साधनमाला छिचोल्दा
साधनमालामा ‘साधन’ शब्दको प्रयोग ‘सिद्धि’ को पर्यायमा भएको छ। लौकिक सुखका लागि नै सर्वसाधारण मरिमेट्ने हुनाले लोकलाई आफ्नो मततर्फ तान्न हरेकजसो धार्मिक सम्प्रदायले यसरी साधना गरे सिद्धि पाइन्छ भनी प्रख्यापन गर्ने गरेको देखिन्छ।
संशोधन-मण्डलको पाठशालामा कुनै धर्मको पढाइ नहुने भए पनि इतिहासको सन्दर्भमा भारतवर्षमा प्रचलित धर्महरूको निकै चर्चा हुन्थ्यो। त्यसैले बौद्ध धर्मको उत्पत्ति, उपचय र अपचयको विषयमा मलाई केही जानकारी पहिल्यैदेखि थियो। वज्रयानी तान्त्रिक ग्रन्थ साधनमालासँग पनि म त्यसै वेलादेखि परिचित थिएँ।
विनयतोष भट्टाचार्य (विसं १९५३-२०२०) ले सम्पादन गरेको साधनमाला (१ ठेली, बरोदाः सेन्ट्रल लाइब्रेरी, सन् १९२५; २ ठेली, बरोदाः ओरियन्टल इन्स्टिच्यूट, सन् १९२८) देखाएर यसैका आधारमा बङ्गालमा भेट्टिएका मूर्तिहरूको पहिचान भयो भनी संशोधन-मण्डलका संस्थापक नयराज पन्त (विसं १९७०-२०५९) बराबर भन्ने गर्थे। तिनै भट्टाचार्यले लेखेको बौद्ध प्रतिमालक्षण सम्बन्धी ग्रन्थ दि इन्डिअन् बुड्इस्ट् आइकनोग्राफि (२ संस्करण, कलकत्ताः फर्मा केएल मुखोपाध्याय, सन् १९५८) पनि मैले पछि हेरें।
‘साधनमाला र त्यस्तै अरू कर्मकाण्ड सम्बन्धी तान्त्रिक ग्रन्थहरूको खास आधारमा’ भनी त्यस पुस्तकको मुखपृष्ठमै उल्लेख भएकाले वज्रयानी प्रतिमालक्षणका लागि साधनमाला खास ग्रन्थ रहेछ भन्ने बुझियो। मूल पाठको सम्पादन गरे पनि भट्टाचार्यले त्यसको पूरा उल्था भने प्रकाशित गरेनन्। यसो भए पनि साधनमालाको उपोद्घातमा र बौद्ध प्रतिमालक्षण सम्बन्धी आफ्नो पुस्तकमा साधनमालाको आधार लिई धेरै देवदेवीको विवेचना भने उनले गरेका छन्।
विसं २०५९ मा रुरिको साकुमा (विसं २०२० जन्म) ले साधनमालाबाट अवलोकितेश्वरखण्डको मूल संस्कृत र भोटभाषामा गरिएको त्यसको उल्थाको सम्पादन गरे (साधनमालाः अवलोकितेश्वर सेक्शन्- स्यान्स्क्रिट् यान्ड् टिवेटन् टेक्स्ट्स्, दिल्लीः अड्रोइट पब्लिशर्स, सन् २००२)। विनयतोष भट्टाचार्यले आठ वटा पुस्तकको आधार लिई साधनमालाको सम्पादन गरेकोमा साधनमालाको अवलोकितेश्वरखण्डको सम्पादन साकुमाले ३८ वटा पुस्तकका आधारमा गरेका छन्।
लामो समयदेखि साधनमाला भन्ने नाउँले सम्बोधित हुँदै आए पनि यो ग्रन्थ विभिन्न साधनहरूको सङ्ग्रह मात्र हो; त्यसमाथि, कुनै एक जनाले यो रचेको होइन भन्ने कुरा कुनै कुनै साधनको अन्त्यमा रचयिताको नाउँ आएकोबाट पनि स्पष्ट हुन्छ। वज्रयानीहरूमाझ त्यति चर्चा नहुने भएकाले यो ग्रन्थ मूल धारका पुस्तकमा पर्दैन भन्ने पनि स्पष्ट छ।
