के पुरुषलाई कोठीभित्र हुलेर बलात्कार घट्छ?
पल प्रकरणमा बलात्कारमाथि भइरहेका बहसका अन्तर्य खोतल्नोस्, ती सञ्जयलीला भंसालीको शक्तिशाली क्यानभासभित्र समेटिएको सिनेम्याटिक विषयभन्दा फरक देखिंदैनन्।
‘यदि हामी जस्ता यौनकर्मी नभा भए सडकमा हिंड्ने महिला सुरक्षित रहने थिएनन्।’
पुरुषको कामवासना शमन गर्ने पेशालाई उचाइमा पुर्याउन पूरै जोवन खर्चिएकी जुझारू स्त्रीको पौरुषेय गरिएको सिनेमा गंगुबाई कठियावाडीको वैचारिक-धुरी सम्झाउने संवाद हो यो। बम्बई (हाल मुम्बई) को बदनाम गल्लीका रूपमा ख्याति कमाएको कमाठीपुरामा समाजले हियाउने र कानूनले अपराध ठान्ने यौन कारोबार गरिरहेका चार हजार पेशाकर्मीकी नेत्री गंगुबाईले देशका नामीगिरामी अभियन्ता, नेता, पत्रकार र शिक्षाकर्मी डाकिएको आजाद मैदानमा आयोजित महिला सम्मेलनको मञ्चमा उभिएर सन् १९४० को दशकमै यतिको उन्मुक्त भाषण गर्नु दुस्साहसपूर्ण कदम थियो।
आफ्नै घरमा काम गर्ने लेखापालले प्रेमपाशमा पारी हजार रुपैयाँमा कमाठीपुरा कोठीमा बेचिदिएकी शिक्षित र सम्पन्न परिवारमा हुर्किएकी गुजरात कठियावाडीकी १६ वर्षीया गंगा जगजीवन दास कसरी गंगु हुँदै विख्यात पात्र गंगुबाई ‘कठियावाडी’ मा परिणत भइन्? पात्रहरूलाई भव्य क्यानभासभित्र कैद गर्न सिपालु निर्देशक सञ्जयलीला भन्सालीले चालीसको दशकको यी चर्चित पात्रको सङ्घर्षलाई चिरपरिचत शैली मार्फत दर्शनीय कथावाचनमा ढालेका छन्।
भन्सालीले यौनकर्मीका हकअधिकारका लागि समाज र राज्यसँग निर्भीकताका साथ लडेकी गंगुबाई मार्फत समकालीन समाजमा समेत अपाच्य ठानिएको यौन कारोबार जस्तो विषयमाथि विमर्श चलाउन खोजेका छन्। त्यसका निम्ति उनले सन् २०११ मा एस हुसैन जैदीद्वारा लिखित गंगुबाईको जीवनकथा माफिया क्विन्स अफ मुम्बई पुस्तकलाई आधार बनाएका छन्।
लेखिका उत्कर्षणी वशिष्ठसँगको सहकार्यमा भन्साली स्वयंले पटकथामाथि ‘मगजमारी’ गरी थुप्रा वजनदार संवाद सिर्जना गरेका छन्। माथि उल्लेख आजाद मैदानको चर्चित भाषणमै पनि पुरुष संरचनामाथि ठाउँ ठाउँमा चोटिलो प्रहार गरिएको छ।
भाषणमा गंगुबाई भन्छिन्, ‘एक चोटि तपाईंको इज्जत गयो, सम्झनोस् तपाईं सकिनुभो। तर, हामी हरेक रात इज्जत बेच्छौं, अहँ यो जिनिस कहिल्यै सकिंदैन।’ उनी अगाडि त्यस्तै चोटिलो व्यङ्ग्य कस्छिन्- ‘कुमारी तपाईंहरूले छाड्नुभएन, श्रीमती कसैले बनाएन!’
यौनकर्मीका आधा दर्जन बच्चालाई विद्यालय भर्ना गर्न गएकी गंगुवाईले ती सबैलाई आफ्नो नाम दिंदा प्रिन्सिपलद्वारा प्रश्न गरिन्छ- ‘खै त पिताको नाम?’ उनको जवाफ हुन्छ- ‘के आमाको नाम पर्याप्त छैन?’
