पल शाहमाथिको अनुसन्धान प्रक्रियालाई सघाउन मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारको आरोपमा पक्राउ परेका कलाकार पल शाहमाथि चलिरहेको अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ।
नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कलाकार शाहलाई १५ फागुनमा पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा रहेका उनीमाथि अनुसन्धान भइरहेको छ।
बलात्कारको आरोपमा पक्राउ परेका शाहको पक्षमा केही व्यक्तिले प्रदर्शन गर्ने, समाचार लेख्ने तथा सामाजिक सञ्चालमा लेख्ने गरेपछि आयोगले ध्यानकर्षण भएको जनाएको छ। यसको अनुगमन गरिरहेको जनाउँदै आयोगले भनेको छ, ‘गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार, गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ।’
आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले जारी गरेको विज्ञप्तिमा यो गम्भीर प्रकृतिको फौजदारी अपराध भएकाले अनुसन्धान प्रक्रिया प्रभावित हुने क्रियाकलाप नगर्न आग्रह गरिएको छ।
आयोगले भनेको छ, ‘आफ्नो विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरूको मर्यादामा आँच आउनेतर्फ विचार पुर्याउन, गोपनीयताको हक सङ्कुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’