साधनमाला जस्तै अर्को ग्रन्थ साधनसमुच्चय पनि उपलब्ध छ। साधनमालाको विषयमा पहिले पहिले काम गर्नेहरूले साधनमाला र साधनसमुच्चयलाई अलग अलग ग्रन्थ ठानेका छन्। तर, साकुमाले विषयवस्तु तलमाथि परे पनि वस्तुतः यी दुई ग्रन्थ एउटै रहेको भनी मानेका छन्।
साधनमालाको प्रचार हुँदै गएपछि धेरैजसो वज्रयानी देवदेवीको मूर्ति त्यसैका आधारमा बनेको कुरा त चर्चामा आयो। तर, त्यो पुस्तक संस्कृतभाषामा भएकाले देवदेवीको चित्र कोर्ने वा मूर्ति बनाउने कालिगडले त्यसबाट काम लिन सकिरहेका थिएनन्। त्यसैले चित्रकार र मूर्तिकारले साधनमालाको प्रतिमालक्षण बुझ्न सकून् भन्ने अभिप्रायले नेपाल हस्तकला महासङ्घले यसको उल्था गराउने इच्छा गरेकाले हामीले- महेशराज पन्त (विसं २००१ जन्म), जुनु बासुकला रञ्जितकार (विसं २०३३ जन्म) र देवहर्ष वज्राचार्य (विसं १९९६ जन्म) ले- त्यो भार बोक्यौं। त्यो पनि पूरै ग्रन्थको नभई देवदेवीका ध्यान भएको खण्ड अर्थात् १७१ साधनदेखि अन्त्य (३१२ साधन) सम्मको उल्था गर्ने समझदारी विसं २०७४ माघमा सो महासङ्घ र हामीबीच भयो।
काम गर्दै जाँदा साधनमालाको उल्था गर्नु गाह्रो काम रहेछ भन्ने अनुभूति हुँदै गयो। हामीसँग भएको संस्कृतभाषा, प्रतिमालक्षण, बौद्ध दर्शन र कर्मकाण्डको ज्ञानको कमी पनि छर्लङ्गिँदै गयो। बौद्धहरूले लेखेका संस्कृतग्रन्थमा पाणिनीय व्याकरणको नियम धेरै ठाउँमा नलाग्ने भएकाले त्यसलाई अलग्गै ढङ्गले लिनुपर्ने अनुभव विद्वान्हरूले गर्दा बौद्ध सङ्कर संस्कृत भन्ने एउटा उपभाषाकै सृष्टि हुन गयो।
बौद्ध सङ्कर संस्कृतका ती नियमलाई संहिताबद्ध गरी फ्र्याङ्क्लिन एजर्टन (विसं १९४२-२०२०) ले व्याकरण र कोष (बुड्इस्ट् हाइब्रिड् स्यान्स्क्रिट ग्य्रामअर् यान्ड् डिक्शन्अरि, न्यू हाभेनः येल यूनिभर्सिटि प्रेस, सन् १९५३) रचे पनि तिनबाट जम्मै काम नचल्ने अनुभव हामीलाई भयो। यस कारण यथार्थ उल्था कहीं कहीं अझै आउन बाँकी भएको अनुभव गरेका छौं। अर्को कुरा, यहाँ प्रयोग भएका पारिभाषिक शब्द र जडीबुटी इत्यादिका लागि प्रयोग भएका शब्दको उल्था पनि हामीले ठाउँठाउँमा गर्न सकेनौं।
भट्टाचार्यले बौद्ध प्रतिमालक्षणका विषयमा काम गर्दा सिद्धिहर्ष वज्राचार्य (विसं १९३८-२००९) को मद्दत पाएका थिए। बौद्ध धर्मको ज्ञान त्यही जमानामा क्षीण भइसके पनि अहिलेको भन्दा त्यसताकाका वज्राचार्यहरू कर्मकाण्ड बढी जान्ने भएकाले भट्टाचार्यलाई अलि सजिलो भएको थियो। अहिले त त्यो अवस्था पनि छैन। उदाहरणका लागि साधनमालाको १७१ देखि १८८ साधनसम्म ओगटेको कुरुकुल्लाको कुरा गरौं। तिब्बती परम्परामा कुरुकुल्लाको पूजाआजा हुने भए पनि वज्राचार्यहरूमा आजभोलि त्यस्तो पूजाआजा हुँदैन। यस कारण हामीलाई अप्ठेरो परेको ठाउँमा कर्मकाण्डीहरूबाट पनि सहयोग पाउने अपेक्षा रहेन।
