पल शाहमाथिको अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही गरिने
नाबालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहमाथिको अनुसन्धानलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा लेख्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ।
नाबालिका बलात्कारको आरोपमा कलाकार शाहलाई प्रहरीले १५ फागुनमा पक्राउ गरेको थियो। उनी अहिले जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा छन्। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
उनका पक्षमा केही व्यक्तिले प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै आएका छन्। त्यस्तै, केही कलाकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पक्षमा सामाजिक सञ्जालमा लेख्दै आएका छन्।
यो गम्भीर प्रकृतिको अपराध भएकाले यसलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा नलेख्न नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ। यसमा विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रवक्ता नबिन्द अर्यालले जनाएका छन्।
प्रहरीको साइबर ब्यूरोले सूचना प्रकाशित गरी यस्ता कार्यमा नलाग्न आग्रह गरेको छ। ब्यूरोले ‘केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडिओ तथा तस्वीरहरू अपलोड’ गरेको पाइएको जनाएको छ।
समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भाव खलल पुग्ने, पीडितको गोपनीयताको हक हनन गर्दै पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने प्रवृत्ति देखिएको साइबर ब्यूरोले जनाएको छ। ब्यूरोले भनेको छ, ‘यस्ता क्रियाकलापहरूले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर ब्यूरो अनुरोध गर्दछ।’
यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि यस घटनामा अनुसन्धान प्रक्रिया प्रभावित हुने क्रियाकलाप नगर्न अनुरोध गरेको थियो।