रूसी आक्रमणपछि १२ लाखले छोडे देश, युक्रेनी राष्ट्रपतिले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने
रूसको आक्रमणपछि १२ लाख युक्रेनीले देश छोडेका छन् भने अझै छिमेकी देशतर्फ जाने क्रम जारी रहेको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगका अनुसार, शनिबार बिहानसम्म १२ लाख नौ हजार ९७६ युक्रेनीले देश छोडेका छन्। उनीहरू छिमेकी मुलुक पोल्यान्ड, हंगेरी, स्लोभाकिया, मोल्डोभा र रोमानिया पुगेका छन्।
उनीहरूमध्ये धेरै जसो पोल्यान्ड पुगेका छन्। पोल्यान्डमा ६ लाख ५० हजार, हंगेरीमा एक लाख ४५ हजार, मोल्डोभामा एक लाख तीन हजार, स्लोभाकियामा ९० हजार र रोमानियामा ५७ हजार शरणार्थी पुगेका छन्।
त्यस्तै, उत्तरी युक्रेनमा छुट्टै देश घोषणा गरिएको क्षेत्रका एक लाख ४९ हजार नागरिक रूस पुगेका छन्। रूसको सहयोगमा उत्तरी युक्रेनको दुई राज्यले छुट्टै देश घोषणा गरेका छन्। तिनै राज्यलाई आधार बनाएर रूसले युक्रेनमाथि आक्रमण गरिरहेको छ।
अझै पनि युक्रेन छोड्नेको ताँती लागेको छ। रूसी आक्रमण नरोकिएका ४० लाख युक्रेनीले देश छोड्न सक्ने उच्च आयोगको अनुमान छ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन्। उनले जूम मार्फत अमेरिकी सिनेटका सदस्यसँग छलफल गर्ने बीबीसीले जनाएको छ।
यसअघि अमेरिकाका लागि युक्रेनी राजदूतले पनि अमेरिकी सिनेटका सदस्यसँग छलफल गरेका थिए। आज जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्न लागेका हुन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेनसँग नियमित सम्पर्कमा रहेको जनाइएको छ। अमेरिकी सिनेटले पहिलो पटक जेलेन्स्कीसँग कुराकानी गर्न लागेको हो।
युक्रेनमाथिको रूसी आक्रमण भने रोकिएको छैन। युक्रेनी सुरक्षाकर्मीले पनि आक्रमणको प्रतिकार गरिरहेका छन्।