असोज २०७६ सम्म १७१ देखि ३१२ साधनसम्मको उल्था गर्ने काम हामीले पूरा गर्यौं। पछिल्लो खण्ड अझै परिमार्जन गर्नुपर्ने भएकाले पहिलो किस्तामा १७१ देखि २५० साधनसम्म मात्र छपाउने निर्णय भयो। अनि हामीले त्यही साल कात्तिक महीनामा प्रकाशकलाई ‘टाइपस्क्रिप्ट’ बुझायौं। साधनमालाको यस खण्डमा परेका १०६ थरी ध्यानको चित्र कोर्ने काम ६७ जना चित्रकारबाट सम्पन्न भयो। त्यसपछि छपाइका लागि छापाखानामा पुस्तक बुझाइयो। छापाखानाबाट असार २०७८ मा पुस्तक तयार भएर आयो। त्यसको लोकार्पण भने मंसीरमा मात्र भयो।
पौने दुई वर्षसम्म साताको पाँच घण्टा जति साधनमालाको उल्थामा बिताउँदा त्यस सम्बन्धी निकै प्रश्न मनमा उठ्ने नै भए र तिनका विषयमा फाटफुट टिपोट पनि गरियो। अहिले तिनै टिपोटमध्ये केही बुँदा लिएर यो लेख कोरिएको छ।
वैदिक कर्मकाण्डबाट पट्यार लाग्दै गएपछि भारतवर्षमा उपनिषद्हरूमा भएका जस्ता दार्शनिक छलफल हुन थालेको देखिन्छ। त्यसै कारणले कालान्तरमा वेदबाह्य बौद्ध र जैन मत देखा परे। रसायनविद्याको प्रगति योगशास्त्र र चमत्कारसँग जोडिन जाँदा केही धार्मिक सम्प्रदाय बिस्तारै अचम्मका चमत्कार गर्ने सम्प्रदायमा परिणत भए। अत्यन्त थोरै समयमा सिद्धि पाउने उद्देश्यले सिद्धहरूको लामो परम्पराको स्थापना त्यसैले हुन गयो। सिद्धहरूका लोकोत्तर कथा पछि गएर फरक फरक सम्प्रदायका मुख्य हिस्सा भएर रहे। यस्तै परम्परामा शैव, बौद्ध र शाक्त आदि मतका तान्त्रिक ग्रन्थ लेखिँदै गए। यही परम्परामा साधनमालाको सङ्कलन भएको हो।
साधनमालामा ‘साधन’ शब्दको प्रयोग ‘सिद्धि’ को पर्यायमा भएको छ। लौकिक सुखका लागि नै सर्वसाधारण मरिमेट्ने हुनाले लोकलाई आफ्नो मततर्फ तान्न हरेकजसो धार्मिक सम्प्रदायले यसरी साधना गरे सिद्धि पाइन्छ भनी प्रख्यापन गर्ने गरेको देखिन्छ। यसै परम्परामा साधनमालाको रचना भएको ठहर्छ।
आफ्नो सम्प्रदायमा सर्वसाधारणलाई तान्नका लागि लेखिने विषयवस्तुमध्ये तान्त्रिक ग्रन्थमा पुरुषले स्त्रीलाई- केही अंशमा स्त्रीले पुरुषलाई- वश पार्ने विधिविधान पनि पर्छ। त्यस्तो विधिविधानका विषयमा साधनमालामा पनि ठाउँठाउँमा लेखिएको छ (१७१, १७५, १७८, १७९, १८०, १८९ साधन)। यस्तै प्रसङ्गमा ‘लोग्नेमान्छे वा स्वास्नीमान्छेलाई वशमा पार्नुपर्यो भने तातेको तामाको सियोले योनि वा खुट्टामा घोचेर तताउनू’ भनेर एक ठाउँमा लेखिएको कुरा पनि यहाँनिर सम्झनुपर्छ (१८९ साधन)। भगवती महामायाको साधन ‘जति पटक दोहोर्याइन्छ, त्यति हजार आइमाई पछि लाग्छन्’ भनेर अर्को ठाउँमा लेखिएको छ (२२२ साधन)।