यत्रो लम्बेतान प्राक्कथन पढिसकेपछि तपाईंले पनि सुव्यवस्थित प्रचार गरिए झैं ‘गंगुबाई कठियावाडी’ लाई महिला स्वाधीनता आन्दोलनको एक हिस्सा ठान्नुभयो होला। यदि हो भने तपाईंले ग्रहण गरेको बुझाइमा आंशिक सत्यता मात्र छ। सतहमा हेर्दा सिनेमाले महिला अधिकारको मुद्दा बोकेको जस्तो देखिए पनि यो मूलतः यौनकर्मीले आफ्नो आत्मसम्मानका लागि लडेको सङ्घर्षको गतिलो कथावाचन हो जुन पुरुष स्वार्थमा गएर टुङ्गिन्छ।
पुस्तकमा गंगुबाईको कर्म यौन पेशामा मात्र सीमित छैन। उनी बम्बईका अन्डरवर्ल्ड डनको सहकार्यमा कमाठीपुरमा अवैध रक्सी पसल सञ्चालन गर्छिन्। आफ्ना विरोधीलाई तह लगाउन हत्या गराउन समेत पछाडि हट्दिनन्। त्यसैले लेखकले उनलाई ‘माफिया क्विन’ को उपाधि दिएका हुन्।
यदि गंगुबाईको जीवनबाट चार हजार यौनकर्मी र तिनका सन्तानको शिक्षादीक्षाका लागि गरिएको सङ्घर्षलाई निकालिदिने हो भने उनी समाज र राज्यका निम्ति विशुद्ध खलपात्र हुन्। तर, विषयलाई फ्रेमिङ गरी दर्शकको मगजलाई अढाई घण्टा कैद गर्न सक्ने भन्सालीले सिनेमाभित्र यी सबै तथ्यलाई कुशलतापूर्वक पन्छाइवरी केन्द्रीय पात्रको राम्रा प्रसङ्गमाथि मात्र क्यामेरा दौडाएका छन्। त्यसको पछाडि उनको प्रष्ट लाइन देखिन्छ- यौन कारोबारलाई सामाजिक र कानूनी मान्यता दिलाउन पैरवी गर्नु।
त्यसैले सामाजिक परिधि भत्काउन र कानूनी सीमा मिच्न हरदम तम्तयार भन्सालीको केन्द्रीय पात्र वेश्यागमन (पुरुषले महिला भोग्न पाउने पेशा) लाई वैधानिक बनाउने आन्दोलनमा निरन्तर खटेको देखाइएकोछ। ‘यदि शक्ति, सम्पत्ति र सद्बुद्धि यी तीनै स्त्रीत्व हुन् भने पुरुषहरू के को अहंकार बोकी हिंड्छन्’ भनी पुरुषत्वमाथि प्रहार गर्ने गंगुबाई स्वयं चाहिं वैचारिक रूपले पुरुषत्व (मसल्सम्यान) बोकेकी भन्साली क्यानभासकी बेजोड पात्र हुन् जसले परोक्ष पुरुष संरचना बलियो बनाउन खास्सा भूमिका निभाएकी छन्। यो भूमिकामाथि कुनै समय स्वच्छन्दताका रोल मोडल मानिने दम्पती सोनी राजदान र महेश भट्टकी छोरी आलिया भट्टले राम्रो न्याय गरेकी छन्।
बलात्कार रोक्न वेश्यागमन?
