहरमा रहेका नागरिकलाई सुरक्षित रूपमा बाहिर निस्कन दिन युद्धविराम घोषणा गरिएको रूसको विदेश मन्त्रालयले जनाएको छ।
यी दुवै शहरमा चार लाख ५० हजार नागरिक बसोबास गर्छन्। यो युक्रेनको प्रमुख बन्दरगाह भएको शहर पनि हो। रूस र क्रिमिया जोड्ने मुख्य बाटो पनि यहीं भएर जाने गरेको छ।
दुई शहरमा युद्धविराम घोषणा भएसँगै त्यहाँ रहेका नागरिकलाई सुरक्षित रूपमा बाहिर ल्याउने कार्य शुरू गरिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।