मानिसमा लोकैषणा अर्थात् नाउँ कमाउने इच्छा पनि प्रबल हुन्छ। यसैलाई विचार गरेर साधनमालामा थरीथरीका साधनको प्रख्यापन गरिएको छ। खुलाएर भन्दा, यस्तो साधन गर्यो भने मानिस ठूलो विद्वान् हुन्छ भनी त्यहाँ प्रज्ञाविधि भन्ने एउटा प्रकरण नै छ। त्यहाँ बुद्धिको विकासका लागि खाइने वस्तुको फेहरिस्तसँगै जपिने मन्त्र र गरिने पूजाविधि पनि लेखिएको छ (१८० साधन)।
यो मन्त्र दिनदिनै १० हजार पटक जप्यो भने त्यो मानिस अढाई महीनामा कवि हुन्छ, ‘पुण्य कम भएको मानिस पनि २१ लाख जप गरी २१ चोटि मन्त्रिएको खरीले वा त्यति नै पटक मन्त्रिएको हातले जसको हातमा वा शिरमा छोइन्छ, मूर्ख पनि कवि हुन्छ, सभामा नहेपिने भई मञ्जुश्री जस्तै बोलक्कड हुन्छ, नपढेका सबै शास्त्र पनि जान्ने हुन्छ’ भनी त्यहाँ लेखिएको छ (१८० साधन) त अर्को ठाउँमा ‘यस मन्त्रले मन्त्रिएको खरी जसको हातमा दिइन्छ, त्यो मूर्ख पनि कवि हुन्छ’ (२१८ साधन) भनी लेखिएको चाखलाग्दो छ।
रोग, मडक अर्थात् महामारी, अनिकाल इत्यादिको निवारण मानिसले चिताउने मुख्य मुख्य विषयमा पर्छ। यो पूजा गर्यो र मन्त्र जप्यो भने यस्तो अवस्था आइपर्दैन भनी साधनमालामा एक ठाउँमा लेखिएको छ (२०६ साधन)।
सर्प आदिको टोकाइबाट धेरैको अकालमृत्यु हुने हुनाले आठ अङ्ग भएको आयुर्वेदको एउटा अङ्गका रूपमा अगदतन्त्रको विकास भएको हो। प्राचीन कालमा एकातिर आयुर्वेद मार्पmत सर्पदंशको उपचार हुन्थ्यो त अर्कोतिर चमत्कारी सिद्धहरू यो मन्त्र जप्यो भने सर्पको विष लाग्दैन भन्दै प्रचार गरी हिंड्थे। साधनमालामा पनि यो मन्त्र ‘दिनदिनै १० हजार पटक जप्यो भने सर्पको विष लाग्दैन’ (१८० साधन), यो मन्त्र जप्यो भने सर्पलाई वशमा पार्न सकिन्छ (१८५ साधन), यस मन्त्रले गर्दा ‘सर्पहरू नजीक आउँदैनन्’ (२१८ साधन) भनी लेखिएको कुरा यसका केही दृष्टान्त हुन्।
राज्यलाई परचक्रीको भयबाट बचाउन सकिने मन्त्र पनि साधनमालामा दिइएकाले सर्वसाधारणमा मात्र होइन, शासकलाई पनि आफ्नो मतमा ढाल्न धर्मगुरुहरूले कोशिश गरेको देखिन्छ (२१० साधन)।
तन्त्रग्रन्थहरूमा ठाउँठाउँमा देवदेवीका सन्दर्भमा अश्लील र बीभत्स शब्द तथा अमेध्य वस्तुको चर्चा आएको छ। त्यसले गर्दा धर्ममा अश्रद्धा होला भनेर ती शब्दको वास्तव अर्थ अर्कै हो, सन्ध्याभाषामा लेखिएकाले मात्र यस्तो देखिएको हो, ती शब्दको विकल्पार्थ यो हो भनी वकालत गर्ने लामो परम्परा छ (यस्ता शब्दको विकल्पार्थका उदाहरणका लागि ठाकुरसेन नेगी, ‘तान्त्रिक पूजा में सन्ध्याभाषीय शब्दों के विकल्पार्थ’, धीः, २९ अङ्क, सन् २०००, ११४-१२२ पृ. हेर्नू)। शब्दले जुन अर्थ दिन्छ, त्यही अर्थ सिद्धिप्राप्ति नगरेका हामी जस्ताले मान्ने हुनाले विकल्पार्थपट्टि म जान्नँ, खालि साधनमालामा आएका यस्ता शब्द र वस्तुका केही दृष्टान्त तल दिन्छु।