यौन पेशालाई कानूनी मान्यता दिलाउन तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूसँग समेत सवालजवाफ गर्न पुगेकी गंगुबाईको तर्क थियो- ‘व्यवस्थित यौन कारोबारले बलात्कार जस्ता महिला हिंसामा कमी ल्याउँछ।’ उनले यस्तो तर्क समाजका अगाडि निर्धक्क राखेको संवाद शिरमै पढिसक्नुभयो। भन्सालीले सिनेमामा यही तर्कमाथि टेकेर महिला हिंसा रोक्न यौन कारोबारको वकालत गरेका छन्।
के उसो भए भारतमा यौन कारोबारले कानूनी मान्यता पाएपछि (सन १९५६ मा पारित इमोरल ट्राफिक प्रिभेन्सन एक्ट) बलात्कारीहरू घटेका छन्? पुरुषलाई कोठीभित्र छिराउने व्यवस्थित प्रावधानले महिला हिंसामा कमी आएको छ त? तथ्य त्यसको ठीक उल्टो देखिन्छ।
भारतको राष्ट्रिय अपराध तथ्याङ्क ब्यूरो (एनसीआरबी) का अनुसार, बलात्कारका घटना बढ्न थालेको साल अर्थात् सन १९७१ मा त्यहाँ दुई हजार ४८७ वटा घटना थिए भने सन २०१२ सम्म आईपुग्दा त्यो बढेर दश गुणा (२४ हजार ९२३) पुगिसकेको थियो। समाचार एजेन्सी रोयटर्सले सरकारी तथ्याङ्कका आधारमा गरेको अर्काे अध्ययनले यो ग्राफ हरेक वर्ष माथि उक्लिरहेको देखाउँछ। रोयटर्सले सन २००६ देखि २०२० सम्मको बलात्कारको घटनालाई केलाएर हेर्दा सन २०१३ देखि २०१९ सम्मको अवधिमा हरेक वर्ष ३० हजारभन्दा बढी बलात्कारका घटना दर्ज भएको देखिन्छ।
यी तथ्यले के देखाउँछ भने गंगुबाई मार्फत भन्सालीले तर्क गरे झैं यौन पेशालाई कानूनी मान्यता दिंदैमा बलात्कारका घटना कम नहुँदो रहेछ। जबकि, त्यहाँ बलात्कारीलाई फाँसीमा झुन्ड्याउनेसम्मको दण्डसंहिता छ। एकातर्फ यस्तो यथार्थ छ भने अर्काेतर्फ भन्साली अजय देवगन, विजय राज र आलिया भट्ट जस्ता माझिएका कलाकारलाई चोटिलो संवाद सहित आकर्षक सिनेम्याटोग्राफी प्याकेजमा प्याक गरी यौन कारोबारको वकालत गरिरहेका छन्।
भारतमा मात्र होइन, हाम्रोमा पनि महिला संरक्षित कडा दण्डसंहिताले नियन्त्रण गर्न नसकिएको बलात्कारका दुर्दान्त हिंसा बढ्याबढ्यै छ। नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मानेर ‘हिंसा विरुद्ध महिला’ ले गरेको अध्ययनमा गत दश वर्षमा १७ हजार ७९० महिला बलात्कृत भएका रहेछन्। तथ्याङ्क संश्लेषणले बलात्कारका घटना हरेक वर्ष २० प्रतिशतका दरले बढिरहेको देखाउँछ।
हामीकहाँ पनि भन्सालीहरूले झैं बलात्कार जस्ता यौन हिंसा कम गर्न यौन कारोबारलाई वैधानिकता दिइने तर्क गरिन्छ। तर, ख्याल राख्नुभएको छ- यो तर्कको पनि एकलकाँटे सीमा कोरिएको छ नि! तपाईंले कहिल्यै सुन्नुभएको छ, महिलाको कामवासना शमन गर्न पुरुष वेश्यालय खोल्नुपर्छ भन्ने आवाज वा बहस? मैले चाहिं सुनेको छैन।
यस्ता विचार महिलाले यौनेच्छा दबाइराख्नुपर्छ भन्ने परम्परागत चिन्तनबाट आउने हुँदा महिलावादी समेत यस्ता विषयमा विमर्श गर्न हडबडाउने गर्छन्। त्यसैले बलात्कारको कारक तत्त्व ठानिने कामोत्तेजना पुरुषमा मात्र चढ्छ भन्ने भाष्य निर्माण गर्ने वैचारिक चिन्तनलाई मुखरित गर्ने गंगुवाई जस्ता पौरुषेय सिनेमाले यस्तो बहसमा प्रविष्ट गर्ने हिम्मत गरेको छैन।
बलात्कारी मनोदशा
२१ माघ २०७८ मा स्कूल जाँदा हराएकी सुदूरपश्चिमको बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको महीना दिन नबित्दै १३ फागुनमा मोरङमा १२ वर्षीया स्कूले विद्यार्थीको त्यसै गरी बलात्कारपछि हत्या हुन्छ। मोरङकै लेटाङ-८ की कक्षा ६ मा अध्ययनरत १२ वर्षीया करुणा राईलाई स्कूलबाट फर्किंदै गर्दा ६३ वर्षीय दीपक गिरीले बलात्कार गर्छन् र त्यसपछि मुख थुनेर बालिकाको ज्यान लिन्छन्। तीन वर्षअघि (११ साउन २०७५) बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया विद्यार्थी निर्मला पन्तको गिजोलिएको प्रकरण कसले बिर्सिएको होला?
