राष्ट्रिय सभा सदस्यको शपथ लिएका यी हुन् १९ सांसद
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाई शपथ खुवाएका छन्। नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि संघीय कानून अनुरूप शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ।
राष्ट्रिय सभा सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले शपथ लिएका हुन्।
राष्ट्रिय सभा सदस्य १९ पदका लागि गत १२ माघमा निर्वाचन भएको थियो। त्यसबाट निर्वाचित सांसदको कार्यकाल ६ वर्षको हुनेछ।
समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गरेका छन्।