मानिसलाई कसरी आफ्नो वशमा ल्याउन सकिन्छ भन्ने विषयमा लेख्दै जाँदा ‘मृतकको आँखा, मुटु, निधारको मासु, नाक पिँधी तेलमा पकाएर पुष्य नक्षत्रमा खाएमा मानिसलाई वश पार्न सकिन्छ’ (१८० साधन) भनी लेखिनु हाम्रो दृष्टिमा बीभत्सताको पराकाष्ठा हो। वज्रवाराहीलाई सम्बोधन गर्दा ‘मानिसको मासु खाने, मानिसको आन्द्रा बेरेकी, मानिसको आलो टाउको गाँसेको माला लगाउने’ भनी लेखिएको छ (२२१ साधन)।
वज्रयानका मुख्य देवतामध्ये एक हेरुकको बयान गर्दा ‘मानिसको छाला लगाएका’ (२४१, २४४ साधन), ‘आफ्नो जस्तै चहक भएकी स्त्रीलाई आलिङ्गन गरेका’, ‘शिरमा मानिसको करङको माला लगाएका’ (२४३ साधन), ‘५० वटा मुण्डमालाको हार लगाएका’ (२४४ साधन), ‘मानिसको मासु खाइरहेका’ (२३९, २४५, २४८ साधन), ‘बुद्धडाकिनीले सम्भोगमा अँगालो मारिएका, चार देवीले मुख हेरिइरहेका’ (२४८ साधन) भनी लेखिएको पढ्दा बीभत्स र शृङ्गार रसको मिलान देखिन्छ।
चमत्कारबाट आफ्नो मतमा सर्वसाधारणलाई तान्ने प्रसङ्गमा साधनमालामा लेखिएको एउटा कुराको चर्चा यहाँनिर गर्नुपरेको छ। साधकले आफूलाई ‘योषिच्छुक्र अर्थात् स्वास्नीमान्छेको रज जम्मा गर्न सक्ने म हुन पाऊँ’ भनी साधनमाला (२२९ साधन) मा लेखिएको कुराको अर्थ ‘तीनवटा धातुभित्र राखिएको, पीपलको पातले छोपिएको नारीरजलाई १० हजार पटक मन्त्र जपी आफ्नो मुखमा छर्क्यो भने चार सय कोस हिंडी जहाँबाट हिंडिएको थियो, सोही ठाउँमा त्यही दिन घाम नअस्ताउँदै आउन सकिन्छ’ भनी अर्को तन्त्रग्रन्थबाट स्पष्ट हुन्छ (डोमिनिक गुडाल, सम्पादक, द निश्वासतत्त्वसंहिताः दि अर्लिएस्ट् सर्भाइभ्इङ् शैवतन्त्र, पण्डिचेरीः इन्स्तित्यु फ्रान्से द पण्डिचेरी, सन् १९१५, ७८ पृ.मा उद्धृत गुह्यसूत्र ३।५४-३।५६)।
वज्रयोगिनीको एक थरी ध्यानमा ‘गिँडबाट निस्केको रगतको धारा आफ्नो मुखमा पसेको, दायाँबायाँ रहेका योगिनीको मुखमा पनि रगत पसेको’ (२३२ साधन) लेखिएको देख्दा पौराणिक धर्मकी देवी छिन्नमस्ताको सम्झना आउँछ।