यी दुर्दान्त प्रतिनिधि घटनाले प्रष्ट दिने बक के हो भने हाम्रो सन्दर्भमा बलात्कारी वीर्यस्खलनले मात्र सन्तृप्त नहुँदो रहेछ। प्रेमी, काका, बाबा, दाजुभाइको मुखौटाभित्र छिपेको यस्तो क्रूर मनोदशा बोकेको पुरुषलाई हामीले कोठीभित्र हुल्न थालेको वर्षौंवर्ष भइसक्यो। सन्तान उत्पादनसँगै कामवासना व्यवस्थापन गर्न भनी वैवाहिक नामक सामाजिक दाम्लोले बाँध्न थालेको पनि निकै भइसक्यो।
बजारमा ‘सेक्स टोय’ सर्वसुलभ भइसक्यो। हरेकको हात हातमा पुगेको स्मार्टफोनले करौंडौको सङ्ख्यामा रहेको पोर्न साइटमा सहजै पहुँच दिन थालिसक्यो। प्राविधिक रूपमा स्मार्टहरूले त अझ अगाडि बढी भिआर (भर्चुअल रियालिटी) बाटै ‘सेक्स कोर्स’ को सुखानुभूति लिन थालिसके। तैपनि यो क्रूरता घट्नुको साटो बढ्याबढ्यै छ!
यदि बलात्कार यौनकर्ममा मात्र सीमित हुन्थ्यो भने समकालीन विश्व बजारमा भरमार उपलब्ध यी औजारले त्यसको व्यवस्थापन गर्न सघाउनुपर्ने हो। तर, त्यस्तो भइरहेको देखिंदैन। कतिपय अवस्थामा प्रत्युत्पादक परिणति दिइरहेको देखिन्छ।
तपाईंले गहिरिएर बलात्कारीको मनोदशा पढ्नुभयो भने उसको सरोकार शारीरिक सम्बन्धसँग मात्र देखिंदैन। १३ वर्षीया नाबालिकको पिछा गर्दै एकान्त कुनामा पुगेपछि बलात्कार गर्ने साहस र बल ६५ वर्षीय वृद्धले कहाँबाट जुटाउँछ? त्यसपछि कसको डरले बलात्कृत बालिकाको हत्या गर्ने निर्णयमा पुग्छ- नैतिक स्खलनको डरले कि कानूनी डन्डाको भयले?
कतै समाजले निर्धारण गरेको पारम्परिक नीति शिक्षा र राज्यले निर्धारण गरेको दण्डसंहिताका बाइप्रडक्ट त होइनन् यी क्रूर पुरुष? गम्भीर चिन्तन जरुरी भइसक्यो। हामीले सधैं ‘बलात्कार बहस’ लाई कामवासनाको चौघेराभित्र कैद गरेर त्यसको समाधान खोज्ने प्रयत्न गर्यौं। यस्तो प्रयत्नले समस्याको जडभित्र प्रविष्ट गर्न रोकिरहेको छ। नपत्याए पल प्रकरणमा बलात्कारमाथि भइरहेका बहसका अन्तर्य खोतल्नोस्, ती भन्सालीको शक्तिशाली क्यानभासभित्र समेटिएको सिनेम्याटिक विषयभन्दा केही फरक देखिंदैनन्।
यदि तपाईं पनि (म जस्तै) ‘सिनेमाको राजनीति हुँदैन, फिल्म हेर्न दिमाग ढोका बाहिरै छाडेर हल छिर्नुपर्छ र भरपुर मनोरञ्जन लिनुपर्छ’ भन्ने वैचारिक राजनीतिको विपक्षमा हुनुहुन्छ र ‘सिनेमाले विचार निर्माणमा सशक्त भूमिका निभाउँछ’ भन्ने ठान्नुहुन्छ भने गंगुबाई कठियावाडी जस्ता दृश्यचित्रले उठान गर्ने बहसमाथि भरमग्दुर मगजमारी गरिनु जरुरी छ। पुरुष तृप्त बनाउन यौन कारोबार बढाइए हिंसा घटाउँछ भनी बौद्धिक बहस गर्ने अध्येता, अधिकारकर्मी र अभियन्ताको मतैक्यलाई वाणी दिने भन्सालीहरूको घिसापिटा फर्मुलामाथि तथ्यको बलमा जोडदार प्रश्न गरिरहनुपर्छ- खै त तपाईंहरूले भने झैं पुरुषको कामवासना शान्त हुने गरी बनाइएको सयौं वर्ष पुराना संरचना (कोठी) ले महिला हिंसा त झन् बढाइरहेको छ त?