रूसी आक्रमणपछि ५११ नेपालीले छोडे युक्रेन
रूसी आक्रमणपछि ५११ जना नेपाली युक्रेन छोडेर सुरक्षित गन्तव्यमा पुगेका छन्।
शनिबार बिहानसम्म युक्रेनमा रहेका अधिकांश नेपाली सीमावर्ती मुलुकहरूमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, युक्रेन छोडेका ५११ जना नेपाली सुरक्षित रूपमा छिमेकी देश पुगेका छन्।
अहिलेसम्म ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी र ४ जना माल्दोभा पुगेका छन्। उनीहरूलाई नेपाल ल्याउन बर्लिनस्थित नेपाली राजदूतावासले गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायसँगको समन्वयमा आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।
त्यस्तै, युक्रेनको सीमा क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित आगमन गर्ने व्यवस्थाका लागि सम्बन्धित देशलाई आग्रह गरिएको छ। युक्रेनको सीमामा रहेका मोल्दोभा, रोमानिया, हंगेरी, स्लोभाकिया र पोल्यान्ड सरकारलाई युक्रेनबाट नेपाली नागरिकको सुरक्षित आगमनमा सहयोग गरिदिन नेपाल सरकारले अनुरोध गरेको जनाएको छ।
युक्रेनका विभिन्न स्थानमा रहेका बाँकी केही नेपाली तुलनात्मक रूपमा सुरक्षित रहेको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। उनीहरू पश्चिम क्षेत्रतर्फ गइरहेका छन्। केही सीमा क्षेत्रबाट बाहिरिने प्रक्रियामा छन्।
यससँगै युक्रेनमा रहेका नेपालीलाई सुरक्षित बाहिर निकाल्न बर्लिन र मस्कोस्थित नेपाली राजदूतावासलाई परिचालन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।