हाम्रो यतातिरका वज्रयानी विद्वान्हरूका रचना हेर्दा वसुन्धरादेवी र वसुधारादेवी अलग अलग हुन् भनी तिनीहरूले छुट्ट्याउन नसकेको स्पष्ट हुन्छ (हेमराज शाक्य, श्री वसुन्धरा देवीया सांस्कृतिक पृष्ठभूमि, ललितपुरः भीमराज शाक्य, २०५०; महेन्द्ररत्न शाक्य, वसुन्धरा देवी छगू अध्ययन, ललितपुरः लोटस रिसर्च सेन्टर, २०५१; हेराकाजी वज्राचार्य, नेपालको बौद्धधर्ममा वसुन्धरादेवी, ललितपुरः बुद्धिराज वज्राचार्य र मिममाया वज्राचार्य, २०५८)। एक जना त वसुधाराको स्तोत्र (यसको लागि धीः ६ अङ्क, सन् १९८८, १-२ पृ. हेर्नू) दिई त्यसलाई वसुन्धराको स्तोत्र समेत भन्न पुगेका छन् (नेपालको बौद्धधर्ममा वसुन्धरादेवी, ठ-ड पृ.)। तर, वसुधारा मुख्य देवी तथा वसुश्री र वसुमुखी जस्तै वसुन्धरा चाहिं पनि अलग देवी अर्थात् वसुधाराकी सँगिनी हुन् भन्ने साधनमाला (२१३ साधन) बाट स्पष्ट हुन्छ।
देवीस्वरूपका मातृकाको परम्परा लामो भए पनि सप्तमातृकाको दाँजोमा अष्टमातृकाभित्र कुन कुन देवी पर्छन् भन्ने त्यति स्पष्ट छैन। एक थरी अन्वेषकहरू देवीमाहात्म्य अर्थात् सप्तशती चण्डी (८।१५-२३) मा नाउँ परेका ब्रह्माणी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री र चण्डिका अष्टमातृका हुन् भनी भन्छन्। तर, देवीमाहात्म्य अनुसार अम्बिका वा कालीकै नामान्तर भएकाले र चण्डिका अरू मातृका जस्तो, ब्रह्मा आदि देवको शक्ति नभएकाले उनीलाई अष्टमातृकामा गाभ्न सहजै सकिँदैन।
वराहपुराण (२७।३३-३७) अनुसार आठ थरी विकार अर्थात् काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, पैशुन्य र असूयाका अधिष्ठात्री क्रमशः योगेश्वरी, माहेश्वरी, वैष्णवी, कौमारी, ब्रह्माणी, ऐन्द्री, चामुण्डा र वाराही गरी यी आठ देवी अष्टमातृका हुन्। भक्तपुरमा अष्टमातृकाका अलग अलग पीठ छन्, तिनका अधिष्ठात्री ब्रह्माणी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी र महाकाली हुन् (हरिराम जोशी, अभिनव संस्कृति कोष, ललितपुरः जोशी रिसर्च इन्स्टिच्यूट, २०५८, ५६७ पृ.)। साधनमालाका अष्टमातृका चाहिं पौराणिक धर्ममा चलेका ब्रह्माणी, वैष्णवी आदि मातृका नभई गौरी, चौरी, वेताली, शबरी, घस्मरी, पुक्कसी, चण्डाली र डोम्बी हुन् (२२८ र २४७ साधन)।
अरू वज्रयानी ग्रन्थहरूमा जस्तै साधनमालामा पनि पौराणिक धर्मका देवताहरूलाई नीचा देखाउने काम ठाउँठाउँमा भएको छ। ‘त्यस मुद्राले तानिएका ब्रह्मा, इन्द्र, रुद्र र नारायण आदिलाई ल्याई आफ्नो नोकर बनाएर साधकले इच्छा गरे बमोजिम गर्न सक्छन्’ भनी एक ठाउँमा लेखिएको छ (१७२ साधन) त अर्को ठाउँमा भगवान् हयग्रीवको जप तीन लाख पटक जसले गर्छ, इन्द्र उसको छाते हुन्छ, ब्रह्मा मन्त्री हुन्छ, हरि ढोके हृुन्छ (२६० साधन) भनी लेखिए जस्ता उदाहरण अरू पनि दिन सकिन्छ। यसो भए पनि पौराणिक धर्मको धङधङीले साधनमालालाई नछोडेको कुरा ‘अनन्त (शेषनाग) को फणामाथि सुतिरहेका गोविन्दलाई जस्तै सर्पले डसेको मानिस क्षीरसमुद्रको पानीले नुहाएको जस्तै भई विष झरेको हुन्छ’ (१८० साधन) भनी लेखिएकोबाट देखिन्छ।
साधनमालामा सङ्गृहीत साधनहरूबाट ओडियान, पूर्णगिरि, कामाख्या वा कामरूप र सिरिहट्ट वा श्रीहट्टमा गरी चार ठाउँमा वज्रयानका पीठ भएको बुझिन्छ (२३२, २३४ साधन)। हेवज्रतन्त्रमा पनि जालन्धर, ओड्डियान, पौर्णगिरि र कामरूपका पीठको चर्चा छ (१।७।१२)। ओडियानको ठाउँमा ओड्डियान र पूर्णगिरिको ठाउँमा पौर्णगिरि हुनु त शब्दको सामान्य रूपभेद हो, तर श्रीहट्टको ठाउँमा जालन्धर हुनु चाहिं पीठको स्थानभेद नै भएको स्पष्ट छ।
साधनमालामा अन्त पुल्लीरमलय र जालन्धरको चर्चा आएको छ (१८१ साधन)। हेवज्रतन्त्रका सम्पादक तथा अनुवादक डेभिड लीवेलिन स्नेल्ग्रोभ (विसं १९७७-२०७२) अनुसार पौर्णगिरि भन्नु र पुल्लीरमलय भन्नु उही हो (द हेवज्रतन्त्रः अ क्रिट्इक्ल् स्टड्इ, १ भाग, लन्डनः अक्स्फोर्ड यूनिभर्सिटी प्रेस, सन् १९५९, ७० पृ.)। अर्को बौद्ध तान्त्रिक ग्रन्थ वसन्ततिलकमा पुल्लीरमलयमा प्रचण्डा देवी भएको चर्चा आएको कुरा पनि यहाँनिर भन्नुपर्छ (बनारसी लाल, ‘बौद्धतन्त्रों में पीठोपपीठादिका विवेचना’, धीः, १० अङ्क, सन् १९९०, १४१ पृ.)।
यताबाट साधनमालाको श्रीहट्टको ठाउँ हेवज्रतन्त्रमा जालन्धरले लिएको स्पष्ट छ। कामरूप वा कामाख्या भनेको आसाम र श्रीहट्ट भनेको सिलहट हो भन्नेमा सन्देह छैन। यताबाट पूर्वको श्रीहट्टको पीठको ठाउँमा पश्चिमको जालन्धरको पीठ राखिएको स्पष्ट हुन्छ।
धेरै समयसम्म ओडियानको पहिचानमा मतभेद भए पनि पछिल्लो खोजी अनुसार ओडियान उडिसामा पर्छ भन्ने सिद्ध भइसकेको छ। भट्टाचार्यको पालामा पूर्णगिरिको अभिज्ञान हुन नसकेको भए पनि नेपालको टनकपुरबाट ३० किलोमिटर जति पर महाकाली नदीपारि पूर्णगिरि भएको कुरा अहिले स्पष्ट भइसकेको छ।
तेह्रौं शताब्दीको पूर्वार्धदेखि पन्ध्रौं शताब्दीको पूर्वार्धभित्रका केही नेपाली राजाहरूको पुष्याभिषेक भएको थियो। राज्याभिषेक संस्कारकै एक प्रकारको भेद त्यो थियो भन्ने विषयमा मैले एउटा लामै लेख लेखेको ४६ वर्ष नाघिसक्यो (‘पुष्याभिषेक’, पूर्णिमा ३३ पूर्णाङ्क, २०३२, १३-२७ पृ.)। त्यही पुष्याभिषेकको सन्दर्भ साधनमालामा (१७१ साधन) पनि ‘ती ठूला प्राणीहरू राज्याभिषेकको नाउँबाट विद्वान्ले पाँच जना लोचना आदिद्वारा पुष्याभिषेक जस्तै दिन्छन्’ भनी आएको सम्झना हुन्छ।
पुस्तक: साधनमाला प्रकाशक: नेपाल हस्तकला महासंघ मूल्य: रु.१०००/- पृष्ठ: क-ट+२००
(पुराविद् पन्त संशोधन-मण्डलका सदस्य हुन्।)